धरानमा छात्रवृत्ति, सहयोग, सम्मान र पुरस्कार वितरण


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ५

धरानः आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग, पुरस्कार र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धि नेवाः परिषद्को सभाहलमा सम्पन्न कार्यक्रममा धरान–१ निवासी महेश प्रधान र अञ्जु प्रधानले आमाबुबाको स्मृतिमा सो कार्यकम सम्पन्न भएको हो । पब्लिक हाइस्कुल धरान–१२ का कक्षा–११ मा अध्ययनरत् छात्र सुजन शिवा र छात्रा कृएता श्रेष्ठ तथा ज्ञानोदय मावि धरान–११ का छात्र माइकल राई र छात्रा अर्पिता श्रेष्ठलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यस्तै, धरान–१ स्थित श्री सरस्वती आधारभूत विद्यालयलाई १ थान साउण्ड सिस्टम र ङाग्पुर डोल्मा छ्योलिङ गुम्बालाई भवन निर्माण गर्न १५ हजार ५ सय र कारपेट प्रदान गरिएको थियो । कार्यक्रममा मिडियाकर्मी बिनय प्रधानलाई ५ हजार ५ सयसहित टंकबहादुर प्रधान पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको थियो । धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गर्नेे प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख तथा धरानमा पूर्व मेयर एवं गण्डकी अञ्चल पूर्व प्रशासक कुमारबहादुर कार्कीले आमाको स्मृतिका छोरा बुहारीले गरेको कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गरेका थिए । नेपाल आमाको संरक्षणका निम्ति पनि नेपालीहरू बेलैमा जाग्नु र लाग्नुपर्ने समय आएको कार्कीले बताए । कार्यक्रममा सिद्धि नेवाः परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ, सास्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ र ङाग्पुर डोल्मा छ्योलिङ गुम्बाका अध्यक्ष तेन्जिन डोल्मालगायतको उपस्थिति थियो ।
कार्यकममा स्वागत मन्तव्य प्रतिष्ठानका सल्लाहकार वीरेन्द्रसिंह थापाले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मोहन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP