शहरमा स्वतन्त्रको चौतर्फी चर्चा

शहरी क्षेत्रमा पाका नेतालाई बढार्लान् ?


  • रुषा थापा
  • २०७९ असोज ५

अहिले चुनाव लड्नका लागि वा टिकटको लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताको घरघरमा धाइरहेका छन् । नेताहरुले भने कि आफ्नो मानिसलाई टिकट दिइरहेको सुन्नमा आएको छ । धेरै रकम पैसा खर्च गर्नेलाई टिकट दिइएको चर्चा पनि नसुनिएको होइन । यत्रो पैसा खर्च गरेर टिकट लिएको मानिसले झन् चुनावमा १० औं करोडसम्म खर्च गरेर चुनाव जित्ने गर्छ । आफूले भ्रष्टाचार गरेर वा राज्यलाई तिर्नुपर्ने राजस्व छलेर कमाएका पैसाहरु अहिले व्यापारी र ठेक्कदारहरुले पार्टीलाई टिकट पाउनका लागि खर्च गरिरहेका छन् । अहिले पार्टीमो धेरै वर्ष काम गर्ने वा जनताको हितमा काम गर्ने मानिसले पैसा दिन नसक्दा टिकट पाएका छैनन् र चुनाव लडनबाट वञ्चित भइरहेका छन्  ।
पार्टीका नेताहरुको अघिपछि जुन व्यापारी वा ठेक्कादारहरु लाग्छन् वा पैसा दिन्छन् त्यसले नै टिकट पाउँछ । अहिले पैसा हुने मानिसहरु पार्टीलाई पैसा दिएर टिकट लिनका लागि नेताको घरमा दौडधुप गरिरहेका छन् । अहिले जति चुनावमा खर्च गरेको छ भोलि चुनाव जितेपछि त्यसको दोब्बर भ्रष्टाचार गरेर उठाउने गरेको पनि समाचारमा सुन्न पाइन्छ । पछिल्लो समय पार्टीमा २० वर्ष जनताको हितमा काम गरेपनि पैसा छैन भने टिकट पाइँदैन ।
देशको अर्थतन्त्र टाप पल्टिसकेको भनेर अर्थविदहरु बताउँछन् । तर उता व्यापारी र ठेक्कदारहरु चुनाव लड्न वा टिकट पाउन पार्टीलाई यत्रो पैसा पोखिरहेका छन् भनेर पनि सुनिन्छ । असारदेखि भर्दौसम्म २ खर्ब ६० अर्ब रकम बैंकबाट निक्षेप निकालेको पाइन्छ तर अहिले पाएर त व्यापारीहरुले यही चुनाव लड्न भनेर निकालेको पनि बुझिन्छ । माओवादीका अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको र देश श्रीलङ्काको बाटोमा जाँदै गरेको समेत बताएका छन् । साथै प्रधानमन्त्री शेरबहादुर देउवा पनि देशको आर्थिक अवस्था नाजुक रहेकाले सरकारी कर्मचारीलाई तलब दिनका लागि पनि विदेशी ऋण लिनुपर्ने बाध्यता आएको बताउँछन् । झन् एमालेका अध्यक्ष केपी ओली त नेपालको अर्थतन्त्र श्रीलङ्का नै बनेको बन्दै भाषण गर्दै हिँड्छन् ।
विगत वा २०७९ सालको स्थानीय चुनावको नतिजा हेर्दा मेयर, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुमा अधिकांश व्यापारी, ठेक्कदारहरुले नै जितेका छन् । यिनीहरुले पैसा नै खर्च गरेर टिकट लिए र पैसा नै खर्च गरेर चुनाव जिते । यसपालि पनि पैसा हुने मानिस नै अघि बढ्नेछन् । अहिले पनि कति राजनीतिक दलका नेताहरुले कति व्यापारी वा ठेक्कदारसँग पैसा लिइरहेका छन् र चुनाव जितेपछि सामानको मूल्य बढाउने काम गर्छन् ।
यिनीहरुले चुनाव जितेर आएपछि एनजीओहरुको झोला बोक्ने र चुनावमा गरेको खर्च उठाउने गर्छन्  । यसले गर्दा अब झन् विकृति फैलिँदै जानेछ । पार्टी वा पार्टीका सहपति वा अध्यक्षहरुले अहिले राम्रो मानिसलाई टिकट नदिई आफ्नो र पैसा आउने मानिसलाई टिकट प्रदान गरिरहेका छन् । साथै अनि च्ुानाव जितेपछि चुनावमा गरेको खर्च यिनीहरुले कमिशन लिएर वा भ्रष्टाचार गरेर कमाउँछन्  । अहिले राजनीति सेवा नभई व्यापार बनिरहेको पाइन्छ । जनताले अबपनि यस्तालाई आफ्नो भोट दिएर चुनाव जिताइ पदमा पुरयाउनु भनेको भ्रष्टाचार गर्न पठाउनु हो ।
कति सांसदहरुले २०४८ सालदेखि २०७४ सालसम्म चुनाव जिते र मन्त्री वा प्रधानमन्त्री बने तर जनताको लागि एउटा सिन्को भाँचेनन् । अब फेरि आगामी चुनावका लागि पनि यही व्यक्तिहरु हामी जनतासमक्ष भोट माग्न आइरहेका छन् र अब हामीले किन यस्तालाई भोट दिने । धेरै वर्षसम्म चुनाव लडेर मन्त्री, प्रधानमन्त्री भइसकेका व्यक्ति पनि योपटक पनि चुनावी मैदानमा आउने चर्चा चल्न थालेको छ । अब जनताको हितमा काम गर्ने, भ्रष्टाचार नगर्ने नयाँ पुस्तालाई अवसर दिँदै ७० कटेकाहरुलाई विश्राम दिन जरुरी छ ।
अर्को कुरा जनताको भोटबाट आएका सांसदहरुले कहिले मन्त्री नपाउने र नेताको नजिक रहेकाले चुनाव नै नलडेपनि मन्त्री पाउने । के यही हो लोकतन्त्र ? देउवाको नजिक भएर सांसद नै नभएका गोविन्द्रप्रसाद शर्माले कानुन मन्त्री खाए भने युवराज खतिवडाले ओलीको नजिक भएर अर्थमन्त्री पद खाए । यसबाट त मन्त्री हुन नेताको साथ मात्र चाहिँदो रहेछ र जनताको मत चाहिदैँन भनेर बुझिन्छ । नेताहरुले आफ्नो नजिकको मानिसलाई मन्त्री बनाउने तर जनताबाट चुनिएर आएको सांसदलाई मन्त्री नदिने । यस्तो दिनको अन्त्य नभएसम्म देशमा परिवर्तन आउन सकिँदैन । यता चुनाव हारेको मानिसलाई मन्त्री बनाइन्छ भने चुनाव जितेकालाई वडाध्यक्ष । जनताले भोट नदिएर हराएको मानिसलाई ओलीले मन्त्री बनाउँदा शक्तिले गर्दा जे पनि हुन्छ भन्ने उदाहरण जनताले देख्न पाए ।
स्वतन्त्रको चौतर्फी चर्चा
अहिले स्वतन्त्रको चौतर्फी चर्चा छ । काठमाडौंजस्तो महानगरपालिका, धरानजस्तो उपमहानगरपालिका र धनगढीमै पनि स्वतन्त्रले जितेको चर्चा चुलिएसँगै जितेको छोटो अवधिमै जनताकै हितमा काम गरेको हुनाले पनि उनीहरुको चर्चा अहिले झन् बढी छ । अहिले ठूला दलका ठूला नेता नै स्वतन्त्रलाई कसरी असफल पार्ने भन्ने ध्याउन्नमा लागेका छन् । शहरी क्षेत्रमा बुढा नेतालाई बढार्ने चिन्ताले पनि स्वतन्त्रलाई असफल पार्ने खेलमा लागेको आभाष हुन थालेको छ । कसरी, के गरेर यिनीहरुलाई असफल बनाउन सकिन्छ भन्ने खेलको तमासा देखिन थालेको छ ।
नेता र राजनीतिप्रतिको वितृष्णा जनतामा अहिले पनि छ । अबका जनता पहिलाको जस्तो छैनन् । अब ७० कटेका नेताले के गरे, यतिका वर्ष पनि नेपाल किन समृृद्ध बन्न सकेन भन्ने हेक्का जनतामा छ । अबका मतदाताले इतिहासमा के भयो, इतिहासमा कसले के गरे त्यो हेर्दैनन् अब हेर्ने भनेको जनताले भविष्य हो । कस्तालाई भोट दिँदा राम्रो हुन्छ र आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने हेक्का जनतामा छ । जनतालाई यो देशप्रतिको चिन्ता छ । पढेलेखेका युवापुस्ता विदेशिनु, बुढापाका नेताको नेपालमा मोजमस्ती सबैले हेरेकै छन् । स्वतन्त्रले जितिसकेपछि नेताहरु सच्चिनुपर्दथ्यो तरपनि नेताहरुमा सच्चिने छाँट छैन । सुध्रिनेभन्दा पनि स्वतन्त्रमाथि धावा बोल्ने, गालीगौलज गर्ने र कसरी असफल पार्ने भन्ने खेलमै लागेको देखिन्छ । त्यो हुँदा पनि स्वतन्त्रलाई चुनाव जित्न सजिलो छ भन्छु म ।
नेताहरुलाई करोडौंको भ्रष्टाचार गरेको जनताले थाहा पाएकै छन् । भ्रष्टाचार मात्र गर्न आएका नेताहरुलाई फेरि पनि हामी जनताले जिताउने त ? यो पेचिलो प्रश्न बन्दै गएको छ । त्यसकारण आगामी चुनावमा स्वतन्त्रले केही गर्ने रहेछन् भन्ने आशा दिएकोले अब जनता त्यतितिर ढल्किएको मैले महसुस गरेको छु । त्यसैले त हाम्रो भन्दा पनि राम्रोलाई भोट दिनुपर्छ । एकपटक चुनाव जितेर पदमा पुगेपछि जनताको हितमा केही काम नगरेका मानिसलाई अब हामीले भोट दिनुहुँदैन । यस्तै, पटक–पटक प्रधानमन्त्री, मन्त्री सांसद भइसकेका व्यक्तिलाई पनि विश्राम दिऔं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP