प्रदेश १ मा आत्महत्या रोकथामसम्बन्धी सचेतना एक वर्षसम्म निरन्तर


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ असोज ३

विराटनगरः प्रदेश १ मुख्य मन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्तरुपमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री राजन राई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि बिराटनगरको रोडशेष चोकबाट शुभारम्भ भई संसारी माईस्थान, ट्राफिक चोक, जलजला चोक हुँदै जैन भवनमा पुगी कार्यक्रममा परिणत भएको थियो ।
मुख्यमन्त्री राजेन्द्र राईले पानसमा दीप प्रज्वलन गरी उदघाटन भएको कार्यक्रममा उनले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको हुँदा यस किसिमको कार्यक्रमले मानिसको चेतनामा वृद्धि भई आत्महत्याका घटनामा कमी आउने विश्वास लिइएको बताए । उनले नागरिकको जीवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाडि बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले स्वागत मन्तब्य राख्दै आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताए । सो अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले आत्महत्या गर्ने विभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरिकहरुले आ–आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढेमा पक्कै पनि आत्महत्या दर घटन सक्ने हुँदा यस किसिमको सचेतना कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए । यसैगरी कार्यक्रममा सामाजिक विकाश मन्त्री राजन राई र स्वास्थ्य मन्त्री यजराम यादवले आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ–आफ्नो भूमिकाअनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताए ।
कार्यक्रममाप्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रमअनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु–सूचित गराउने उद्देश्यअनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताए । उनले नागरिकको जीवनरक्षा गर्ने यो कार्यक्रममा सबै निकायबाट साथ र सहयोगको अपेक्षा लिईएको समेत बताए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको वर्तमान अवस्थासम्बन्धी तथ्याङक, चुनौतीहरु र सम्भाब्यता रोकथामका उपायहरुबारे प्रस्तुतिकरण गरेका थिए भने प्रादेशिक अस्पताल विराटनगरका डा. आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्यता रोकथामका उपायहरुबारे प्रस्तुतिकरण गरेका थिए ।
आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान २०७९, प्रदेश स्तरीय कार्यक्रम विराटनगरमा र १ नम्बर प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा समुदाय–प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रममार्फत हरेक टोल र समुदायमा पुग्ने गरी एक वर्षसम्म निरन्तररुपमा सञ्चालन भइरहने छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP