चाडबाड र चुनाव एकैसाथ

बढ्दो महङ्गी, व्यापारी मालामाल, जनता मारमा, सरकार रमिते


  • अनुषा थापा
  • २०७९ भदौ २९

पछिल्लो समय बजारमा महङ्गीले सीमा नाघ्दै गइरहेको छ । अब झन दशैं आइसकेको छ, मानिसहरु सामान किनमेल गर्नका लागि जाने गर्छन् र यही दशैंको मौका छोपेर व्यापारीहरुले ५ सय पर्ने सामानलाई ३ हजारसम्म लिएर जनता ठग्ने गर्छन् तर यो मूल्य सस्तो हो कि महङ्गो भनेर हामी जनता र सरकार दुवैलाई थाहा छैन । पछिल्लो समय व्यापारीहरु पर्दाभित्र बसेर नेताको पैसामा व्यवसाय गर्दैे जनता ठगिरहेका छन् भने नेताहरुलाई ब्याज दिइरहेका छन् । साथै अहिले धेरै नेताहरुको ठूला ठूला महल, व्यवसायमा लगानी छ भनेर पनि सुनिन्छ । जसले राज्यलाई तिनुपर्ने अर्ब रुपैयाँ राजश्व छलिरहेका छन् । अहिले सानो पसलदेखि ठूलाठूला पसल वा सुपर मार्केट र व्यापारी महलहरु जनता लुट्न कम्मर कसेर लागिरहेका छन् । जनता यता महङ्गीको मारमा छन् भने उता राजनीतिक दलहरुको चुनावको लागि दौडधुप चलिरहेको छ । यिनीहरुलाई जनताको कुनै चासो छैन । यिनीहरुलाई व्यापारीसँग कति पैसा लिएर कसरी चुनाव जित्ने भन्ने कुरामा मात्र चासो छ । अब जनताले पनि यस्ता नेता वा राजनीतिक दलहरुलाई बहिष्कार गर्नुपर्छ । हामी नेपालीहरुलाई पनि अघिपछि जस्तो कपडा र खाना खाएपनि हुन्छ तर दशैंको समयमा हामीलाई नयाँ नयाँ कपडा र मिठोमिठो खानेकुरा खानुपर्छ । जसले गर्दा व्यापारीहरुले हामीलाई उल्लु बनाएर ठगिरहेका छन् । अघिपछि त व्यापारीहरुले आफूखुशी सामानको मूल्य राखेर सामान बिक्री वितरण गर्ने गर्छन् भने दशैंको समयमा त सयको सामानलाई हजारमा बिक्री गर्छन् ।
सपुर मार्केट, व्यापारी महल वा पसलहरुमा म्याट सकिएको सामानहरु बेच्न राख्ने, कम तौल भएको सामानहरु राख्ने, गुणस्तरहीन सामानहरु राख्ने र सामानको म्याद सकिएपनि त्यसमा नयाँ स्टिकर राखेर बेच्ने गर्छन् । साथै यस्ता ठाउँहरुमा पाइने सामानहरु पहिला नै तौलिएर राख्ने भएकाले तौल पनि कम हुने गर्छ । अहिले सुपर मार्केट र व्यापारी महलहरुको जनता ठग्ने एउटै बहाना रहेको छ । उनीहरु अहिलेको दशैंमा चीनबाट सामान नआएको भन्दै जनता ठगिरहेका छन् । व्यापारीहरुले खुला रुपमा अहिले सय नपर्ने सामानलाई पाँचसयमा बिक्री गर्दा सरकार कहाँ छ । व्यापारीहरु भन्छन्– हामीले सरकारी कर्मचारीलाई पनि दशैं खर्च दिनुपर्छ र नेताहरुलाई पनि दशैं खर्च र चुनाव खर्च दिनुपर्छ । जसले गर्दा पनि सामानको मूल्य यिनीहरुले बढाइरहेको जस्तो देखिन्छ ।
व्यापारीहरुले सरकारी कर्मचारी र नेताहरुलाई पैसा दिएर सामानको मूल्य बढाउने र जनता ठग्ने गर्छन्  । अहिलेसम्म अनुगमन हुन सकेको छैन । दशैं आइसकेको छ , चाडबाडको समयमा व्यापारीहरुले सामानको मूल्य आफूखुशी बढाएर जनतालाई ठगिरहेका छन् । महङ्गीका कारण जनताहरु दशैं पनि मान्न नसक्ने अवस्थामा पुगेका छन् भने कतिपय मानिसहरुको घरमा बिहान बेलुका नै भान्सामा आगो वा चुलो बल्न छोडिसकेको छ ।
व्यापारीहरुले पनि सरकारी कर्मचारी वा मन्त्रीलाई हातमा लिएर र राजनीतिक दललाई चन्दा दिएर आफूखुशी सामानको रेट राखेर र सडेका, बिग्रेका वा गलेका सामानहरु बेचेर जनता ठग्दा सरकार किन निरीह भएर बसिरहेको छ । सरकारले यस्ता व्यापारीहरुलाई अनुगमन गरेर कारबाही गर्नुको साटोमा चुपचाप बसिरहेको छ । पसलहरु अनुगमन नगर्दा जनताले महङ्गो पैसामा पनि गुणस्तरीय वा राम्रो सामानहरु पाएका छैनन र ठगिरहेका छन् । साथै यता सरकारले यस्ता व्यापारी वा पसलहरुको अनुगमन नगर्दा राज्यको ढुकुटीमा पनि राजस्व आएको छैन । देश सरकारले चलाउनुपर्ने, बिचौलिया वा कालोबजारीहरुलाई पनि सरकारले नै कारबाही गर्नुपर्ने हो तर यहाँ त देश नै व्यापारी र बिचौलियाहरुले चलाएका छन् भने राजनीतिक दल र सरकारी कर्मचारीहरु यिनीहरुसँग पैसा खाएर मोटाइरहेका छन् ।
पछिल्लो समय पसलैपिच्छे सामानहरुको मूल्य फरक फरक पाइन्छ । मानिसलाई बजारमा सबैभन्दा बढी आवश्यक पर्ने खाद्य सामग्रीहरुको मूल्य पनि पहिलाको मूल्यभन्दा दोब्बर महङ्गो भएको पाइन्छ । एउटा उदाहरण मात्र भन्दा एक महिनाअघि एक बोरा चामलको १७ सय पर्दथ्यो भने अहिले त्यही चामलको दुई हजार समेत पर्ने गर्छ । अब आर्थिक कमजोर वा बेरोजगारी मानिसहरु महङ्गीका कारण बाँच्न समेत नपाउने अवस्थामा पुगेका छन् । व्यापारीहरुसँग सरकारी कर्मचारी र राजनीतिक दलहरुले पैसा लिँदा यसको मार अहिले जनताले भोग्नुपरिरहेको छ । साथै सरकारले हरेक वर्ष सरकारी कर्मचारीको तलब बढाउँछ र यो साल पनि १५ प्रतिशत तलब वृद्धि गरेको छ । तर यता निजी क्षेत्र वा संघसंस्था र घरायसी काम गर्ने मानिसहरुको ५ वर्षदेखि तलब बढेको छैन ।
त्यस्तै, यता सरकार र सार्वजनिक यातायात व्यवसायीहरुले वर्षमा पाँच पटक भाडा वृद्धि गर्छ भने घरबेटीहरुले पनि भाडा तीनतीन महिनामा बढाउने गर्छ । तर काम गर्ने ठाउँमा तलब बढाउनुपरयो भनेर माग गरेमा कामबाट नै निकालदिन्छ । कति काम गर्ने ठाउँमा त तीन महिनादेखि एक वर्षसम्मको तलब समेत नदिएको भनेर सुनिन्छ भने तलब कसरी बढ्छ । यता सरकारी कर्मचारी र निजी क्षेत्रमा काम गर्ने मानिसहरुलाई घरभाडा, गाडीभाडा, सामानको मूल्य सबै बराबर नै हुन्छ तर तलब मात्र निजी क्षेत्रमा काम गर्नेहरुको कम हुन्छ । अहिले महङ्गीका कारण आर्थिक कमजोर भएका मानिसहरु चाडबाडमा एक जोर नयाँ कपडा र एक छाक मिठो खानेकुरा खान नपाउने अवस्थामा पुगेका छन् । सरकारलाई महङ्गीका कारण जनता भोकै छन् वा चाडबाड मनाउन नसक्ने अवस्थामा पुगेको कुराको अहिलेसम्म जानकारी नभएको हो कि यसप्रति कुनै चासो नदिएको हो । बरु व्यापारीहरुसँग चुनाव खर्च लिएर चुनाव जितिन्छ कि जितिदैँन भन्ने कुराको चिन्ता रहेको छ ।
त्यस्तै, यता व्यापारीहरुलाई राजनीतिक पार्टीले पैसा खाएर टिकट दिएका छन् र पैसा उठाउन अहिले उनीहरुलाई भ्याइनभ्याइ रहेको छ । बजार अनुगमन गर्न न सरकारलाई नै कुनै चासोे छ न विपक्षी दललाई । महङ्गीका कारण जनता भोकै बस्दा वा बाँच्ने नसक्ने अवस्थामा पुग्दा पनि कसैले चासो नलिनु दुःखद् हो । बरु उनीहरुलाई कुन व्यापारीले कति चन्दा दिन्छ भन्ने कुरामा निकै चिन्ता रहेको छ । साथै कुन व्यापारीलाई चुनाव लड्न दिएर पैसा लिन सकिन्छ भन्ने सोच्दै ठीक छ । दलहरु महङ्गीका कारण जनता भोकै सुत्दा वा बस्दा पनि यसको विरोधमा बोल्दैनन् । व्यापारीले महङ्गी बढाएर जनताको ढाड सेकिसकेको छ वा भोकै मर्नुपर्ने दिन आइसकेको छ तर कसैलाई पनि कुनै चासो छैन । राजनीतिक दलहरुले व्यापारीलाई नै राजनीतिक दलको सदस्य दिएको र उनीहरुसँग नै पैसा लिएर पार्टी चलाइरहेका छन् । साथै व्यापारीहरुसँग नै पैसा लिएर घरखर्च पनि चलाएको हुनाले उनीहरु व्यापारीहरुको विरोधमा एक शब्द बोल्दैनन् । व्यापारीहरुले राज्यलाई तिनुपर्ने राजस्व छलिरहेको र काम गर्नेलाई थोरै तलब दिएर शोषण गरिरहेका छन् । यो सबै व्यापारीहरुले राजनीतिक आडमा नै गरेका हुन् ।
राज्य र जनता ठगेर यी व्यापारीहरु आज अर्बपति बनेका छन् । आफू धनी बन्न वा सोखमा बस्न यिनीहरुले राज्यको ऐन–कानुन पनि नमानेका वा ऐन–कानुन कार्यान्वयन गर्न खटाएर मानिसहरुलाई समेत आर्थिक प्रलोभन देखाएर फँसाइरहेका छन्  । पछिल्ल्लो समय कति पसलहरु दर्ता नै नगरी सञ्चालन गरेको वा दर्ता गरेपनि नवीकरण गरेको छैन । यिनीहरुले आफ्नो व्यवसायमा लगानी गरेको र दिनहुँ कमाएको नाफाको पनि राज्यलाई राजश्व तिर्दैनन् । जनताले पैसा तिरेर पनि सस्तो र गुणस्तरीय सामान पाउँदैनन् । साथै यस्ता सामानहरु प्रयोग गर्दा जनताको स्वास्थ्यमाथि निकै नराम्रो असर परिरहेको छ । व्यापारीहरुले सामानमा गर्ने मिसावटलाई बजार अनुगमन गरी बन्द गर्न वा कालोबजारीलाई कारबाही गर्न भनेर खुलिएका उपभोक्ता सघसंस्थाहरु पनि दिउँसो व्यापारीको विरोध गर्ने र राती उनीहरुकै घरमा पैसा लिन पुग्छन् ।
जनताको नाम बेचेर राजनीतिक दलको झोला बोकेर व्यापारीसँग पैसा लिएर पनि हुन्छ । यिनीहरुले अहिले नाम र दाम दुवै कमाइरहेका छन् । यिनीहरु पैसा नदिने व्यापारीको विरोध गर्छन् भने पैसा दिने व्यापारीले सडेका, गलेका वा बिग्रिका सामानहरु बेचेपनि विरोध गर्दैनन् । यो उपभोक्ता संघसंस्थामा बस्ने मानिसहरुको न जागिर नै छ न कुनै व्यापार–व्यवसाय । जागिर वा व्यवसाय नै नभई यिनीहरुले कसरी घरखर्च चलाउँछन्, बालबच्चा पढाउँछन्, घर बनाउँछन् र महङ्गो गाडी र गहनाहरु लगाउँछन् ।
अब शुद्धीकरण विभागले यिनीहरुको सम्पत्ति छानविन गर्नुपर्छ । सरकारले पनि अब यस्ता उपभोक्ता संघसंस्थाहरु खारेज गर्नुपर्छ । किनभन्दा यिनीहरु जनताको आवाज नभई जनताको नाम लिएर जनता नै लुट्ने ठगहरु हुन् । अहिले उघोग व्यवसायी वा कम्पनीहरुले आफूले बनाएको सामानको आफैँ रेट राख्ने गर्छन् जसले गर्दा जनता ठगिरहेका छन् तर अब सरकारले नै सामानको मूल्य निर्धारण गरिदिने हो भने जनता ठगिनबाट जोगिन्छन् । साथै सरकारले तोेकेको भन्दा बढी पैसा लिने र गुणस्तरहीन वा खानयोग्य नहुने सामानहरु बिक्रीवितरण गर्ने व्यापारीहरुलाई ५ लाखदेखि करोडसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद गर्नुपर्छ  । व्यवसाय गर्ने नाममा जनता ठग्न पाइँदैन । सरकारले अबदेखि जुनसुकै नागरिकको सम्पत्ति वर्षैपिछे छानबिन गर्नुपर्छ र भ्रष्टाचार गरेर कमाएको सम्पत्तिहरु सबै राष्ट्रियकरण गर्नुपर्छ । व्यापारीहरु भन्छन्– हामीले पैसा नदिएमा राजनीतिक दलहरुको पार्टी र घर नै चल्दैन । साथै उनीहरु खुला रुपमा हाम्रो पैसाले नै नेताको पार्टी र घर चलिरहेको भनेर बताउँछन् । आफनो पार्टी र घर चलाउन त व्यापारीसँग लम्पसार परेर पैसा लिने राजनीतिक दल वा नेताहरुले जनता र राष्ट्रको हितमा के काम गर्न सक्छन्  । यसको अन्त्य कहिले ? यसको अन्त्य नभएसम्म महङ्गीको मार जनताले भोगिरहनुपर्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP