धरानमा ‘फोर्स’ मा खानेपानी झरेपछिको खुशी

मेयर साम्पाङ औधी खुशी, जनताले जुरुक्कै बोकेर उचाले, रमित हेर्ने, नुहाउने, रमाउने अनि स्कुटी धुनेहरु पनि भेटिए (१२ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ भदौ २७

धरानः सोमबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङमा खुशीको सीमा थिएन । कारण हो– सर्दु, खर्दु र निशानेको पानीको मुहानबाट धरानस्थित जानकी चोकमा जनश्रमदानबाट पानी आइपुग्नु ।
अफिसको समयमा फुर्सद निस्किनेवित्तिकै सर्दु, निशाने खोलामा दौडिरहने र त्यहाँ पुगेर जनतासँगै ढुङ्गा बोक्न, बालुवा, सिमेन्ट बोक्न अनि पाइप तान्न सघाउने गरेका उनी जनश्रमदानबाट पानी आएपछि औधी खुशी भएका हुन् ।
खुशीसँगै धरानबासीले पनि त्यहाँ खुशी साटे । नुहाउने स्याम्पु समेत लिएर पुगेका कोहीले नुहाए पनि । त्यसमा मेयर साम्पाङलाई पनि जनताले नै उचालेर नुहाइदिए । फरक ‘गेटअप’ (केस पुरै काटिएको) मा देखिएका साम्पाङले पनि नुथुक्कै भिज्नेगरी नुहाए ।
धरानबासी, देशविदेशदेखि निरन्तर साथ र सहयोगले जानकी चोकमा जनताले नै श्रमदान गरेर पाइप तान्दै त्यहाँ ल्याइपुरयाएका हुन् । १० इन्चको पाइपमा फोर्समा पानी आएको हो । तर त्यहाँ सर्दुको पानी जोडिएको भने छैन । सर्दुको पानी वर्षाका कारण अलि धमिलो भएका कारण त्यहाँ नजोडिएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले जानकारी दिए ।
अहिले मेयर साम्पाङ धरानबासीलाई जसरी पनि पानी खुवाउँछु भन्दै सर्दु, निशाने र खर्दुको मुहानमा काम अघि बढाइरहेका छन् । त्यहाँ दुई लाख लिटरको ट्याङ्की निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । त्यहाँ अहिले पानीट्याङ्की निर्माणको काम भने भइरहेको छ ।
सो ट्याङ्की निर्माणमा गोर्खा पिस फाउन्डेसन युकेले सहयोग गरेको छ । फाउन्डेशनका सुपरभाइजर ललितचन्द्र राईले २ लाख १० हजार लिटर क्षमताको ट्याङ्की बनाएर उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिए । उनका अनुसार ५५ लाख ९० हजार २ सय ३३ रुपैयाँ फाउन्डेशनको तर्फबाट र ७ लाख ४७ हजार ७ सय रुपैयाँको जनश्रमदानमा सो ट्याङ्की बन्नेछ । ‘धरानमा रहेका पुराना संरचनालाई मर्मत गर्दै नयाँ स्रोत भेटिए, त्यसबाट पनि पानी ल्याउँछु’, मेयर साम्पाङ भन्छन्, ‘अब सर्दु, खर्दु र निशानेबाट पानी ल्याइसकेपछि मेरो ध्यान अन्यतिर मोडिनेछ ।’
सो ट्याङ्की निर्माणका लागि धरानबासी साथै अन्य जिल्लाबाट आएका हजारौंले श्रमदान गरेका छन् । असारको पहिलो सातादेखि लागिपरेका उनी हालसम्म पनि पानी ल्याउने ध्याउन्नमै छन् । ‘धराने जनताको लागि पानी खुवाउन म सिंहदरबारमै धर्ना दिनुपरेपनि दिन्छु,’ मेयर साम्पाङ थप्छन्, ‘त्यही भएर म खोलाखोल्सी धाइरहेको छु, स्रोत खोजिरहेको छु ।’ उनले काम गर्दै जाँदा आलोचना हुने गरेको समेत बताए । ‘काम अघि बढ्दै जाँदा कतिपयले खिसिट्युरी गर्नेदेखि आलोचना गर्ने समेत गर्दै आएका छन्’, उनले भने, ‘जोसुकैले जेसुकै भनुन म आफ्नो काम गरिरहन्छु, म आफ्नो भिजन र मिसनमा प्रष्ट छु, पानीकै कारणले चुनाव जितेको हुँ, जनतालाई पानी नखुवाएसम्म मेरो चित्त बुझ्दैन ।’ मेयर साम्पाङले यो खालको पानी वर्षायाममा मात्रै आउने बताएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP