परामर्शको आवश्यकता


  • डिबी श्रेष्ठ 'चुके'
  • २०७९ भदौ २३

जसले परामर्श ग्रहितालाई उसको समस्याबाट अलग गराएर अविचलित बनाई समस्याको समाधानको लागि स्वयम उसैलाई परिपक्व निर्णय गर्न वा फैसला गर्न मद्दत गर्दछ । परामर्शदातामा सुन्न सक्ने क्षमता अर्थात् धैर्यता धेरै हुनुपर्छ । यसले परामर्शग्रहितामा सिर्जना हुने कृत्रिम डर भागेर जान्छ, आत्मविश्वास बढेर जान्छ र भविष्यमा आइपर्न सक्ने चुनौतीहरूसँग कसरी सामना गर्ने भन्ने सम्बन्धमा सतर्कता बढेर जान्छ ।
परामर्शदाताले परामर्श दिने क्रममा परामर्श ग्रहितामाथि निकासको नाममा अनावश्यक निर्णय थुपार्ने होइन बरु उसलाई निर्णय गर्न सजिलो हुने गरी विकल्प थुपार्ने काम गर्नुपर्छ । यसो गरेमा परामर्श लिनेको विश्वास परामर्श दिनेमाथि बढेर जान्छ साथै निर्धक्क भएर आफ्नो मनमा लागेको विचारहरू प्रशन्न हुँदै राख्न सक्छ । परामर्शदाताले दिने व्यक्तिगत परामर्शको गोपनीयतालाई भङ्ग गर्नु हँुदैन र यस सम्बन्धमा उसले परामर्श ग्रहितालाई दिने आश्वासन र देखाउने व्यवहार ओजनदार हुनुपर्छ । अन्यथा परामर्शग्रहिताले उसमाथि शंका गरी मनको सबै कुरा नभन्न पनि सक्छ । त्यसैले यस्तो कुरामा परामर्शदाताको गम्भीर ध्यानाकर्षण हुनु जरूरी छ ।
छोराछोरी वा विद्यार्थीहरूका लागि उनीहरूका बुबाआमा, शिक्षक, अविभावक, आफ्नो आफन्त र छर छिमेकीहरू प्रारम्भिक परामर्शदाताहरू हुन् । यी परामर्शदाताहरूमा परामर्श सम्बन्धी विधि, प्रक्रियाको बारेमा न्युनतम ज्ञान र सीप हुनैपर्छ । अन्यथा उनीहरूले परामर्श हैन निर्देशन दिने गर्दछ । जसले बालबालिकाहरूलाई आफू नजिक ल्याउने नाममा टाढा धकेल्ने काम गरिरहेका हुन्छन् । यसो हुनुको मुख्य कारण अनावश्यक अपेक्षासहितको निर्देशन नै हो भनी स्वीकार गर्नुको सट्टा उल्टो पुस्तान्तर लाई दोष दिइ आफू पन्छिने मेलो गरेको पाइन्छ ।
परामर्श दिने कार्य आफैमा जटिल प्रकृतिको हुन्छ । यसलाई हल्कारूपमा हेरिनु हुँदैन । परामर्शलाई सेवाको रूपमा हेर्दा नै उचित होला । अन्यथा यसप्रति नै मानिसमा वितृष्णा पैदा हुन सक्छ । आज परामर्श दिने नाममा कतिपय नक्कली र सक्कली परामर्शदाताहरू विभिन्न संघ संस्थाहरूमार्फत् अर्थोपार्जनको उद्देश्य बोकेर आउने गरेको पनि देखिन्छ । यस्ता परामर्शदाताले परामर्श ग्रहिताको समस्यालाई भन्दा उसले तिर्ने दस्तुरलाई बढी महत्व दिएको हुन्छ जसले गर्दा परामर्श ग्रहिताले सोचे अनुसारको सन्तुष्टि पाउन सकिरहेका छैनन् । यो कुरालाई परामर्शदाताले मनन् गर्नैपर्छ ।
परामर्श लिने व्यक्ति परामर्श ग्रहिता
मनुष्य एक सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ, हुर्कन्छ, पेशा गर्छ र अन्त्यमा मर्छ । हरेक विवेकी मनुष्यले आफ्नो जन्म र मृत्युबीचको छोटो अस्तित्वलाई अर्थपूर्ण बनाउन चाहन्छ । यसको लागि उसले सर्वप्रथम आफ्नो अन्तर मनको एक कुनामा लुकी बसेको सम्भावित प्रतिभालाई खोज्न, चिन्न र त्यसलाई निखार्न जान्नुपर्छ । आज अधिकाङ्श बालबालिका तथा युवायुवतीहरू आफ्नो अन्तर मनको चाहनालाई चिन्न, बुझ्न र सोही अनुसारको पेशा वा रोजगार छनौट गर्न सकिरहेका छैनन् । जसले गर्दा उनीहरूले आफ्नो वर्तमान र भविष्य अनिश्चित बनाउँदै लगिरहेका छन् । त्यस्ता व्यक्तिहरूले आज परामर्श सेवाको आवश्यकता महसुस गरिरहेका छन् । उनीहरूले परामर्श दिने परामर्शदाताको खोजी गर्नुपर्ने अनिवार्यता बढेर गएको छ । विषयगत विषेशज्ञ अर्थात् परामर्शदाताबाट आफ्नो खुबी पहिचान गर्न वा अस्पष्टता हटाउन परामर्श लिने व्यक्तिहरुको संख्या विकसित देशहरूमा बढ्दै गइरहेको पाइन्छ ।
परामर्श लिने व्यक्तिलाई परामर्श ग्रहिता पनि भनिन्छ । जब व्यक्तिमा आत्म विश्वास घट्न थाल्छ, डर बढ्न थाल्छ, मनमा अनावश्यक कुरा खेलाई बढी सोच्न थाल्छ र सम्बन्धित विषय वा समस्यामा अनिर्णित हुनु पुग्दछ तब त्यस्तो व्यक्ति परामर्शदाता कहाँ जानुपर्छ । परामर्श ग्रहिता अर्थात् परामर्श लिनेले आफ्नो विषय वा समस्याको प्रकृतिअनुसारको परामर्शदाता खोज्नुपर्छ । सबै परामर्शदाता असल नियतका हुन्छन् भन्ने छैन त्यसैले परामर्श ग्रहिता यस्तो कुरामा धेरै सचेत हुनुपर्छ । परामर्श ग्रहिताले त्यस्तो परामर्शदातालाई स्वीकार गर्नुपर्छ जसले उसलाई र उसको समस्यालाई बढी महत्व दिई ध्यानपूर्वक सुन्छ र समाधानका लागि आवश्यक सल्लाह, सहयोगसहित आत्मबल प्रदान गर्छ । परामर्श ग्रहिता छोराछोरी, बालबालिका, युवा युवती, बयस्क, जेष्ठ नागरिक, रोगी जो पनि हुन सक्छ ।
परामर्श दिँदा ध्यान दिनुपर्ने कुराहरू
क) परामर्शदातामा परामर्श सम्बन्धी विधि र प्रकियाको बारेमा पूर्ण जानकार हुनैपर्ने ।
ख) परामर्श लिने र दिने बीचमा सकारात्मक शब्द तथा वाक्यहरू प्रयोग गरी विश्वासयोग्य सुमधुर सम्बन्ध विकास हुने वातावरण सिर्जना गर्ने ।
ग) परामर्शदाताले आफूलाई हँसिलोरूपमा प्रस्तुत गर्दै परामर्श ग्रहिताको मन जित्न सक्ने किसिमको व्यवहार गर्ने ।
घ) परामर्श लिनेलाई आफ्नो समस्या र विचार निर्धक्क राख्न उत्प्रेरित गर्ने र उसको कुरा ध्यानपूर्वक सुन्ने ।
ङ) परामर्श ग्रहिताको मनस्थिति, स्वभाव र व्यवहारको नजिकबाट अध्ययन गर्ने ।
च) त्यसपछि समस्यामा केन्द्रित भई सो को गहन अध्ययन गर्ने र गहिराइमा पुगी मुल जड (कारक तत्व) के हो पत्ता लगाउन सहयोग गर्ने ।
छ) समस्याको कारक तत्वहरू थाहा पाउन र समाधानका विकल्पहरुका सम्बन्धमा खोजी गर्न मद्दत गर्ने ।
ज) परामर्शदाताले समस्या को समाधान वा निर्णय परामर्श ग्रहितालाई नै गर्न उत्साहित गर्ने ।
झ) परामर्शदाताले आफ्नो बोलाई र गराई बीचमा एकरुपता कायम राख्ने ।
ञ) परामर्शदाताले के बोल्ने, कसरी बोल्ने र कहिले बोल्ने जस्ता कुरामा ध्यान दिने ।
ट) परामर्शदाताले परामर्श ग्रहिताबाट हो वा होइन भन्ने मात्र उत्तर आउने किसिमको प्रश्न गर्दै नगर्ने ।
ठ) परामर्श ग्रहितालाई उसको समस्या तथा असन्तुष्टि राख्न सजिलो तथा सुरक्षित हुने वातावरण सिर्जना गर्ने र पर्याप्त समय उपलब्ध गराउने ।
ड) परामर्शदाताले परामर्श ग्रहिता र उसको समस्यालाई नजरअन्दाज गर्दै नगर्ने ।
ढ) परामर्शदाताले परामर्श दिँदा परामर्श ग्रहिताको गुनासो धेरै सुन्ने, बोलिरहेको बेला विचमा नरोक्ने तर आफ्नो बोलाई भने विस्तारै विस्तारै कम गर्दै लैजाने।
ण) परामर्शदाताले परामर्श ग्रहितालाई निर्णय गर्न सक्षम बनाउने सर सल्लाह दिनु पूर्व उसको पारिवारिक पृष्ठभूमिको अध्ययन गर्नुपर्ने ।
त) परामर्श ग्रहिताले अन्तर आत्माबाट परामर्शदाता स्वीकार गर्न सक्ने वातावरण सिर्जना गर्ने ।
थ) व्यक्तिगत वा सामूहिक परामर्श एकैपटकमा सम्भव नहुन पनि सक्छ भन्ने चेतना कायम राखिराख्ने ।
अन्त्यमा
परामर्श लिनु भनेको आफ्नो मनले शान्ति पाउनु हो अर्थात् मनको मैला पखाली मन सफा राख्नु हो । हामीले परामर्शलाई बेवास्ता नगरौं । यसलाई बेवास्ता गर्नु भनेको आफूलाई आफैले हिलोको दलदलमा फँसाउनु सरह हो । परामर्श भनेको विषयगत विषेशज्ञरूपी डाक्टरले व्यक्तिको अस्पस्ट मन, बुद्धि र सोचाइ शुद्धीकरणको निमित्त दिइने ओखती हो । यस ओखतीलाई हरेक उमेर समूहका उल्झनमा परेका व्यक्तिहरूले सुल्झनका लागि अनिवार्य सेवन गर्नु नै बुद्धिमानी ठहरिनेछ । यसको प्रयोग विशेषतः आत्मविश्वास बढाउन, डर, रिस, चिन्ता व्यवस्थापन गर्न, सामाजिक अनुकूलता र सामञ्जस्यता कायम राख्न, विशिष्ट क्षेत्रमा इच्छा जागृत गर्न, असल बानीको विकास गर्न र सक्षमता अभिवृद्धिको लागि गरिन्छ । त्यसैले तपाईं हामीले परामर्शलाई सकारात्मक ढङ्गबाट सोच्न थालौं र आफू र आफ्ना छोराछोरी वा विद्यार्थीहरूको वर्तमान र भविष्य सुनिश्चित बनाऔं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP