तीजको नाममा जथाभावी खर्च

भड्किलो बन्दै तीज


  • अनुषा थापा
  • २०७९ भदौ ८

देशभर यतिखेर तीजको लहर चलेको छ । हिन्दू महिलाहरुले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र महत्व पनि घट्दै गएको छ । चाडपर्वहरु एकदमै भड्किलो हुँदै गइरहेका छन् । तीमध्ये एक तीज पनि हो ।
दुई दशक अघिसम्म चेलीबेटीका लागि तीज भनेपछि के के न आयो जस्तो हुन्थ्यो । आफ्नो जन्मथलो जानकै लागि पनि छोरीचेली तीजको पर्खाइमा बस्थे । तीज आउनुभन्दा एकदिन अघि दाजुभाइहरु दिदीबहिनी लिन उनीहरुको घर जान्थे । तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो । नाच्ने, गाउने र रमाउने त तीजको दिन मात्र हुन्थ्यो । जसले गर्दा तीजको रौनक पनि छुट्टै थियो ।
बल्लतल्ल माइती पुगेका चेलीबेटीहरु तीजको दिन आफ्नो वर्षको पीडा, हर्ष पोख्थे । दाजु भाइ, आमाबुवासँग आफ्ना मनका कुराहरु बिसाउथे । तीज महिलाको चाड भएकाले यसमा पुरुषहरुको सहभागिता रहँदैनथ्यो । तर, अहिले तीजले धेरै विकृति ल्याएको छ । तीज आउनुभन्दा दुई महिना अघिदेखि नै दर खान शुरु गरिन्छ । त्यो पनि घरमा नभई पार्टी प्यालेसमा ।
महिलाहरु तीज आउनुभन्दा दुई महिना अघिदेखि नै पार्टी प्यालेसमा नाच्न, गाउन पुगिहाल्छन् । मदिरा सेवन, उत्ताउलो नाचगान अहिले त प्रचलन बनिसकेको छ । महङ्गा वस्त्र लगाएर, गरगहना भिरेर नाच्न गाउने जानेको संख्या बढेको छ । यता, पुरुषहरु पनि तीजको दर खान पुगेका छन् । स्वास्नीको पछि लागेर लोग्नेहरु पनि तीजको कार्यक्रममा नाच्न पुगेका छन् ।
यता, जनप्रतिनिधिहरुले समेत भोटका लागि तीजको कार्यक्रम आयोजना गरेका छन् । अधिकांश नगरपालिका, वडाले निःशुल्क तीजको दर खुवाउने कार्यक्रम राखेको छ, त्यो पनि मङ्हगा पार्टी प्यालेसमा । यता, जनताहरु पनि त्यो रकम कहाँबाट आयो ? भनेर सोचविचार नै नगरी भोज खान पुगेका छन् । आज निःशुल्क खुवाउँछ भोलि हामीलाई नै तिराउँछ भन्ने कुरा बिर्सिएको स्पष्ट बुझिन्छ ।
वडाध्यक्ष, नगर प्रमुखहरुले तीजको कार्यक्रम पैसाको खोलो बगाएका छन् । कारण एउटै हो भोट । त्यति खान दिइसकेपछि भोट सजिलै पाइन्छ । कसैले आफ्नो पार्टीको विरोध गर्दैन् भन्ने सोचाइ राखेर सित्तैमा तीजको भोज खुवाएको हो । यो रकम पनि जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेरै आएको हो । तीजमा राजनीतिक छिरेको छ । चाडपर्वमा राजनीति छिर्दा त्यसले धेरै असर गर्छ ।
तीजको नाममा ठूल्ठूला आवाजमा गीत बजाउने र अरुलाई डिस्टर्ब गर्ने । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । आफ्नो स्वार्थका लागि अन्यलाई दुःख दिन त पाइएन नि । चाडबाडका नाममा विकृति र बिसङ्गति फैलिएको छ । भ्रष्टाचार गरेर जोडेको सम्पत्ति पोख्ने राम्रो माध्यम तीज बनेको छ । राजनीतिक दलदेखि सरकारी कर्मचारीका श्रीमतीहरुले तीजको रमझममा भ्रष्टाचार गरेको सम्पत्ति उडाइरहेका छन् ।
नेपाली समाजमा तँ ठूलो कि म ठूलो भन्ने प्रवृत्ति अझै पनि यथावत् छ । आफूलाई अरुभन्दा माथि देखाउन यहाँ होडबाजी नै चल्ने गरेको छ । देखासिकी यसको प्रमुख कारण हो । चाडपर्व पनि देखासिकी गरेर मनाउन थालिएको छ जसले गर्दा बेतिथि बढ्यो । हाम्रो मुलुकमा धेरै जनता मागेर खाइरहेका छन् । उपचार नपाएर सडकमा थलिएका छन् । तर, यसतर्फ कसैको अलिकति पनि ध्यान जादैन् ।
तीजमा जथाभावी खर्च गर्नुको साटो कसैलाई सहयोग गरिदिने हो भने बिरामीले नयाँ जीवन पाउँथे । खान नपाएकाले एक पेट भएपनि टन्न खान पाउँथे । आश्रमतिर लगेर दान गरिदिँदा बुढाबुढी र बालबालिकाको अनुहारमा अलिकति भएपनि चमक आउथ्यो । तर, सहयोग गर्न भनेपछि नेपालीको हात काम्छ । भोज खुवाएर सिध्याउँछन् तर गरिबलाई दिन भनेपछि उनीहरुको दाँतबाट पसिना आउँछ ।
तीजको अवसरमा दुई महिनाअघि देखि नाच्नुको साटो आफ्नो घर वरपर सरसफाइ गर्दा सबैलाई सहज हुन्थ्यो । सडक सफाचट पारेर चिटिक्क बनाउने, वृक्षारोपण गर्नेलगायतका काम गर्दा आफू बस्ने समाज सफासुग्घर देखिन्थ्यो । तर, यसतर्फ कसैको ध्यान जादैंन् । नाँच्न जान भनेर सबैसँग फुर्सद हुन्छ तर आफ्नै टोल समाज सफा गर्न कसैसँग समय हुँदैन ।
देशका जनता नै यस्तो भएपछि मुलुकको अनुहार फेरिनु असम्भव कुरा हो । यता, वडा र नगरपालिकाले अहिले जति पनि तीजका कार्यक्रम गरिरहेको छ, यो सब जनताले तिरेको कर हो । जनताले तिरेको कर जनप्रतिनिधिले जथाभावी खर्च गर्न पाउँदैनन् । आफ्नो कार्यकर्ता खुसी पार्नका लागि जनप्रतिनिधिले मनोमानी चलाएका छन् । वडा र नगरपालिकासँग तीजको कार्यक्रम गर्न जति पनि बजेट छ ।
तर, मिर्गौला, क्यान्सरजस्ता अन्य रोगबाट पीडितलाई सहयोग गर्न बजेट छैन । उनीहरुको उपचारमा थोरै भएपनि सहयोग गरिदिऊ भन्ने भावना अहिलेका जनप्रतिनिधिमा पाइँदैन । बाउआमा गुमाएका टुहुरालाई पनि सहयोग गर्ने चलन छैन् । तर, तीजको कार्यक्रममा लाखौं रुपैंयाँ खर्च गरिएको छ । यस्ता जनप्रतिनिधिले के स्थानीय तहमा सुधार्न गर्लान् । जनताले तिरेको करमा वडाध्यक्ष र मेयरको रजाइँ चलेको छ ।
कार्यक्रम राख्ने अनि ठूलै नेता गएर दन्काउने । नेतालाई यस्तो अनुचित कार्य गर्न नैतिकताले दिन्छ ? गएगुज्रिएका नेताकै कारणले पनि हाम्रो चालचलन संकटमा परेको छ । यसमा पार्टी प्यालेसको पनि उत्तिकै हात छ । आखिर व्यापारीलाई जसरी हुन्छ कमाउनेतिर मात्र ध्यान हुन्छ । पार्टी प्यालेस सञ्चालकले अन्य समय आफ्नो कार्यक्रम त्यही गर्छन् अनि मौका छोपेर सञ्चालकहरुले फाइदा उठाउँछन् ।
घरपरिवार पनि जिम्मेवार हुनुपर्ने बेला आएको छ । सबैले छुट पाउनुपर्छ तर त्यसको पनि एउटा निश्चित सीमा हुन्छ । आफ्नो हकअधिकार प्रयोग गर्ने भन्दैमा समाजमा बसोबास गर्ने अन्यलाई दुःख दिन पाइँदैंन । घरका पुरुषहरु महिलाको अगाडि निरीह बन्दा पनि यो क्रम बढेको हो । सही र गलत छुट्याउन नसक्नु र अरुको लहैलहैमा दौडिनुले मुलुकलाई ठूलो क्षति पुरयाउँछ ।
घरको मूलीसँग घर सञ्चालन गर्न सक्ने क्षमता नहुँदा विकृति मौलायो । पुरुषहरु नै तीजको कार्यक्रममा पुगेर नाँचिरहेको भेटिन्छन् । पुरुषहरु तीजको कार्यक्रम गर्न जान मिल्छ ? महिलाको कार्यक्रममा पुरुष पुगेर छमछमी नाच्नुले समाजलाई कतातिर लैजाँदैछ भनेर स्पष्ट देखाएको छ । पुरुषको प्रमुख चाड भनेको जनै पूर्णिमा हो । पुरुषले तीज मनाउने हो भने महिलाले पनि जनै बाध्न थाले हुन्छ ।
तीज मनाउन जाँदा टन्न गरगहना लगाएर हिँडेको देखिन्छ । यसले सुरक्षामै खतरा देखिएको छ । धाक दिन खाज्दा चोरीका घटना बढ्ने निश्चित छ । सुनकै कारणले भोलि ज्यान जानेसम्मको अवस्था बन्न सक्छ । एउटाले टन्न गहना लगाएको देखेपछि अर्कोलाई पनि उही रहर जाग्छ । ऋण लिएर, सम्पत्ति बेचेर तीज मनाउने काम भइरहेको छ । घाँटी हरेर हाड निल्नु भनेर बुढापाखाले भनेका कुरा सबैले बिर्सिएका छन् ।
देखासिकीको पछाडि दौडिँदा ऋण तिर्न नसकेर आत्महत्या गर्नसम्मको अवस्था नबनोस् । आफ्नो हैसियत बिर्सिएर फजुल खर्च गर्ने काम नगरौं । तीजका लागि ठूल्ठूला भोजको आयोजना गरिएको छ । भोजमा खाइनसकेर पैसा हालेको अन्न फोहोरको टोकरीमा लगेर फ्याक्छन् । तर, ठिक्क लिऔं, बचेको खानेकुरा गरिबलाई लगेर खान दिऔं भनेर कसैले सोच्दैनन् ।
नेपालीहरुमा मानवता भन्ने चीज नै छैन । खान नसकेर फोहोरमा लगेर फाल्दा कोही भोकै होलान् भनेर कसैले सोच्दैनन् । तीजको नाममा जथाभावी खर्च गरिएको छ । तर, त्यत्रो रकम कहाँबाट आयो ? भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले पनि छानबिन गर्दैन । जनताले सुन्न र हेर्न नसक्ने तीजका गीत र भिडियो बजारमा आएका छन् । यसलाई रोक्न सूचना तथा प्रविधि मन्त्रालय असफल भएको छ । समाजको शान्ति खलल पार्ने गीतहरुलाई प्रतिबन्ध लगाउनुपर्यो । भड्किलो गीत गाउने र त्यसमा नाच्नेलाई कारबाही गर्नुपयो । समाजमा बस्नेहरुलाई अपच हुने गीत–संगीत ल्याउन पाइदैन् । कलाकारहरु जिम्मेवार नहुँदा कला क्षेत्रको इज्जतमाथि दाग लागेको छ ।
कलाकारले गाएको गीत घरपरिवारसँग बसेर सुन्न सक्ने अवस्था छैन । कलाकारलाई छाडा छोड्ने हो यसले ठूलो जोखिम निम्त्याउँछ । यसको जिम्मा सरकारले लिने कि कलाकारले ? पैसा कमाउनका लागि समाज भड्काउन मिल्छ ?
अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP