गुडिरहेको बसभित्र एसिड पोखियो

पाँचजना घाइते, कसैको टाउको, घाँटी त कसैको हात र खुट्टाको छाला पिल्सियो


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ७

विराटनगरः मोरङको कटहरीमा गुडिरहेको बसमा एक व्यक्तिले बोकेको एसिड पोखिएर लाग्दा पाँच जना घाइते भएका छन् ।
को१ख ३९८१ नम्बर यात्रुबाहक बसमा एसिड पोखिएपछि एकजना सह–चालक र चारजना यात्रु घाइते भएका हुन् । घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका ४ का २२ की निता राजवंशी, धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर विराटनगरमा बस्दै आएका र सहचालक २० वर्षीय विनोद परियार, सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सविया खान घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
घाइते हुनेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । एसिड लागेर टाउको, घाँटी, हात र खुट्टाको छाला पिल्सिएको छ ।
मंगलबार दिउँसो कटहरी गाउँपालिकामा रंगेली जाँदै गरेको बसभित्र एक जना यात्रुले बोतलमा एसिड बोकेको र सो बोतल फुटेपछि एसिड लागेर उनीहरु घाइते भएका हुन् । सो एसिड कटहरी–४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले बोतलमा एसिड बोकेका थिए । बसका चालकले ब्रेक लगाएपछि हात थिचिएर बोतलको बिर्को खुलेको पाइएको प्रहरीले जनाएको छ । अहिले ती व्यापारी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP