धरानको वडावडामा हुँदै आएको निःशुल्क स्वास्थ्य परीक्षणले धरानबासी लाभान्वित


  • हाम्रो कोशी आवाज
  • २०७९ असार ५

धरानः परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण भएको सो क्लिनिकमा मुटुरोग, रक्तचाप र मधुमेह सम्बन्धी परीक्षण गरिएको छ । ७० वर्ष माथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको क्लिनिकमा यसपटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको पनि जाँच गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए । ‘यस पटकदेखि बिरामीहरुको मुटुमा राखिएको पेश मेकरको अवस्थाको मेशिनद्वारा निःशुल्क रुपमा जाँच गर्न शुरु गरेका छौं ।’ अध्यक्ष बराले भने ।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न यस शिविरमा वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स शिल्पा श्रेष्ठले रक्तचाप परीक्षण गर्ने कार्य गरेकी थिइन् ।
वडावडामा आयोजना गर्ने लक्ष्यअनुरुप १८ औं संस्करणको कार्यक्रम इलामेली समाज सुनसरीको सहकार्यमा आयोजना भएको हो । यो कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिबार धरानका विभिन्न वडाहरुमा आयोजना हुने गर्दछ । धरान र धरान वरपरका विशेष गरी मुटुका बिरामीहरु निकै नै लाभान्वित रहेको र विशेष गरी आयोजकले यस्ता कार्यक्रमहरु आयोजना गरेकोमा मनै देखि धन्यवाद दिएको बिरामी कृपानाथ श्रेष्ठले बताए । ‘डाक्टरलाई उपचार गराउन घर आँगनमै यस्तो सुविधा उपलब्ध गराउनु महत्वपूर्ण कुरा हो, आयोजकलाई धन्यवाद दिन चाहन्छु’ श्रेष्ठले भने ।
अभियानले धरानको शिक्षा, स्वास्थ्य र पर्यटनको क्ष्ँेत्रमा काम गर्दै आईरहेको छ । न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराउने कार्यक्रम ‘घरको स्कूल’ कार्यक्रम समेत अभियानले सञ्चालन गर्दै आइरहेको छ भने धरानका प्रमुख पर्यटकीय क्षेत्रहरुको भिडियो क्लिप निर्माण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा फेसबुकमार्फत प्रवद्र्धन गरिरहेको छ ।

धरानका पर्यटन प्रवद्र्धनसम्बन्धी चित्रकला कार्यशाला गर्ने
परिवर्तनका लागि सामाजिक अभियानले धरानका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने हेतुले चित्रकला कार्यशाला आयोजना गर्ने भएको छ । सुनसरी, मोरङ र झापाका वरिष्ठ कलाकारहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । भोलि ६ गते सोमबार, धरान घण्टाघर परिसरमा कार्यक्रम हुने अभियानका अध्यक्ष विष्णु बरालले बताए । बिहान ११ बजेदेखि ३ बजेसम्म आयोजना हुने कार्यशालामा चित्रकारहरुले धरानका पर्यटकीय क्षेत्रहरुको चित्र बनाउनेछन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP