खोजिँदैन दुर्घटनाको कारण


  • सूर्य कुईँकेल
  • २०७९ असार ४

नेपाली सडकमा दुर्घटनाका समाचारहरु आइरहन्छन् । दुर्घटनाका कारणहरु त धेरै हुनसक्छन् तर कारणहरु जे भएपनि मानवीय कारण नै प्रमुख कारण देखिन्छ भन्दा अत्युक्ति नहोला । परिवारका सदस्यहरुको वियोगको पीडा, अपाङ्गगता, जनधनको क्षति र नागरिकहरुको यस प्रकारको क्षति राष्ट्रकै लागि अपुरणीय हुने हुनाले सडक दुर्घटना न्युनीकरणका उपायका प्रयासहरु सबै तह र तप्काबाट गरिनुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
दुर्घटनाहरु के कति कारणले हुने गरेका छन र न्युनीकरणका उपायहरु के के हुन सक्छन् भनी सम्बन्धित निकायले अध्ययन गनुपर्ने देखिन्छ । सवारी वा सडक दुर्घटनाका कारणहरुमा कतै पैदलयात्री, कतै स्थानीय सर्वसाधारण, कतै सवारी चालकहरु, कतै राजमार्गमा छोडिएका छाडा चौपायाहरु त कतै फितलो प्रशासनयन्त्र त कतै दिगो विकास तथा भौगोलिक अनुकूलताको अध्ययन र प्राविधिक उदासिनताको अभाव देखिन्छ । मुलुकका हरेक नियम र कानुन सबै नागरिकले पालना गर्ने वातावरण र त्यसलाई नियमन तथा अनुगमन गर्न र आवश्यक कानुनी उपचार गर्ने अधिकार प्रशासन संयन्त्रलाई नै हुन्छ, त्यसैले नियमको कार्यान्वयन तथा अनुगमन गर्न नसक्नुको अवस्था नै सडक दुर्घटनाको प्रमुख कारण बन्न जान्छ ।
ब्यस्त ठाउँमा बाटो काट्ने एक ब्यक्तिलाई जोगाउन खोज्दा सार्वजनिक सवारी साधनका सयौं यात्रुहरुको ज्यान जोखिममा पर्ने कुरालाई आत्मसात् गर्दै यदि त्यस कारणबाट सवारी दुर्घटना हुन गएमा त्यसको जिम्मा त्यही जथाभावी बाटो काट्नेले लिनुपर्ने नियम भएमा पनि धेरै हदसम्म नियन्त्रण हुनसक्छ । मोटरसाइकलमा सवार हुनेहरुलाई चाहिँ ससाना कुराहरुमा पनि ट्राफिक नियमको पाठ सिकाउँदै रकम असुलिरहेका हुन्छन् । फेरी कतिलाई भर्पाइ नै दिँदैनन । अनि बुबाआमासँग झगडा गरेर धम्क्याएर पल्सर किनिमागेपछि विना अनुभव र सवारी चालक अनुमतिपत्रबिना नै प्रहरीलाई पाँचसय रुपियाँ दिँदै हुँइक्याएपछि त्यसले दुर्घटनाको रुप लिने सम्भावना बढि हुन्छ । त्यसैले यहाँ दुर्घटना निम्त्याउने कारण एउटा मात्र छैन ।
पछिल्लो समयमा सिटी रिक्साहरु सडक दुर्घटनाका प्रमुख कारण बन्दैछन् । बजारमा आवश्यकभन्दा बढी सिटी रिक्साहरु सञ्चालित छन, त्यसमा पनि सम्बन्धित निकायमा नियमविपरीत पैसा लिँदै दर्ता दिएकाले यसको चाप बढेको देखिन्छ । अर्को कुरा सवारी चालक अनुमति पत्र अनिवार्य नगरिएकाले र ट्राफिक नियमसम्बन्धी शुन्य ज्ञान भएकाहरु बढीजसो सिटी सफारी चालक भएकाले पनि नियमविपरीत सफारी चलाएकाले अत्यधिक दुर्घटना भएको पाइएको छ ।
सवारी दुर्घटनामा सवारीधनी र चालकहरुको पनि चरम लापरवाही देखिन्छ । यात्रुहरु चढाउने होडमा उछिनापाछिन, तीब्र गति, विपरीततर्फबाट आइरहेका सवारीहरुलाई सडकमा ठाउँ नै नपाउने गरि ओभरटेक गर्नु, मदिरा सेवन गर्नु, लामा रुटका सवारी चालकहरु दोब्बर भत्ताको लोभमा सहचालक नराखी रातभर सवारी चलाउनु, चालकहरु बढी पुरुष भएकाले महिला चालकहरुमाथि पुरुषार्थ प्रमाणित गर्न जसरी भएपनि ओभरटेक गर्नु वा जिस्क्याउनु सडक दुर्घटनाका अरु कारणहरु हुन भने दुर्घटनापछि पिडकको पहुँचमा पिडितको भावनाविपरित घटनाको टाकछोप गरी मिलाउनु पनि पहुँचवालाहरुले ट्राफिक नियम पालना गर्नुभन्दा पहुँचको भरमा दुर्घटनाको ख्याल नगर्नु अरु कारणहरु हुन । ड्राइभिङ सेन्टरहरुलाई सिकारुका लागि ब्यस्त सडक प्रयोग गर्न निरुत्साहित नगरिनु, यात्रुहरु बोकेका सार्वजनिक सवारीहरु ब्यस्त सडकमा खलासी वा कण्डक्टरहरुले अभ्यासका रुपमा प्रयोग गर्नु, साँघुरा र कच्ची सडकहरु दुर्घटनाका कारणहरु हुन् ।
यसरी प्रायः प्रत्येक क्षेत्र नै दुर्घटनाका कारणहरु बनेका छन् । र तिनै क्षेत्रहरुबाट नै न्युनीकरणका प्रयासहरु थालिनुपर्ने बेला आएको छ । मेहनत गरे गर्न नसकिने र सफल नहुने कुनै विषय छैन भनिन्छ । त्यस्तै, सवारी दुर्घटनाको बारेमा त मेहनत भन्दा चेतनाको बढी खाँचो छ । संयमता अपनाउनु नै सवारी दुर्घटना न्युनीकरण गर्ने कडी हुन सक्छ । तर, स्वयं चेतना कतिपयमा नहुन सक्छ । ‘विवेक र जिम्मेवारी’ मानिसका भित्रि आत्मादेखि नै महसुस गर्ने विषय भएकाले तिनलाई अनिवार्य गर्न कानुनी आधार चाहिन्छ । त्यसैले कानुनीरुपमा नै सवारी सम्बन्धी नियमको पालना गराउन त्यस सम्बन्धी धारणा र चेतनाको विकास गर्न आवश्यक छ । यदि कसैले सवारी वा ट्राफिक नियम उल्लंघन गरी दुर्घटनामा परेको हो भने त्यो उसकै गल्ती हुन्छ तर एउटाको गल्तीका कारण अरुलाई पीडा हुनु हुँदैन भन्ने मान्यताको विकास हुनुपर्छ । ठूला र साना सवारी साधनमध्ये ठूलाको मात्र गल्ति देखाइनु मुर्खता हो ।
आज त हाम्रो मुलुक संघीय संरचनामा रुपान्तरण भइसकेको छ । प्रत्येक स्थानीय सरकारहरु आफ्नो नगरलाई नमूना बनाउने प्रचारबाजीहरु ग्रिरहेका छन । नगरलाई प्रविधियुक्त र डिजिटलाइज्ड गर्ने प्रचारबाजीहरु आइरहेका छन् यदि यी कुराहरु कार्यान्वयन गर्न सकेको अवस्थामा सवारी र सडकहरु प्नि त्यो प्रविधिले समेट्न सक्नुपर्छ । जसले गर्दा मदिरा सेवन, यात्रुहरु चढाउन तँछाडमछाड गर्ने अवस्था, जथाभावी बाटो काट्ने प्रवृत्ति, क्षमता भन्दा बढि यात्रुहरुको कोचाकोच, छाडा चौपायामध्ये कुन कारणले सवारी दुर्घटना भएको हो? त्यो कारण पत्ता लगाई नियमानुसारको कारवाहि गर्न पनि कथित डिजिटलाइज्ड प्रविधि प्रयोग भएमा सवारी ब्यवस्थामा केहि सुधार हुन्थ्यो कि । राम्रो तालिमप्राप्त चालकले मात्र सवारी चलाउने, भौगोलिक बनावट र बाटो अनि सडकको ब्यस्तता अनुसार सुरक्षित तवरले सवारी चलाउने हो भने धेरै हदसम्म सडक र सवारी दुर्घटनालाई न्युनीकरण गर्न सकिन्छ ।
वर्षेनी हुने यस्ता दुर्घटनामा हजारौं बेकसुर यात्रुहरूको ज्यान जाने गरेको छ । तर, सरकार र सरोकारवालाहरु यसबारेमा बेखबरजस्तै देखिन्छन् । हरेकजसो सडक दुर्घटनापछि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई दोष दिन्छ भने उता यातायात व्यवसायीहरुले सडक खराब भयो भन्दै सडक विभागमाथि दोष थोपर्छन् । यो क्रम दुर्घटनैपिच्छे निरन्तर चलिरहन्छ ।
पहिलोः अनुभवहीन चालक वा चालकको लापरवाही । दोस्रोः तीव्र गति । तेस्रोः ओभर लोडिङ । र, चौथो–थोत्रा सवारी साधन । यी चारमध्ये कहिले कुन र कहिले कुन कारण मुख्य बनेको होला वा चारैवटा कारण जुटेर दुर्घटना भएको होला । तर, केही समययताका स्मरणमा रहेका मुख्य–मुख्य सडक दुर्घटनाहरुका पछाडिका कारणहरूबारे पडताल गर्दा यी चारवटा स्थायी कारणहरु हुन् भन्नेमा शायद कसैको पनि दुईमत नहोला ।
दुर्घटनाको रोकथाम वा न्यूनीकरणका लागि कडा कानुनहरु ल्याउनुपर्ने, यातायात व्यवस्था विभागमा दक्ष जनशक्तिको दरबन्दी बढाउनुपर्ने, यातायात प्रहरीहरुको दरबन्दी बढाउने उनीहरुलाई थप जवाफदेही बनाउने, पुराना सवारी साधनहरुको विस्थापन, चालकहरुलाई तालिम आदि अनेक सुझावहरु दिएको पाइन्छ । यी कुराहरु आफ्नो ठाउँमा सही नै छन् । यी सुझावहरु महत्वपूर्ण त छन् । तर, यसबाट मात्र दुर्घटना रोकथाम वा न्यूनीकरण सम्भव छैन ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP