धरानमा असरल्ल र लठीभद्र तार व्यवस्थित बनाउन शुरु


  • लक्ष्मण थापा
  • २०७९ जेठ ३१

धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । बिजुली अलपत्र र असरल्ल तारहरुले धरानको सुन्दरतालाई जिस्काइरहेको भान हुन्छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला चलिरहेको तर यस्ता कुराले गर्दा चुनौती थप्दो छ । भनौं धरानका लागि बिजुलीको पोल र झुण्डिएको तारहरू नै चुनौतीका रूपमा उभिएको महसुस सबैले गर्दै आएका छन् ।
सडकमा पैदल हिँड्दा असुरक्षित महसुस गर्दै पैदलयात्री हिँड्न बाध्य छन् । अधिकांशलाई महसुस हुन्छ पनि होला हामी ‘डेञ्जर जोन’ मा छौं भनेर । धरानका महत्वपूर्ण कतिपय ठाउँहरू यस्ता छन् जहाँ जुनसुकै बेला खतराको सामना गर्नुपर्ने हुन्छ । धरानका अधिकाङ्श बिजुलीको तार लर्किएका, लत्रिएका छन् । बिजुली, केवल, नेटका तारहरू यत्रतत्र छरिएका छन् ।
सर्वसाधारणलाई दुर्घटनामा परिने हो कि भन्ने चिन्ता बढेको बेला अब लत्रिएका, झुन्डिएका तार भने व्यवस्थित हुने भएको छ । धरान–२ ले यो अभियान अगाडि बढाइसकेको वडाध्यक्ष रमेश राईले जानकारी दिए । ‘करिब १० दिनदेखि भानुचोक, आसपासका असरल्ल तारहरुलाई व्यवस्थित बनाउने काम थालनी गरिसकेका छौं’, उनले भने, ‘काम नलाग्ने तार व्यवस्थापन मात्रै गर्ने हो भने पनि पोलको भार कम हुने हुन्छ’, ‘त्यसतर्फ हाम्रो वडा नं. ले चाहिँ ध्यान दिएको हो ।’

उनले तारलाई व्यवस्थित गर्दै झुन्डिएकालाई काटेर फालिदिने, युजलेस तार पनि काटेर फालिदिने बताए । ‘बाँकी तारलाई तारले बाँधेर एकमुठा नै बनाइदिन्छौं । यसो गर्न सकियो भने राम्रो पनि देखिन्छ, लथालिङ्गे, भताभुङ्गे धरान त देखिने भएन नि, दुर्घटना पनि हुनसक्छ, हेर्दा पनि डरमर्दो र लाजमर्दो पनि छ, त्यही भएर केवल सञ्चालकलाई मौखिक, लिखित र बैठक समेत बोलाएर हटाउनु भनिसकेका छौं ।’
अहिले अन्य ठाउँमा पनि एउटै पोलमा बिजुली, इन्टरनेट, टेलिफोन र केवल टिभीको तार लत्रिएका छन् । भार थेग्न नसकेर पोल नै ढल्ने अवस्थामा समेत रहेको धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्यले बताए । उनले केहीदिनअघि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पनि सो कुरा उठाएका थिए । विशेषतः इन्टरनेट सेवाप्रदायक संस्थाले आफूखुशी पोलमा तार झुन्डयाउँदा समस्या आएको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP