धरानमा कार्यपालिकाको दोस्रो बैठक सौहाद्रपूर्ण

हाँसी, खुशी विदा भए मेयर, उपमेयर र वडाध्यक्षहरु, अभिभावकजस्तो लागेको भन्दै मेयरलाई धन्यवाद (भिडियोसहित)


  • हाम्रो कोशी आवाज
  • २०७९ जेठ २९

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिकाको दोस्रो बैठक सौहाद्रपूर्णरुपमा सम्पन्न भएको छ ।
यसअघि मेयर र वडाध्यक्षहरुबीचको असमझदारीका कारण बैठकमा बहसदेखि चर्काचर्की समेत भएको थियो । यसअघिको बैठकअघि मेयर, उपमेयर र वडाध्यक्षबीच छलफल नै नभई बैठक बस्दा यस्तो अवस्था आएको हो ।
बैठकमा मेयर हर्कराज राई (साम्पाङ) ले खोला उत्खनन र दोहनबारे प्रस्ताव ल्याएका थिए । त्यसमा मेयरले धरान उपमहानगरपालिकाले नै खोला उत्खनन गर्ने बताएका थिए भने केही वडाध्यक्षले मापदण्ड पुरयाएर खोला उत्खनन हुनुपर्ने माग राखेका थिए भने केहीले खोला उत्खनन गर्नै नहुने कारण पस्किएका थिए । तर दुवैतर्फको पूर्ण छलफल नभएकोले यसबारेमा चर्काचर्कीको स्थितिसम्म पुगेको थियो । यसबारेमा सामाजिक सञ्जालमा टिकाटिप्पणी हुने गरेको थियो ।
जेठ २६ गते डाकिएको बैठकमा वडाध्यक्षहरु उपस्थित नभएपछि रोकिएको थियो । त्यसपछिको बैठक २९ गतेलाई सारिएको थियो । आइतबारको दोस्रो बैठक निर्णय सार्वजनिक गर्दै सकिएको छ ।
यसपटक मेयरले ११ वटा प्रस्ताव ल्याएका थिए । सबै प्रस्ताव पारित भएको छ । धरानको आर्थिक वर्ष २०७८–७९ को नगरसभा (बर्खे अधिवेशन) असार ८ गते आहवान गर्ने, प्रवक्ता तोक्ने, सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको सट्टा नगरपालिका स्वयंले संकलन गर्ने, आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाइ, पूर्वाधार विकास, पर्यटन, कृर्षि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने, विभिन्न न्यायिक तथा अर्ध न्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिकाविरुद्ध परेका फिरादहरुको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण कार्वाही गर्न नगर प्रमुखलाई अधिकार प्रत्योजन गर्ने, चोकको नामकरण सम्बन्धमा वडा नं १५ को वडाअध्यक्षसँग राय परामर्श लिएर गर्ने, निवार्चित भएका वडा सदस्यहरुसहितको परिचयात्मक बैठक असार २ गते उद्योग वाणिज्य संघको हलमा गर्ने निर्णय पारित भएको छ ।
यसैबीच प्रवक्तामा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)लाई मनोनयन गरेको छ ।
योपटक खुशी महसुस गरयौंः वडाध्यक्ष
धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले आफूहरुले यसअघि माउबिनाको चल्ला महसुस गरेको तर यसपटक सौहाद्रपूर्ण रुपमा बैठक सकिँदा अति खुशी लागेको बताए । ‘माउबेगरको चल्ला पो रहेछौं जस्तो महसुस भएको थियो तर आज सौहाद्रपूर्ण बैठक सकिएको छ, आजचाहिँ बडो खुशी लाग्यो, मेयर सा’ब पनि हुनुहुँदोरहेछ, उपमेयर सा’ब पनि हुनुहुँदोरहेछ हाम्रो साथमा भन्ने महसुस भयो ।’ उनले कार्यक्रमको अन्त्यमा भने । यसपछि सबैमा हाँसोको फोहोरा छुटेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP