धरानमा कार्यपालिकाको लाइभसहितको पहिलो बैठक

मेयर साम्पाङले ल्याए ८ वटा प्रस्ताव, खोला उत्खनन रोक्नेदेखि खानेपानीलाई प्राथमिकतासम्म, वडाध्यक्षहरु खोला उत्खननको पक्षमा, मेयरले राखे अडान(कार्यक्रम अवधिभरको पूरा भिडियोसहित)


  • हाम्रो कोशी आवाज
  • २०७९ जेठ २३

धरानः गत वैशाख ३० गते सम्पन्न निर्वाचनपछि धरान उपमहानगरपालिका कार्यपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ ।
मेयर, उपमेयर साथै जनप्रतिनिधि सम्मिलित बैठक केही निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको छ । कार्यक्रममा मेयर हर्क साम्पाङले ८ वटा प्रस्तावहरु ल्याएका थिए । त्यसमध्ये केहीमा छलफल भएपछि निर्णय समेत भएको छ ।
मेयर साम्पाङले मतदाताहरुलाई धन्यवाद ज्ञापन, राजश्व परामर्श समितिमा दुईजना सदस्य तोक्ने, आव २०७९–०८० को बजेट तर्जुमामा विषयगत समिति गठन (आर्थिक, सामाजिक, पूर्वाधार, वन वातावरण तथा विपद्, सुशासन तथा संस्थागत विकास समिति), नागरिक निगरानी तथा पृष्ठपोषण समिति निर्माण, सूचना संयन्त्र निर्माण, नदीजन्य पदार्थ उत्खनन साथै दोहन नगर्ने, सार्वजनिक भवन पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको सट्टा नगरपालिकाले स्वयं उठाउने, आवको बजेट तथा प्राथमिकता निर्धारण, खानेपानीलाई पहिलो प्राथमिकता दिने प्रस्ताव साथै विविधमा नगरपालिकाको प्रवक्ता तोक्ने, परिचयात्मक बैठक राख्ने प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमाथि छलफल गर्दा केही प्रस्तावमा छलफलपछि निर्णय समेत भएको थियो । मतदाताहरुलाई धन्यवाद व्यक्त गर्ने निर्णय, राजश्व परामर्श समितिमा २ जना कार्यपालिका सदस्यलाई मनोनयन गर्ने निर्णय भएको छ । बैठकले राजश्व परामर्श समितिमा विकास भाटी र देवीमाया पराजुलीलाई सर्वसम्मत मनोनित गर्ने निर्णय भएको छ । स्रोत अनुगमन तथा बजेट निर्धारण समितिको सदस्यहरुमा मेयर राई, नरेश इवारम, नरेन्द्रकुमार राई (प्रविण), मनोज भट्टराई र सावित्रा परियारलाई मनोनयन गर्ने निर्णय भएको छ ।
यस्तै, विषयगत समितिहरुमध्ये सामाजिक विकास समिति संयोजकमा सिर्जना नेपाल, आर्थिक विकास समिति संयोजकमा विनिता बज्राचार्य, पूर्वाधार विकास समिति संयोजकमा अनुप देवान सर्वसम्मतले मनोनित भएका छन् भने सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा मुरारी भट्टराई र वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकमा लोकेन्द्र फागोलाई मनोनयन गरिएको छ । सूचना संयन्त्र निर्माण गर्ने संयन्त्रको संयोजकमा सुशासन तथा संस्थागत विकास समिति संयोजक मुरारी भट्टराई, सदस्यहरुमा कार्यपालिका सदस्य दिनेश गजमेर विषयगत महाशाखा प्रमुख रहने निर्णय भएको छ ।
बैठकमा नागरिक निगरानी तथा पृष्ठपोषण संयन्त्र गठन गर्ने प्रस्तावमाथि छलफल भएको थियो । छलफलमा मेयर साम्पाङले यसबारेमा छलफल चलाएका थिए । धरानमा हुँदै गरेका कामबारे गलत वा सही के छ, कुन दिशामा गइरहेका छौं भनेर निगरानी गर्ने, सल्लाह, सुझाव पेश गर्ने भनेर बौद्धिक क्षेत्रका, शैक्षिक क्षेत्रका, विभिन्न फिल्डमा काम गरिसकेका व्यक्तिहरुलाई उनले प्रस्ताव गरेर लैजाने बताएका थिए । त्यसमा केही वडाध्यक्षले अचम्मको प्रस्ताव आयो समेत भनेका थिए । कार्यविधि तयार गरेर सो संयन्त्र गठन गर्ने गरेर अघि बढ्ने सहमतिपछि सो प्रस्ताव त्यतिकै टुङ्गीएको थियो ।
मेयरले नदीजन्य वस्तु झिक्न हुँदैन भनेपछि…
बैठकमा पुरै प्रस्तावमाथि हुन सकेन छलफल हुन सकेन । प्रस्तावित एजेन्डामध्ये प्रस्ताव नं ६ को नदीजन्य पदार्थ उत्खनन गर्नेबारेमा गरमागरम बहस समेत भएको थियो । त्योबारेमा बहस चल्दाचल्दै बैठक स्थगित भएको थियो । बैठक जेठ २६ गते २ बजे बस्नेगरी स्थगित भएको मेयर साम्पाङले घोषणा गरेका थिए ।
मेयर साम्पाङ खोला उत्खनन गर्न नहुने र दोहन गर्न नहुने पक्षमा अडान राखेका थिए भने अधिकांश वडाध्यक्षले असर नपर्ने गरी उत्खनन गर्दा हुने बताएका थिए । अधिकांश वडाध्यक्षले धरानको आम्दानी गुमाउन नहुने तर्क गरेका थिए ।
‘खोला दोहन गर्न हुँदैन’ भन्नेमा आफ्नो अडान रहेको मेयर साम्पाङले बताएका छन् । यसअघि खोला उत्खनन गर्दा भनेजति भन्दा बढी उत्खनन नगरी दोहन नै गर्न थालेपछि आफूले यस्तो निर्णय लिएको उनले बताए । उनले धरान तहसनहस पारेर विकास गर्न नसक्ने अडान लिएका थिए । ‘कहीँकतै नखनीकन हुँदैन भन्ने कुरा फाल्टै कुरा हो’, उनले भने, ४ फिट खन्ने भनेर २५ फिट खनिएको छ, दोहन भन्ने शब्दको अर्थ बुझ्न आग्रह गर्छु ।’ सेउती, सर्दु, अँधेरी खोलाबाट ढुङ्गा, बालुवा उत्खनन हुन नहुने उनको तर्क थियो । उनले बाढी, पहिरोको जोखिम हुने र धरानको वस्ती नै सखाप हुने भन्दै उत्खनन कार्य रोकिनुपर्ने बताएका थिए ।
जेठ ८ गते मेयर उपमेयर विजयीको घोषणापछि सोमबार पहिलो कार्यपालिका बैठक बसेको हो । कार्यक्रममा पत्रकारलाई लाइभ गर्ने व्यवस्था साथै भिडियो खिच्ने व्यवस्था गरिएको थियो । विगतका कार्यपालिका बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश दिइँदैन थियो । तर यसपटक मेयरमा निर्वाचित भएपछि मेयर साम्पाङले सबै सञ्चारकर्मीहरूलाई बैठकको प्रत्यक्ष प्रशारण गर्न दिएका हुन् । ‘म केही नौलो काम गरौं भनेर आएको हुँ, यो काम पनि नौलो हो’, उनले भने, ‘अन्य काम पनि नौलो तरिकाले धरानको विकास र हितमा लाग्नेछु ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP