धरान उपमहानगरकै सरकारी स्कुल

धरानमा कक्षा-३ मा एकजना मात्रै विद्यार्थी


  • हाम्रो कोशी आवाज
  • २०७९ जेठ १८

धरानः धरानमै एउटा स्कुल छ, जहाँ कक्षा–३ मा एकजना मात्रै विद्यार्थी छन् ।
धरान-५ ढिङ्गाबारीस्थित जनता प्राविमा एउटा कक्षामा एकजनामात्रै विद्यार्थी रहेका हुन् ।
कक्षा-३ मा पढ्ने एक्ली छात्रा हुन् विन्दु मगर । उनी नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा–५ सम्म ६० जना विद्यार्थी उपस्थित हुन्छन् । यीमध्ये ५० जनामात्रै नियमित उपस्थित हुन्छन् । अघिल्लो वर्ष ८९ जना विद्यार्थी भएपनि यसवर्ष विद्यार्थी घटेर ६० जनामा आएको उनले बताइन् ।
‘बिन्दु स्कुल नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शुन्य हुन्छ’, उनले भनिन्, ‘बिरामी हुँदा र केही काम पर्दा बिदा लिए कक्षा शुन्य हुन्छ ।’ उनले कक्षाकोठामा साथीसँग बसेर पढ्न मन लाग्ने गरेको अनुभव सुनाइन् । तर कक्षा–३ मा एकजना मात्र विद्यार्थी छन् अनि उनका साथी शिक्षक र शिक्षिकामात्रै हुन् ।
उनी दुईघण्टा पैदल हिँडेरै स्कुल आइपुग्छिन् । उनी सेहरा खोलापारि मोरङ जिल्ला पर्ने लामिछाने गाउँदेखि २ घण्टा पैदल हिँडेर आउजाउ गर्ने गरेको प्रधानाध्यापक पोख्रेल बताउँछिन् । जनता प्राविमा पढ्ने अरुपनि दर्जनौं विपन्न परिवारका विद्यार्थीहरु टाढादेखि हिँडेर पढ्न आउँछन् । अधिकांश विद्यार्थीका अभिभावकहरु आफ्ना छोराछोरीहरुलाई कापी कलम, पोशाक, झोला किनिदिने अवस्थामा छैनन् ।
प्रधानाध्यापक रिता पोख्रेलले यहाँ गरिब, असहायका छोराछोरी पढ्न आउने बताउँछिन् । ‘कमजोर भौतिक पूर्वाधार, शिक्षक अभाव आदि कारणले विद्यार्थी आइपुग्दैनन्’, उनले भनिन्, ‘त्यही भएर यो विद्यालय अघि बढ्न सकेको छैन ।
यही धरानभित्रका कतिपय सरकारी विद्यालयमा करोडौं बजेट पारेर सुविधासम्पन्न भौतिक पूर्वाधार बन्दै गएका छन् र शैक्षिक गुणस्तर पनि बढ्दो छ । तर जनता प्रावि राज्यबाट हेपिएको छ । भौतिक पूर्वाधार कमजोर भएको हुनाले विद्यार्थी संख्या लगातार घट्दो रहेको प्रधानाध्यापक पोख्रेल बताउँछिन् । राज्यले भौतिक पूर्वाधार साथै शिक्षक थप्दै विद्यालयलाई अघि बढाउन जाँगर चलाए विद्यार्थी बढ्ने उनले बताइन् । ‘राज्यले अब सहयोग गर्न ढिला गर्नुहुन्नँ’, उनले भनिन् ।
अझ भन्ने हो भने शिक्षक अभावले कक्षा–४ र ५ मा एउटै कोठामा अध्ययन अध्यापन हुने गरेको छ । विद्यालयमा हाल ५ जना शिक्षकले काम चलाउनुपरेको उनले बताइन् । तस्वीरः तिर्थ कार्की

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP