
धरानः उदयपुरमा कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ जाँदै गरेको बा२५च ७८१९ नम्बरको कार मङ्गलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
दुर्घटनाका घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका–५ चाँदनीचोकका ३४ वर्षीय देवेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल रिफर गरिएको छ । घाइतेहरुमा मोरङ विराटनगर महानगरपालिका–५ चाँदनीचोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिए ।
दुर्घटना हुनेबित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शवगृहमा राखिएको छ ।