
बिर्तामोडः दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
केटी पक्षलाई दबाब दिएर दाइजोमा मोटरसाइकल माग्ने झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरीलाई प्रहरीले केटीको घरबाटै पक्राउ गरेको हो । मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीसँग विवाह गर्दा चौधरीले मोटरसाइकल दाइजो दिनुपर्ने भन्दै दबाब दिएका थिए ।
मोटरसाइकल नदिए उठेर हिँड्छु भन्दै चौधरीले मण्डपमै विवाद गरेपछि बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले चौधरीलाई मण्डबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
‘बेहुलाले मोटरसाइकल नदिए बेहुली छाडेर हिँँड्छु भनेपछि केटीपक्षले प्रहरीलाई खबर गरे,’ डीएसपी पाठकले भने, ‘तत्कालै पुगेको प्रहरीले बेहुला चौधरीलाई मण्डपबाटै पक्राउ गरेको हो । उनलाई हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।’
केही समयअघि टिकटकमा भेट भएपछि उनीहरुबीच प्रेम झाँगिएको थियो । टिकटकमा भेट भएपछि उनीहरूको माया बढ्दै गएपछि विवाह गर्ने भन्दै लागिपरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चौधरीमाथि मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ । उनीमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको कसुर प्रमाणित भए तीन वर्षसम्म कैद सजाय हुने प्रहरीको भनाइ छ ।