
मोरङः संविधान र कानुनले दण्डनीय बनाएपनि अन्तर समुदाय र दलित र गैर दलितबीचको विवाहलाई समाजले अझै पूर्णरुपमा पचाउन सकेको छैन । अझैपनि अन्तरसमुदाय र अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार गर्नेदेखि विभिन्न बहानामा छुटाउने गरिएको छ । तर मोरङका मधेशी समुदायको गैरदलित युवा र पहाडी दलित समुदायकी युवतीको परिवारकै सहमतीमा झयाइँ झयाइँ बाजा बजाएर धार्मिक रितिअनुसार भव्यरुपमा मागी विवाह भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका २ सुगा बजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ वर्षीय वीरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ वर्षीया सम्झना दर्नालको झयाइँ झयाइँ बाजा बनाएर धार्मिक परम्पराअनुसार भव्यरुपमा मागी विवाह सम्पन्न भएको हो ।
बेहुला र बेहुली दुवै परिवारको सहमतीमा पण्डितले जुराएको साइतअनुसार बुधबार बैशाख २१ गते वीरेन्द्र र सम्झनाको विवाह लगन तय भएको थियो । यसैले बुधबार बेहुला वीरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्य अनि गाउँले र अतिथिहरु ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउँदै पुगेका थिए । आधुनिक डिजे बाजागाजासहित नाच्दै गाउँदै आएका जन्तीलाई सम्झनाका बुबाआमा आफन्त र गाउँलेहरुले पनि हर्षोल्लाससहित रितपूर्वक भव्य स्वागत गरेका थिए ।
दुवैको हिन्दू वैवाहिक विधिअनुसार जग्गेमा पण्डितले विवाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला वीरेन्द्र र उनका आफन्तहरुले हर्षोल्लाससहित सिँगारपटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई ल्याएर हर्षोल्लाससहित रितपूर्वक घर भित्रयाएका थिए । बेहुली घर भित्रयाएका वीरेन्द्रले बिहीवार दिउँसो आफना साथीभाइ र आफन्त र शुभच्छुकहरुलाई प्रितिभोज पनि आयोजना गरेका थिए । र्
हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमती गराएर केही वर्षदेखिको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौ’, बेहुला वीरेन्द्रले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दलित र गैरदलित भनेर जातभातको कुरा गर्नु लाजमर्दो कुरा हो भन्दै आफूहरुले जेठा छोरोको समाजिक अन्र्तघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातीय विवाह धुमधामले गराएको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातीय भएपनि धुमधामले विवाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफूहरु हर्षित भएको बताए । बेहुला वीरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । बेहुली सम्झनाचाहिँ स्नातक तह अन्तिम वर्षमा अध्यनरत छिन् ।