जस्तै नेता आएपनि उही ड्याङका मूला !


  • हाम्रो कोशी आवाज डटकम
  • २०७९ वैशाख ११

हामीले अटो शोरुममा गएर गाडी किन्छौं तर, त्यो गाडी चलाउन सक्षम चालक भएन भने जतिबेला पनि दुर्घटनामा पर्न सक्छ । यो उदाहरण पनि ठ्याक्कै हाम्रो मुलुकमा लागू भइरहेको जस्तो भान भइरहेको छ । जसरी गाडी चलाउनलाई ड्राइभर राखिएको छ, देश चलाउनलाई नेता छन् । ड्राइभर गतिलो भयो भने उसले यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुरयाउँछन् । नेता गतिलो भयो भने देशको पुरै रुप नै फेरिन्छ । तर, नेताहरु कामचोर, भ्रष्टाचारी र घुसखोरी भएको देशका जनताले जति दुःख सायदै अरु कसैले खेप्नुपर्छ होला ।
अरु मुलुकलाई र नेपाललाई तुलना गरौं । नेपाल सबैभन्दा पुरानो मुलुक भएपनि यहाँको स्थिति निकै नै कहालीलाग्दो छ । तर, अरु मुलुकका नेताहरुले देशलाई सबै स्रोत–साधनका समृद्ध भएर देखाए । हाम्रोभन्दा ढिलो पहिचान पाएका मुलुकहरु आज कहाँबाट कहाँ पुगिसके । यात्रुलाई सुरक्षित यात्रा गराउन, राम्रो बोलीबचन गर्नु र चढ्दा ओराल्दा सहज बनाउनु सहचालकको पनि जिम्मेवारी हो । तर, हाम्रो देशको नेतासँग खलासी बन्न सक्ने क्षमता पनि छैन । भाषण दिइरहेको बेला गालीगलौज गर्ने, गुण्डागर्दी देखाउने र अरुलाई बेइज्जत गरेर आफूलाई माथि देखाउने खोज्ने उनीहरुको आनीबानी जस्तै भइसकेको छ । अरुलाई गाली गर्दा आफू ठूलो देखिने सोचाइ राजनीतिक दलका नेताहरुमा देखिन्छ । कतिखेर कुन शब्दको प्रयोग गर्नुपर्छ यिनीहरुलाई थाहा छैन ।
यिनीहरुलाई आउने दुईटा कुराः जनता ढाँट्न, भ्रष्टाचार गर्न । यस्ता राजनीतिक दलबाट मुलुकमा विकास हुन्छ भन्ने जनतालाई विश्वास छैन । देशले फड्को मार्ला, महङ्गी नियन्त्रणमा आउला भन्ने पनि जनतालाई छैन । साथै, विदेशीको ऋणमा दलदलबाट नेपालले छुटकारा पाउलान् भनेर नसोच्नु नै बेस होला । हाम्रो मुलुकमा भएका नेताहरु कुनै भारत, कुनै अमेरिका र कुनै चीनको दलाली हुन् । जसरी यातायात कार्यालयमा लेखनदासहरु दलाल गर्न बसेका हुन्छन् । यिनीहरु नेपाल बेच्नका लागि दलाल गर्न बसेका हुन् । जनताले यिनीहरुलाई नेता भन्दैन । आफ्नै पार्टीका कार्यकर्ताले मात्र नेताको रुपबाट हेरेका छन् । कुनै कार्यक्रममा नेता आएर भाषण गप्यो भने जनताले एउटै कुरा भन्छन्– फटाहाले भाषण दिइरहेको छ ।
किनकि नेपालीहरु राजनीतिक दलसँग वाकदिक्क भइसकेका छन् । हालको देशका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचचोटी प्रधानमन्त्री भइसकेको व्यक्ति हुन् । पाँचचोटी प्रधानमन्त्री हुँदासमेत उनले एउटा सिन्को पनि भाँचेनन् । बरु, अर्बौको व्यक्तिगत सम्पत्ति जोडे । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुईचोटी प्रधानमन्त्री भए । उनीबाट पनि केही काम हुन सकेन । पहिलोचोटि प्रधानमन्त्री हुँदा पशुपतिको पुजारी र आर्मीको एउटा कर्मचारीलाई चलाएर पद नै त्यागेर भाग्नुपरयो । एमालेका अध्यक्ष केपी ओली तीनचोटी प्रधानमन्त्री भए । तीन वर्षको उनको उपलब्धिः आफ्नो कार्यकर्तालाई ठेक्कापट्टा दिने । नातागोतालाई राजदूत बनाउने ।
वालुवाटारमा नेपालको नक्सा अंकित केक काटेर खाने जनताले तिरेको करबाट भोज लगाउने । अघिल्लो दिन राप्रपा भएको कोमल वलीलाई भोलिपल्ट एमालेको मनोनित सांसद् बनाउने पनि केपी नै हुन् । जनताले पाँच वर्ष सत्ता चला भनेर दिँदा पनि नसकेर दुईचोटि संसद विघटन गर्ने । जनता नदेख्ने तर गोकुल बाँस्कोटा र महेश बस्नेत मात्र चिन्ने । आफ्नै पार्टीका सांसद्लाई समेत नचिन्ने । झलनाथ खनाल पनि एकचोटी प्रधानमन्त्री भए । तर, विकासको एउटा ढुंगोसमेत फुटाउन सकेनन् । केही काम नै नगरी नौ महिनाको अवधि समाप्त पारे । २०६४ सालमा दुईवटा क्षेत्रबाट चुनाव हारेको माधव नेपाललाई पुष्पकमल दाहालले प्रधानमन्त्री बनाइदिए । तैपनि, उनले दिन कटाउने र माना पचाउनेबाहेक अरु केही काम गरेनन् । आफ्नालाई मन्त्री बनाउने र वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए ।
जब बाबुराम भट्टराई प्रधानमन्त्री भए तब जनताले धेरै आश गरेका थिए । मुलुकमा विकासको मुल फुट्छ, बेरोजगारी हट्छ भन्नेमा सबैजना विश्वस्त थिए । तर, भट्टराईले पनि माथिकै काममा निरन्तरता दिए । आफू भ्रष्टाचार नगर्ने भन्ने तर श्रीमती हिसिला यमीले जे भनेपनि मान्ने । भट्टराईले पनि वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए । यता, थानकोटको मातातिर्थको हजारौं रोपनी सरकारी जग्गा व्यक्तिलाई दिए । स्वर्गीय प्रधानमन्त्री सुशील कोइराला एउटा त्यागी नेता हुन् । आफू प्रधानमन्त्री भएको बेला उनले संविधान बनाए । तर, कांग्रेसका नेताहरुले उनलाई भुङ्ग्रोमा राखेर आगो फुके । संविधान बनाउने सुशील कोइराला तर त्यसको फाइदा उठाउनेचाहिँ कांग्रेस । आजको दिनमा कुनै कांग्रेसका नेताले सुशील कोइरालाले संविधान बनाएको भन्छन् ?
आफू ओझेलमा पर्ने हो कि भन्ने डरले कसैले पनि सो कुरा कोट्याउन चाहँदैनन् । हिजो कोइरालाले त्याग नगरेको भए सायद संविधान बन्दैनथ्यो होला । राजनीतिक दलहरुले सत्ता चलाउन नसकाउन, चुनाव गराउन नसकेर २०७० सालमा प्रधान न्यायाधीश खेलनाश रेग्मीलाई प्रधानमन्त्री बनेको कुरा लुकाएर लुक्दैन । प्रधान न्यायाधीश रेग्मीले चुनाव गराएर पछि राजनीतिक दललाई नै सत्ता हस्तान्तरण गरेका थिए । कमल थापा, उपेन्द्र यादव, महेन्थ ठाकुर, राजेन्द्र महतो अवसरवादी नेता हुन् । सत्ता बाहिर बस्दा जनताको नाम लिने । मन्त्री पद पाउनका लागि योजना बनाउने । तर, सत्तामा पुग्ने बित्तिकै जनता र राष्ट्रको नारा बेचिदिने । यी नेताको हातमा सरकार चलाउन दिने हो भने देश बेचेर नखालान् भन्न सकिँदैन । किनकि यिनीहरु स्वार्थी नेता हुन् । राष्ट्र र जनतासँग होइन् सम्पत्तिसँग यिनीहरुलाई मतलब छ ।
राजेन्द्र लिङदेनबाट जनताले केही अपेक्षा राखेका थिए । तर, उनी पनि माथि नै नेताचाहि निस्किए । अहिलेसम्म मन्त्री पद नपाएका लिङदेनलाई मन्त्री हुन साह्रै रहर लागेको कुरा उनको घोषणापत्रले देखाएको छ । अरु पार्टीका नेताझै उनले पनि सस्तो घोषणापत्र सार्वजनिक गरेका छन् । कर छुट गर्छु, सुत्केरीलाई मासिक भत्ता दिन्छु जस्ता उही पुराना शीर्षक उनको घोषणापत्रमा उल्लेख छ । बरु, विदेशीको ऋण लिन्न, खेतीयोग्य जमिन बचाउँछु, अरु देशको नाङ्गो हस्तक्षेप रोक्छु भनेको भए जनताले पत्याउँथे कि । कर नै नलिइकन सुत्केरीलाई भत्ताचाहिँ विदेशीबाट ऋण लिएर खुवाउने । अलिकति सोचविचार गरेर बोल्नुपर्दैन । जनताले पत्याउने घोषणापत्र त सार्वजनिक गर्नुपर्छ । २०७२ सालमा संविधान बन्दा भारतले नेपालमा नाकाबन्दी लगायो । आफ्नो स्वार्थ पूरा नभएपछि भारतले नेपालमा सबै सामानमा निर्यातमा रोकतोक लगाएको थिए ।
भारतको विरोध गरेर २०७४ सालको चुनावमा केपीको पार्टीले जित्यो । त्यतिखेर केपीले जित हासिल गर्न मनमा लागेका कुराहरु लेखेर घोषणापत्र सार्वजनिक गरेका अझैपनि सबैलाई स्मरण नै छ । सिलिण्डर विस्थापन गरेर घरघरमा ग्याँसको पाइप जडान गर्ने । पानी जहाज र रेल चलाउने । बुढाबुढीलाई मासिक पाँच हजार भत्ता दिने । बाटोमा मागेर खानेको अभिभावक बन्ने । टुहुरा बालबालिकालाई शिक्षादीक्षा प्रदान गर्ने । शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीलाई गरिखानका निम्ति ऋण प्रदान गर्ने । झुठा आश्वासन दिएको एमालेले स्थानीय र राष्ट्रिय सभाको चुनावमा जित हासिल गरयो । हिजो एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरयो । सो घोषणापत्रमा पनि जनतालाई भ्रममा पार्ने कुराबाहेक अरु केही लेखिएको छैन । जनताको नारा उल्लेख गरेर घोषणापत्र सार्वजनिक गरिएको छ । केपीले नै यातायात समिति खारेज गरे । तर, समितिको नाममा भएको चलअचल सम्पत्ति फुक्का गर्ने पनि उनी नै हुन् ।
४१ महिना प्रधानमन्त्री हुँदापनि उनले हरियो र कालो प्लेटको ट्याक्सीको नयाँ दर्ता खोलेनन् । तीन दशकदेखि दर्ता बन्द भएको ट्याक्सीको नयाँ दर्ता खोल्न कुनै चासो देखाएनन् । बुढाबुढीलाई पाँच हजार भत्ता पुरयाउनु भनेको त्यो पनि घोषणापत्रमै सीमित बन्यो । स्थानीय सरकारमा आएपछि एमालेका वडाध्यक्ष र मेयरले सबैभन्दा धेरै भ्रष्टाचार गरेका छन् । आगामी वैशाख ३० गते हुने चुनावमा पार्टीले यिनलाई फेरिपनि टिकट देलान् । तर, जनताले यिनीहरुलाई त नङगाइदिन्छन् । अहिलेका मेयर र वडाध्यक्षलाई जनताले मत हाल्न हिचकिचाइरहेका छन् । स्थानीय सरकारमा आएपछि तलबभत्ता खाने र सरकारी गाडी चढ्नेबाहेक अरु केही काम यिनीहरुद्धारा भएको छैन । अबको चुनावमा केपीको पार्टीले दुई तीन सिट पनि पाउँदैन । पछिल्लो समय केपीले देखाएको फुर्ती र नचाहिँदो दाबीको जवाफ फर्काउन जनताहरु तम्तयार भइसकेका छन् । एमालेबाट आएका जनप्रतिनिधिहरुको काम गर्ने क्षमता जनताले देखिसकेका छन् । केपीको खोक्रो भाषणले अब केही जादु देखाउनेवाला छैन् । अन्य राजनीतिक दल पनि उही ड्याङका मुला हुन् ।
अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP