आँखैमा झलझली त्यो राजारानी


  • दीपेश राई (इशारा)
  • २०७९ वैशाख १

मोबाइलको घडीमा बिहानको ४ बजेको छ । अरु दिनभन्दा आज केही छिटो नै निन्द्राले साथ छाड्यो । अलार्मको घण्टीमा ब्युँझिने बानी परेको आज अलार्म बज्नुअघि नै ब्युँउझिएछु । छिटो उठेको कारणले होला अहिले मुखबाट हाइहाइको ध्वनी निस्किरहेको छ । शरीर अझै ओछ्यानमै ढल्किन खोजिरहेको छ तर मष्तिष्क जिद्दी गर्दै ज्यानलाई नसुत भनेर निर्देशन दिइरहेको छ । आखिर मष्तिष्कको जिद्दीपनले अल्छी ज्यानलाई उठाइछाड्यो । कोठाको ढोका खोले बाहिर चकमन्न अँध्यारो नै छ । फेरि मोबाइलको घडी हेर्छु समय अझै पर्याप्त रहेछ । आज कलेज १० बजे पुगेर त्यहाँबाट आम सञ्चार तथा पत्रकारिता विषयको प्रयोगात्मक अभ्यासअन्तर्गतको अध्ययन भ्रमणको लागि हामी ११ बजे लेटाङको राजारानी जाने अघिल्लो दिन नै तय भइसकेको थियो । त्यसैको उत्सुकताले राति त्यत्ति निन्द्रा पनि परेन र बिहान निन्द्राले चाँडै नै छाड्यो ।
म सँग समय पर्याप्त रहेकोले बाहिर बसेर टोलाइरहनुबाहेक केही विकल्प थिएन । तर धेरैबेर टोल्याउन मनले इच्छा गरेन । फेरि कोठाभित्र पसेलगत्तै भ्रमणको तयारीमा जुटें । आजको दिन राजारानीमै रात कटाउनुपर्ने भएको हुँदा मैले आवश्यक सामग्री केही फेर्ने लुगा, टुथ ब्रस, मोबाइल फोनको चार्जर रिपोर्टिङका लागि डायरी, कलम झोलामा तयारीका साथ अगावै राखे । त्यत्तिकैमा अर्को छुटाउनै नहुने कलेजको परिचय कार्ड झोलामा लगाउन झन्नै भुलेछु । धन्न सम्झिन पाएँ । त्यसलाई पनि झोलाको अघिल्लो पङ्क्तिको गोजीमा राखें । अब लगभग आवश्यक सबै सामग्रीहरु झोलामा मैले प्याक गरिसके । बाहिर निस्किए । त्यसबेला बिस्तारै सूर्यले उज्यालो प्रकाशको प्रादुर्भाव गर्दै रातलाई बिदाई गरी दिनलाई स्वागत गर्ने जमर्को गरिरहेको थियो । अब मेरो उत्सुकताको घडी त्यत्ति टाढा नरहेको जस्तो मलाई आभाष हुन थाल्यो । समय बित्दै गयो । लगभग जाने समय पनि हुन लागेछ । आमाले भान्सामा खाना तयारी गर्नुभएको रहेछ हतार हतार भान्सामा गएँ । खानपान गरेर कलेज जाने तयारी गरें । लुगाफाटा चटक्क लगाएर तयार भए । तयारी गरेको झोला काँधमा भिरें । अब कतै नअल्मली कक्षा दौतरी नरेन्द्रको घरतर्फ लागें । मेरो घरबाट करिब १० मिनेटको अन्तरालमा नरेन्द्रको घर पुगिन्छ । नरेन्द्र र म कलेजसँगै जाने अघिल्लोदिन सल्लाह भएकोले म उसकै घरतर्फ कतै न अल्मलिकन आफ्नो पाइलाको चाललाई बढाए १० मिनेट जति हिँडेर अन्तत नरेन्द्रको घरमा पुगें ।

भ्रणताका विधार्थिलाई समुह समुहमा विभाजन गरिएको थियो । समूह ३ को नेतृत्व गर्ने जिम्मा साथै भ्रमणको सम्पूर्ण व्यवस्थापनको जिम्मा म लगायतका उपार्जुन चाम्लिङ, ललिता लिम्बू, पूजा कार्की र अनिषा राईलाई सुम्पिएको हुनाले म कलेज चाँडै नै पुगेर व्यवस्थापन मिलाउनुपर्ने थियो । म हतारमा भएकोले गेट बाहिरैबाट नरेन नरेन भनेर चर्को स्वरमा बोलाए । नरेन्द्र बोल्दै बोलेन फेरि मैले आवाज लगाए । नरेन्द्र बोल्दै बोलेन भित्रबाट नरेन्द्रको भाउजु निस्कनुभयो नरेन्द्र त छैन त भाइ भन्नुभयो । कता गए त नरेन्द्र मैले सोधे । भाउजुले त्यतै नजिकै मिलन भतिजको घरतिर गएको बताउनुभयो । त्यसपछि म त्यसैतर्फ लागे । मिलन भतिजको घर पुग्नै मात्र के लागेको थिए । नरेन्द्रलाई त्यही मास्तिर रहेको पसलमा पसले साउजीसँग गफ लडाइरहेको रहेछ । बिस्तारै उसले नदेख्ने गरी छेऊमा गएर मैले भने केटा के हो नजाने भ्रमणमा अबेर भयो त । साउजीसँग बोल्दै गरेको नरेन्द्र जाने हो नि मिलन भतिजको बाट भर्खर आउँदैछु उसले भने ल जाउन त छिटो मलाई त अबेर भयो । नरेन्द्र तयारी अवस्थामा नरहेकोले मैले जिस्किँदै कि म जाँदै गरौ त भने । मलाई व्यवस्थापनको जिम्मा पनि छ । ढिलो हुन्छ । अब आइसकेपछि सँगै जाउ न के हतार गरेको उसले भने ल न त छिटो घर हिँडेर तयार हुनु भन्दै हामी दुवै नरेन्द्रको घरतिर लाग्यौं ।
घर पुग्यो । नरेन्द्रले पनि आफ्नो तयारी गरे । मैले झोला बोकेको हुनाले नरेन्द्रले आफ्नो सामानहरु झोलामा बोकिदिन भने । लुगाफाटा उसका कलम डायरीहरु झोलाभित्र राखिदिए । झोलालाई फेरि काधमा भिँडे ।
किशोर सरले भ्रमण जानुपूर्व नै गएर नाचगान गर्नपर्छ है तयारी गर्नु भन्नु भएकोले मैले नरेन्द्रलाई चाहिँ गितार बोक्न लगाए । गितारलाई नरेन्द्रले काँधमा भिडे । त्यत्तिकैमा जाने समय पनि हुन लागेछ । १० बजे कलेजमा पुग्नुपर्ने यही १० बज्न लागिसकेको थियो । हामी सरासर कलेजतर्फ जाने निधो गरयौं ।
१० बजेर ३५ मिनेटमा कलेजमा पुगेछौं । हामी पुग्नुपूर्व नै बसमा बसेर विद्यार्थीहरु जानका लागि तम्तयार थिए । म हतार हतार गएर अघिल्लो दिन कलेज अगाडिको कम्प्युटर सेन्टरमा बनाउन दिएको ब्यानर लिएर आएँ ।

क्याम्पसअगाडि साँघुरो बाटो भएकोले अन्य सवारी आवतजावतमा अवरोध हुने भएकोले क्याम्पस गेटमा राखिएको हाम्रो बसलाई क्याम्पसको भित्रपट्टिको ग्राउण्डमा गुरुजीले लैजान प्रयत्न गर्नुभयो तर गेटको मुखैमा कारहरु पार्क गरिएको हुनाले हाम्रो गाडीलाई भित्र लान सम्भव भएन । गाडी गेटको मुखैमा अल्झियो । त्यसले गर्दा विद्यार्थीहरुलाई आवतजावतमा समस्या भइरहेको थियो । छिटोछिटो मैले गुरुजीलाई गाडी अगाडि ब्यानरलाई टाङ्ग्न लगाए । विद्यार्थीहरुलाई आवतजावत गर्ने समस्या भइरहेकोले गाडीलाई त्यस ठाउँबाट निकालेर पूर्वतर्फको क्याम्प्पस गेटनजिकै गाडीलाई लैजान गुरुजीलाई आग्रह गरे । उसैगरी गुरुजीले गाडीलाई पायक ठाउँमा लगेर राखे त्यसबेलासम्म केही विद्यार्थीहरु आउन बाँकी नै रहेको थियो । हामी त्यहाँबाट ११ बजेको समय हिँड्ने योजना बनाएका थियौं तर केही विद्यार्थी साथीहरु आउन समय लागिरहेकोले उनीहरुलाई कुर्दा हाम्रो सममय निक्कै बितिसकेको थियो । लगभग त्यही १२ बज्न लागिसकेको थियो सबै हतार गरिरहेका थिए । ढिलो हुनेमा मेरै समूहका दिलीप राई पनि हुनुहुन्थ्यो मैले उसलाई फोन गरे दिलीप कता हो ढिलो भइसक्यो सबै हतारिँदैछ । मैले भने उनीहरु अघिल्लो दिन धनकुटा निस्केका रहेछन् आउँदैछौ हामी केही समय पर्खिनु न भन्नुभयो । ल हामी क्याम्पसबाट भानुचौकमा निस्किँदै गर्छौ त्यतै आउनु ल हामी त्यहाँ पर्खिन्छौ मैले भनेपछि हामी त्यहाँबाट सरासर भानुचौकतर्फ लाग्यौं । मलाई त्यहाँको जिम्मा सुम्पेर किशोर सर आफ्नै मोटरसाइकलमा अगाडि गइसक्नु भएको थियो । हामी कलेजबाट भानुचौक हुँदै भोटेपुल निस्कियौं । आउन बाँकी रहेको दिलीप, विज्ञान र आननलाई त्यही पर्खिने निधो गर्यौं । त्यहाँ पनि उनीहरुलाई निकै पर्खियौं । म लगायत केही साथीहरु गाडीबाट ओर्लिएर बाहिर आउन बाँकी साथीहरुको बाटो हेर्दै बसेका थियौं । भित्र अत्यन्तै गर्मी भएकोले सबै साथीहरु भित्र उकुसमुकुस हुँदै बसेका थिए । त्यसैमाथि एकदुई साथीहरुको ढिलो गराइले भित्र बस्ने साथीहरु रिसाएका थिए । त्यत्तिकैमा केही समयपश्चात् दिलीप र विज्ञान आइपुगे । त्यसबेला समयले निकै डाँडा काटिसकेको थियो । त्यसपछि हामी त्यहाँबाट सरासर गन्तव्यतर्फ बाटो ततायौं । गाडीभित्र प्रचण्ड गर्मीको बावजुद पनि विद्यार्थीहरु नाचगान गर्दै रमाइलो गरिरहेका थिए । हामीभन्दा सिनियर ब्याचका हाम्रो भ्रमणका मेन्टर सञ्जीता धमला, नमिता राई निक्कै रमाइला रहेछन् । गाडीको यात्राको क्रममा उहाँहरुले नाच्दै गाउँदै मनोरञ्जन गराउनुभयो । कोही साथीहरुलाई गाडीको यात्राले साह्रो परिरहेको थियो ।
जाने क्रममा केही समयपश्चात् बेलबारी पुगियो । लेटाङका केही क्षेत्रहरुमा महिला प्रहरी मारिएको घटनाले कर्फ्यु जारि गरिएको थियो । त्यसैले हामी लेटाङ बजार नपुगी बेलबारीबाटै राजारानी जाने निधो गरियो । बेलबारीमा केही समय अल्झियौं । त्यसपछि हामी राजारानीतर्फ नै लाग्यौं । करिब ४५ मिनेटको अन्तरालमा राजारानी पुगेछौं । हामीलाई धरानदेखि राजारानी आइपुग्न करिब दुईघण्टा बढी समय लागेको थियो । हामीलाई खान, बस्नको लागि राजारानीको होटेल दरबारइनमा सरले व्यवस्था मिलाउनुभएको रहेछ । हामीलाई गाडीले त्यहीँ पुरयायो । विद्यार्थीहरु रमाउँदै गाडीबाट ओर्लिए । प्रयोगात्मक अभ्यासको लागि एउटा समूहमा ७–७ जना गरी समूह तयार गरिएको थियो । सरले आ–आफ्नो टिममा छुट्टिन निर्देशन दिनुभयो । टिमका मेन्टरसँग सुझाव सल्लाह लिन सरले अनुरोध गर्नुभयो । हामी आफ्नो टिम टिम मेन्टर सँग चिनाजान गरियो । त्यसपछि होटल दरबारइनतर्फ लाग्यौं । त्यहाँ हाम्रो भव्य स्वागत भयो । होटल निक्कै नै आकर्षक रहेछ । सजावटले झिलिमिली थियो । होटेल बाहिरबाट हेर्नुभन्दा भित्रबाट नियाल्न पाउँदा छुटै आनन्द लाग्ने होटेल रहेछ । होटेललाई भर्खरै सञ्चालनमा ल्याइएको रहेछ । बाहिरबाट आउनेलाई खान, बस्नको सुविधा होटेलले दिएको रहेछ । साथीहरु त्यहाँ पुग्ने वित्तिकै मोबाइलका क्यामेरा तेस्याउँदै तस्वीर लिन थाले । हुन पनि होटलको दृश्य नै त्यस्तो मनोरम थियो जसले विद्यार्थीहरुलाई फोटोमा कैद गर्नलाई लोभ्यायो । गाडीको लामो यात्राले सबै थकित मुद्रामा थिए ।
केही समयपछि हामीलाई खाजा उपलब्ध गराइयो । त्यसपछि हामी ऐतिहासिक राजारानी पोखरी राजारानी मन्दिरको अवलोकनका लागि सबै विद्यार्थी निस्कियौं । होटेल सञ्चालक अर्पण राई राजारानी वन सरक्षक समिति अध्यक्ष अक्कल मगरले हामीलाई त्यहाँको बारेमा जानकारी दिनुभयो । सबैभन्दा पहिला राजापोखरीको अवलोकनका लागि उहाँहरुले हामीलाई लैजानुभयो । त्यसपश्चात् पश्चिमपट्टि रहेको रानी पोखरी, राजारानी मन्दिरतर्फ हामीलाई लगियो । हामीलाई गाइड गरेर आउनुभएका अर्पण राईलाई विद्यार्थीहरुले जिज्ञासा भएका कुराहरु सोधिरहेका थिए ।
उहाँले राजारानी पोखरी बीचैमा रहेको राजारानी मन्दिरको विषयमा पनि महत्वपूर्ण विषयहरु सुनाउनुभयो । राजारानी पोखरी क्षेत्र छेउछाऊ परापूर्वकालमा धिमालहरुको बसोबास रहेको थियो । जसलाई हाल धिमालहरुको उदगमस्थलको रुपमा पनि चिनिन्छ । अझ त्यहाँको रानीपोखरीको बारेमा ऐतिहासिक किंवदन्ती समेत रहेछ जहाँ परापूर्वकालमै रानी सति गएकी थिइन् ।

हामीले त्यस्तै आवश्यक कुराहरुको टिपोट गरयौं । त्यहाँबाट एकटोली धिमाल समुदायहरुको ग्रामथान रहेको तर्फ अवलोकनका लागि गए । जहाँ पूर्वको झापा र मोरङका आदिवासी धिमालहरुले अढाइ महिनासम्म लगाउने ढङढङे मेला हरेक वर्षको वैशाख २ गते पूजाआजा गरेपछि यो मेलाको प्रारम्भ हुने गरेको रहेछ ।
होटेलदेखि राजारानी पोखरीसम्म आउनलाई लामो सिँढीको बाटो हुँदै झर्नुपर्ने थियो । विराट दाइलाई खुट्टाको समस्याले हिँड्न अलिक असहज भइरहेको थियो । लगभग म पनि उस्तै परेछु । अघिल्लो दिनको फुटबल खेलाइमा लागेको चोटले मेरो पनि दायाँ खुट्टाले त्यत्ति साहारा दिईरहेको थिएन । हामी विराट गौतम दाई, मौसमी कार्की र सञ्जीता धमला त्यहीँ मन्दिर छेऊको फलैचामा थकाइ मार्न बस्यौं । मिठो हावाको अनुभूति गर्दै हामी त्यहाँ बसेर निकैबेर गफगाफमा भुलियौं । विराट दाइ हामीभन्दा पत्रकारिताको दिग्गज ब्यक्ति हुनुहुन्थ्यो । उहाँसँग त्यति समय व्यत्तित गर्दा थुप्रै कुराहरु बुझ्न पाइयो ।
त्यत्तिकैमा उहाँले मलाई साँचो नै हो कि ठट्टा गरेर हो दिपेश तिम्रो गर्लफ्रेण्ड छ कि छैन भनेर मलाई प्रश्न गर्नुभयो । मैले झट्ट जवाफ दिएँ–छैन नि दाई अब बनाउनुपर्ने प्रक्रियामा छ भन्दै मैले पनि ठट्यौली तरिकाले प्रश्नको जवाफ दिएँ । हुन पनि मेरो गर्लफ्रेन्ड नभएकै हो ठट्यौली पारामा मैले वास्तविक कुरै गरेको थिए रमाइलो गफगाफमा धेरै समय भुलिएछौं ।
त्यत्तिकैमा पारीबाट किशोर सरले आवाज लगाउनुभयो । सुरुमा विराट दाइलाई बोलाउँदै हुनुहुन्थ्यो– विराट ल आउ जानुपर्छ । अवलोकन सकेर उहाँहरु सबै फर्कनु हुँदै रहेछ । त्यसपछि हामी पनि बसेको ठाउँदेखि निस्कियौं । फेरि त्यहीँ सिढीको बाटो हुँदै गफिँदै हामी होटेलतर्फ अगाडि बढ्यौं । होटेल पुगियो । साथीहरु अवलोकन सकेर हामीभन्दा अघि नै पुगिसकेका थिए । लामो हिँडाइले होला सबै थकित देखिन्थे । कोही बस्ने कुर्सीमा कोही सोफाहरुमा बसेर विश्राम लिइरहेका थिए । केहीछिनमा होटेलबाट दिदीहरुले दूधको मिठो चिया बनाएर सबै विद्यार्थीहरुलाई बाँड्नुभयो । हामीले पनि लियौं । चियाको चुस्कीसँगै हामी बात पनि मारिरहेका थियौं । केही साथीहरु हामी नगएको ठाउँतिर यो यो यस्तो छ भनेर सुनाउनु पनि भयो । चिया पिइसकेपछि सबै साथीहरु आ–आफ्नै धुनमा व्यस्त भए ।
विस्तारै रात छिप्पिँदै गइरहेको थियो । करिब ८ बजेको समयतिर हाम्रो खानपान भयो । खानपान सकिएपछि हामी स्थानीय मगर समुदायहरुको हुर्रा नाच हेर्न गयौं । जातीय पोशाकमा सजिएका महिला पुरुष, साना नानीहरु देशै रमाइलोको टुक्का लगाउँदै हुर्रा नाचिरहेका थिए । हुर्रा मादल, बाँसुरीको तालमा गोलबद्व भएर हात समाति एकै चालमा नाचिन्छ । हेर्दै छुट्टै आनन्द लाग्ने त्यो हुलमा हामी पनि हात समाउँदै हुर्रा नाच्नलाई प्रवेश गरयौं । हुरर्रा नाच्न त पसियो हुर्राको एउटै भाका टिप्न सकिनँ । हुन त यो भन्दा अगाडि पनि नाम्जेमा हुर्रा नाच नाचेको थिएँ । नाम्जेमा पनि मगर समुदायहरुको ठूलो उपस्थित रहेको छ । त्यही थोरबहुत हुर्राको चाल सिकेको थिए तर बिर्सिएछु । मेरो खुट्टाको चाल पटक्कै मिलिरहेको थिएन । मेरै कक्षाका साथी एलिसा मगर पनि त्यो हुलमा केही परतिर नाचिरहेकी थिइन् । उहाँलाई हुर्रा नाच मज्जाले नाँच्न आउँदोरहेछ । उहाँलाई म भएको तिर बोलाए । मैले उहाँलाई सिकाउन आग्रह गरे । उहाँले एक दुई गरेर खुट्टाको चाल सिकाउनुभयो । ५–६ पटकको टेकमा मैले खुट्टाको चाल जाने त्यसपछि अझै हुर्राको स्वाद मिठो हुन थाल्यो । नाच्दा धेरै मज्जा आयो हसिनपसिन भइयो । हुर्रा नाचिसकियो त्यसपछि किशोर सरको आफ्नो जादुमय आवाजमा हामीलाई गीत सुनाउनुभयो । सङ्गीतको तागत भनौ या किशोर सरको गायिकीको हुर्रा नाचेर थकित भएर बसेका हामी सबै एक्कासी नाच्न झुम्न थाल्यौं । किशोर सरले लगातार ३ गीतहरु प्रस्तुत गर्नुभयो । फुङलिङ बजारगायतका द्वन्द्वकालको क्रान्तिलाई स्मरण गराउने खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा जस्ता आफ्नो जनवादी गीत समेत सरले प्रस्तुत गर्नुभएको थियो ।
हामीले सरको गीतमा नाचेर भरपुर साथ दिएउ । त्यो क्षणमा सोचेभन्दा निक्कै नै रमाइलो भयो । किशोर सरको गीतमा रमाइलो नाचगान गरिसकेपछि हामी पुनः होटल दरबारइन फर्कियौं । जहाँ हाउजी खेल खेलाउने तय भएको रहेछ । हाम्रो कक्षाका मित्रहरु सन्देश र निरजले हाउजीको टिकट कटाइरहेका थिए । मैले पनि एक प्रति लिए हाउजी खेलियो । एकदमै रमाइलो भयो तर कुनै पुरस्कारको भागेदार भइएन ।

आखिर रमाइलो कै लागि त हो रमाइलोचाहिँ औधी नै भयो । हाउजी खेलिसक्दासम्म निक्कै रात छिप्पिसकेको थियो । अब बासको चाँजोपाँजो मिलाउनुपर्नेभयो । हामी धेरै संख्यामा भएकोले सबै होटेलमा रोकिन सम्भव थिएन । त्यसैले हामी सबैलाई समूह समूह बनाएर घर घरमा बासको लागि पठाउनु भयो । हामी केटाहरुलाई रानी पोखरी छेऊको टेण्टमा बस्ने ब्यवस्था मिलाइदिनुभएकोले हामी केटाहरु सबै त्यतैतर्फ लाग्यौं । त्यहाँ जम्मा ३ वटा टेण्ट रहेछ । हामी लगभग १९ जना जति थियौं । तीनवटा टेण्टमा हामी जसोतसो म्यानेज भएर सुत्नुपनेैभयो । सुत्नअघि साथीहरुले आगो बालेर नाचगान रमाइलो गरौ भन्नुभयो । साथीहरुले त्यहीँनजिकै आगो बाले । मैले गितार बोकेको थिए गितार निकाले रमाइला गीत गाउँदै एकछिन रमाइलो गरियो । त्यसपछि हामी सबै सुत्नलाई टेन्टमा पस्यौं । टेन्ट कम रहेकोले कुनैमा ६ जना कुनैमा ७ जना गरी हामीले म्यानेज गरेर सुतियो । हामी नरेन्द्र, विजय दाइ, मोहन, अशोक ५ जना एउटा टेन्टमा सुतियो । म निजय दाइ र अशोकको बीचमा सुतेको थिए । विजय दाइ र अशोकलाई राति घुर्ने बानी रहेछ । दुईजनाको बीचमा म परे राति निन्द्रा त्यत्ति परेन । बिहान छिटो नै उठेछु ६ बज्नुपूर्व नै उठियो । छिटो उठेको कारणले म रानी पोखरीको आसपास एकैछिन घुमेर आए । अरु साथीहरु पनि त्यत्तिबेलासम्म उठिसकेका थिए ।
त्यसपछि हामी सबै होटलतिर उकालो लाग्यौं । म अगाडि अगाडि थिएँ । केही साथीहरु पछाडि आउँदै थिए । जाँदै गर्दा साथीहरुले मेरो पाइन्टको पछाडि के कालो लागेछ भन्दै मलाई गिज्याउँदै थिए । मैले सुरुमा उनीहरुको कुरालाई वास्तै नगरी हिँडिरहे तर पछि मुन्टो फर्काएर हेरेको त वास्तवमै पाइन्टको पछाडिपट्टीको भागमा पुरै कालो के लागेको रहेछ । मैले सम्झिए हिजो राति आगो ताप्दै गीत गाएको समयमा साथीहरुले सेकुवा पोल्ने स्ट्याण्डमा मलाई बसाएका थिए र रातमा वास्तै गरिनँ त्यसैको पो कालो लागेको रहेछ । आफूलाई अष्पट लाग्न थाल्यो फेर्नका लागि अर्को पाइन्ट पनि मैले बोकेको थिइनँ ठीकै छ भनेर त्यत्तिकै सरासर हिँडे ।
बासबाट केही साथीहरु पनि आइसकेका रहेछन् । हामी धारामा गएर फ्रेस भयौं । बिहानीको चिया नास्ता गरियो । करिब १० बजेको समयमा खानपिन भयो । त्यसलगत्तै हामी स्थानीयसँग अन्तरक्रियाको लागि गाउँतिर निस्कियौं । आवश्यक सामग्री बटुलेर हामी फर्कियौं । त्यसपछाडि फेरि हामीलाई रमाइलोको लागि हाउजी खेल खेलाइयो । टिकट लिएर खेलियो फेरि उस्तै कुनै पुरस्कारको भागेदार बन्न सकिएन । जेहोस् रमाइलोचाहिँ भव्य भयो । हामी हाउजी खेल सकेर त्यहाँबाट धरान फर्किन निधो गरयौं । हाम्रो सेडुयल अनुसार राजारानीबाट १ बजे धरान फर्किनुपर्ने थियो तर हामीलाई फर्किन केही ढिलो भयो । लगभग २ बजेको थियो होला हामी त्यहाँबाट बिदा मागेर निस्कियौं । सबैजना गाडीमा चढ्यौं । फेरि फर्किँदा फर्किँदै आउँदा जसरी गाडीको यात्रामा धेरै नै रमाइलो गरियो । नाचगान गर्दै दोहोरी खेल्दै हामी फर्कियौं ।
नभन्दै २ घण्टापछिको यात्रापश्चात् हामी धरान आइपुग्यौं । त्यसबेला लगभग घडीले ४ बजाइसकेको थियो । भानुचौकसम्म हामीलाई गाडीले छाडेपछि विद्यार्थी आ–आफ्नै घरतर्फ लागेका थियौं । म, नरेन्द्र, विजय दाइ, मोहन र विवेक भाइ देशीलाइनतिर उखुको जुस पिउनलाई गयौं । धेरै गर्मी र थाकेको हुनाले पुदिना र नुनिलो नुनको मिश्रणमा उखुको जुस पिउँदा बेग्लै आनन्द भएको थियो । त्यहाँको बसाइदेखि हामि पनि दुइतिर छुट्टिनुपर्ने भयो । विजय दाइ र मोहन देउराली नजिकतिर बसाई भएकोले गर्दा उहाँहरु त्यहिदेखि छुट्टिए । म नरेन्द्र र विवेक भाइ रेल्वे जाने रिक्सामा सवार भयौं । विवेक भाइ रेल्वेदेखि छुट्टिए नरेन्द्र र मेरो घर केहीनजिक भएकोले घरतिर हामी सँगै । रातिको अनिन्द्राले अझै ज्यान ओछ्यानमा ढल्किन खोजिरहेको थियो । म घर पुग्नासाथ झोलालाई टेबलमा तेस्र्याएर आफुूे लगाएको लुगासमेत नखोली म ओछयानमा ढल्किएँ । आहा बल्ल आनन्द भयो । ओछ्यानमा ढल्किरहँदा उही राजारानीकै कल्पना मेरो दिमाख आइरहेको थियो । बेला बेला त्यहाको प्राकृतिक सुन्दरता मनोरम दृश्य स्थानीयको लोभलाग्दो परम्परागत सँस्कार रहनसहन पाहुनाप्रतिको सत्कार, त्यहाँ बिताएका क्षण आँखैमा झलझली आइरहेको थियो । अहो फेरि जान पाए हुने मनमा एक किसिमको उत्सुक्ता फेरि उत्पन्न भइरहयो । ज्यान यतै भएपनि मन उतै राजारानीतिरै थियो । मनै मानेन बिर्सनलाई तर कुनैदिन फेरि त्यहाँ जाने भने निधो गरिसकेको छु ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP