
धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा एउटा फरक माहौल थियो । २०७९ सालमा एसइई लेख्ने तयारीमा रहेका विद्यार्थीका लागि आयोजित विद्यार्थीको विदाइ कार्यक्रममा विद्यार्थीले प्रिन्सिपल र शिक्षकलाई नेपाली टोपी र शिक्षिकाहरुलाई मायाको चिनो प्रदान गरे ।
टोपी लगाइदिँदा विद्यार्थीमात्रै मख्ख भएनन् प्रिन्सिपल, शिक्षकले पनि फरक प्रस्तुति भन्दै विद्यार्थीको तारिफ गरे । सबैलाई टोपी लगाइदिएर तस्वीर लिँदा विद्यार्थी, शिक्षक र प्रिन्सिपलले रमाइलो माने । विदाइ भएका उनीहरुले स्कुललाई विभिन्न प्रकारका मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल तथा सञ्चालक अरुण राईले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै वैशाख ९ गतेदेखि हुने परीक्षाको तयारीका लागि मिहिनेतका साथ अध्ययनमा लाग्न आग्रह गरे । उनले विद्यार्थीलाई एउटा असल नागरिक बन्न पनि सुझाए । ‘हामीले पढेर जति ज्ञान हासिल गर्दछौं, त्यसलाई व्यवहारमा उतार्दै एउटा असल नागरिक बन्नुपर्छ ।’ उनले भने ।
कार्यक्रममा प्रिन्सिपल राई, सहायक प्रिन्सिपल आकाश भाटी, अन्य सञ्चालकलगायतले विद्यार्थीलाई अविर र खदा लगाएर विदाइ गरेका थिए । कार्यक्रममा विद्यार्थीले गीत र नृत्य पस्किएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज