
धरानः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको बुझिएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भेटमा निर्वाचनबारे संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्न दुवै नेता सहमत भएको उनले बताए । त्यसका लागि मंगलबार बिहान उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उनीहरुबीच छलफल भएको बुझिएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यसै हप्ताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुने बताएका छन् । मोरङमा भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन चुनावका लागि प्रतिबद्ध रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति टुङ्गो लगाउने बताए ।