धरानको बीपी प्रतिष्ठानमा डा. श्यामबाबुलाई जिम्मेवारी

विवादित पदाधिकारीलाई कामकाजमा रोक


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ माघ ३

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका डा. श्यामबाबु यादवले पाएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानका विवादित उपकुलपति डा.ज्ञानेन्द्र गिरीको स्थानमा यादवलाई तदर्थ जिम्मेवारी दिएको जनाइएको छ । अब प्रतिष्ठानमा लामो समयसम्म विवादित रहेका गिरीको जिम्मेवारी खोसिएको छ । गिरीको शैक्षिक योग्यता र अनुभवका सम्बन्धमा नै बारम्बार प्रश्न उठिरहेको थियो ।
गिरीमाथि किर्ते प्रमाणपत्र पेश गरेको आरोप छ । गिरीले आफू प्राध्यापक भएको पुष्टि गर्न सकेका छैनन् । प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकहरूलाई उनले मादक पदार्थ सेवन गरी दुव्र्यवहारसमेत गरेका थिए ।
यसैबीच विवादित पदाधिकारीले कामकाज गर्न नपाउने समेत भएका छन् । सरकारले उपकुलपति लगायतका पदाधिकारीको कामकाजमा पूर्ण रुपमा रोक लगाउँदै पाँच सदस्यीय नयाँ टोली पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार डा यादवसहितको टोलीले सोमबार पत्र पाउने छन् । डा यादवसहितको टोलीलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर प्रतिष्ठानमा पठाउने निर्णय भएको हो ।
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरुप्रसाद खनाल, अस्पताल निर्देशक डा गौरीशंकर शाह र रजिष्ट्रार (विवाद आएपछि केही समयअघि राजीनामा दिएका) डा मोहनचन्द्र रेग्मीले अख्तियारको दुरुपयोग गरेको, आचरणविपरीत काम गरेको, आर्थिक अनियमिता गरेको छानबिन समितिले देखाएपछि सरकारले उनीहरुलाई हटाउने प्रक्रिया अगाडि बढाएको हो ।
पछिल्लो पटक प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित समितिले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा पनि पदाधिकारीले आर्थिक अनियमितता गरेको उल्लेख छ । प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस समेत गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP