
धरानः धरान-१३ स्थित लोटस कलेज अफ म्यानेजमेण्टमा वादविवाद प्रतियोगिता र खेलकुद कार्यक्रम आयोजना भएको छ ।
कक्षा–११ का विद्यार्थीबीच वादविवाद प्रतियोगिता आयोजना भएको हो । ‘धनभन्दा ज्ञान ठूलो, ज्ञानभन्दा धन ठूलो’ शीर्षकमा कलेजका विद्यार्थीबीच वादविवाद प्रतियोगिता आयोजना भएको हो ।
आइतबार कलेज परिसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा धनभन्दा ज्ञान ठूलो शीर्षकमा बोलेका तिया गुरुङ, आइषा नेपाली, सत्यता लिम्बू, मिहाङ राईको टोली विजेता घोषित भएको थियो । उनीहरुलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुनसरीका भूपु अध्यक्ष समेत रहेका नरबहादुर थापा, कलेजका डाइरेक्टर गणेश राई, प्रिन्सिपल सञ्जीता राई शाही, सहायक प्रिन्सिपल, अध्यापकहरुले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
यस्तै, अखिलेश शाही, आशुतोष शाक्य, विराज रई, अजय राईलगायतको टोली उपविजेता बनेको छ । यस्तै, खेलकुदअन्तर्गत फुटसललगायतमा विजेता बन्ने विद्यार्थी खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो ।
विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन यस्ता गतिविधिमा संलग्न गराइएको प्रिन्सिपल राईले बताइन् ।
यस्तै, यस वर्षदेखि सञ्चालनमा आएको कलेजले अर्को वर्षदेखि आफ्नै भवनबाट पठनपाठन थाल्ने डाइरेक्टर राईले जानकारी दिए । ‘धमाधम भवन बनिरहेको छ’, उनले भने, ‘आगामी वर्षदेखि आफ्नै भवनबाट पठनपाठन थाल्नेछौं ।’