
विराटनगरः मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३३ वर्षीय जय शर्मालाई श्रीमती कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत पौष ३० गते शर्माको कुटाइबाट घाइते भएकी १९ वर्षीया श्रीमती पूजा विकलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकी घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेको विषय भएको विवाद कुटपिट एवं हत्याको घटनासम्म पुगेको प्रहरीले जनाएको छ । मापसे गरेर घर आइपुगेका जयले विवादपछि प्लाष्टिकको पाइपले पत्नी पूजालाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । पाइपले कुट्दा उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राईले जानकारी दिए ।