नेपालको आर्थिक अझ बिग्रिँदै


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ माघ २

धरानः नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो ।
राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रहरू बिग्रिँदै गएको देखिएको हो । मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् ।
मुलुकमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।
चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १५० अर्ब शोधनान्तर घाटा रहेको थियो । तर, पछिल्लो एक महिनाको अन्तरमा मात्रै ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेको हो । ५ महिनाको अवधिमा ४५ अर्बले शोधनान्तर घाटा बढेर शोधनान्तर स्थिति १९५ अर्ब घाटामा गएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा लगातार रूपमा शोधनान्तर घाटामा गइरहेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ।
चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा चालू खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता चालू आवको ५ महिनामा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।
मंसिरसम्ममा पूँजीगत ट्रान्सफर २.४ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । त्यस्तै, पछिल्लो समय नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भएको छ । ५७ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।
त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालू आर्थिक वर्षमा निरन्तर रूपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार मंसिरसम्म सञ्चिति १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ । अघिल्लो महिनाभन्दा सञ्चिति ३० अर्ब ८२ करोड रुपैयाँले घटेको छ ।
चालू आवमा मात्र सञ्चिति १ खर्ब ८५ अर्ब रुपैयाँले घटेको तथ्याङ्कले देखाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति कुनै समय बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यस हिसाबले अहिलेसम्म २ खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ । कोरोना महामारीको समयमा समेत नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो ।
त्यस्तै चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स ६.८ प्रतिशतले घटेको छ । गत कात्तिक महिनाको तुलनामा मंसिरमा बढेपनि गत वर्षको सोही अवधिको भन्दा घटेको छ ।
गत कात्तिक महिनामा ७३ अर्ब १० करोड भित्रिएको रेमिटेन्स मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ । यद्यपि गत वर्षको मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो ।
यसरी चालू आर्थिक वर्षको ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्याङ्क अनुसार मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो । रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP