धरानका युवा सुतेकै ठाउँमा मृत फेला


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ माघ १

धरानः धरानमा एकजना युवा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
धरान-४ सारङ्गा टोलका ३१ वर्षीय दिलु राई सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनी गत २९ गते बिहीबार करिब ११ बजेतिर घर आएर सुतेको आफन्तले बताएका छन् ।
दिदी सरिका राईको घरमा बस्दै आएका उनी सधैंजसो १०–११ बजे नै घर आइपुगेर सुत्ने गरेको र बिहान पनि ढिलो गरी उठ्ने गरेको दाजु भीम राईले जानकारी दिए । दाजु भीमअनुसार सदाझैं उनी सो दिनपनि सोही समयमा आएर सुतेका थिए ।
ढिलै उठ्ने भएका कारण शुक्रबार बिहान उनको आफन्तले केही सोधीखोजी गरेनन् तर जब शुक्रबारको साँझ ६–७ बजेसम्म पनि नउठेपछि र मोटरसाइकल पनि पार्किङ गरिराखेको थाहा पाएपछि उनी सुतेको कोठाको ढोका खोलेर जोडबलले खोलेर हेर्दा मृत भेटिएको दाजु भीमले जानकारी दिए ।
‘सदाझैं उनी सुतिरहेका होलान् भनेर बिहान र दिनभरीजसो पनि आफन्तले खोजी गरेनछन् अनि मोटरसाइकल पार्किङ गरिराखेको थाहा पाएपछि ढोका ढकढक्याउँदा उनी नउठेपछि आफन्तले ढोका खोलेर हेर्दा मृत फेला परेको पाइयो,’ उनले भने । उनका अनुसार त्यसपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
उनको शरीरमा कुनै चोटपटक नभएको र रगत जमेर निलो भइसकेको अवस्थामा शव भेटिएको आफन्तले बताएका छन् । अहिले उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ ।
उनी विशेषतः विभिन्न प्रोजेक्टसँग सम्बन्धित रहनुका साथै जग्गा कारोबार, होटल व्यवसाय, पार्क बनाउने कार्यमा सक्रिय रहेको आफन्तले जानकारी दिएका छन् । उनी ५–६ वर्षदेखि दिदी–भिनाजुको घरमा बस्दै आएका थिए । उनी सामाजिक कार्य साथै राजनीतिमा पनि चासो राख्ने गर्दथे । त्यसकारण पनि उनी धरानलगायत अन्य ठाउँमा चिनजानकै व्यक्तिमध्ये पर्दथे ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘अहिले पोष्टमार्टमका लागि शव ल्याइएको छ, पोष्टमार्टमको रिपोर्ट आएपछि के भएको हो भन्नेबारेमा थप खुल्नेछ ।’ उनले भने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP