सुनसरीका शिक्षक एक भए

आयोगको परीक्षामा उमेर हद हटाउन माग, नहटाइए जस्तोसुकै आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ माघ १

धरानः सुनसरीका शिक्षकहरुले गलत नीतिले लामो समयदेखि कार्यरत राहत तथा अस्थायी शिक्षकहरु मारमा परेको गुनासो गरेका छन् ।
उनीहरुले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन् ।
शिक्षक सेवाले निकालेको विज्ञापनमा आफूहरुले आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राख्दै उनीहरु विभिन्न संगठनमार्फत् असन्तुष्टि जनाएका हुन् । सुनसरीका पाँच घटक सङ्गठनले पनि समर्थन जनाएका छन् । नेपाल शिक्षक संघ सुनसरी, नेपाल राहत शिक्षक संघ जिल्ला समिति सुनसरी, नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरी, ए.अ.ने.शि.संगठन सुनसरी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, संघीय शिक्षक फोरम नेपाल, सुनसरीले विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि पोखेका हुन् ।
नेपाल राहत शिक्षक जिल्ला समिति सुनसरीका अध्यक्ष विजयकुमार चौधरीले आयोगले शिक्षक पदपूर्तिका लागि माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि खुलाएको विज्ञापनमा उमेर हदका कारण डेढ दशकदेखि कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरू परीक्षामा सहभागी हुनबाट वञ्चित हुने भएकाले उमेर हद हटाउन माग गरेको बताए ।

नेपाल राहत शिक्षक समिति प्रदेश १ सहसचिव बालकृष्ण चौलागाईले अहिले शिक्षकलाई विभेद भएको बताए । ‘देशभर राहत कोटामा कार्यरत् शिक्षकहरूले उमेर हदका कारण शिक्षक सेवा आयोगले लिने परीक्षामार्फत् आफ्नो योग्यता, क्षमता, सीपको मापन गर्न नपाउनु दुःखद् हो’, उनले भने ।
उनले उमेर हदको विषयलाई परिमार्जन नगरिए जस्तोसुकै आन्दोलन गर्ने पनि चेतावनी दिए । उनले विज्ञापनलाई म्याद थपी परीक्षामा सामेल हुने वातावरण सिर्जना गराइयोस्, जारी हुन लागिरहेको संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकलाई विस्थापित नहुने गरी आन्तरिक प्रक्रियाबाट स्थायी व्यवस्था गर्ने नीति राखेर मात्र ऐन जारी गरियोस् आफूहरुको माग रहेको उनले जानकारी दिए । ‘तोकिएको मिति र समयभन्दा अगावै कार्यान्वयनका लागि आग्रह गरेका छौं’, उनले भने, ‘कार्यान्वयनमा पहलकदमी नलिए शिक्षकको अन्याय तथा विभेदविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुनेछौं, उनले भने ।
देशभर राहत कोटामा कार्यरत शिक्षकहरूले उमेर हदका कारण शिक्षक सेवा आयोगले लिने परीक्षा मार्फत् आफ्नो योग्यता, क्षमता, सीपको मापन गर्न नपाउनु दुखद् भएको उनको भनाइ छ ।
यो वर्ष सरकारले माध्यमिक तहका लागि १५ सय ४७ र निम्न माध्यमिक तहका लागि २५ सय ९८ शिक्षक माग गरेको छ । प्राथमिक तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन खुलाएको छ ।
शिक्षा ऐन नवौँ संशोधन २०७४ मा शिक्षक सेवा आयोगले लिने प्रतिस्पर्धामा भाग लिन ४० वर्षे उमेर हदको व्यवस्था गरिएको छ । शिक्षा ऐन २०२८ को नवौं संशोधनमा एक पटकका लागि मात्रै उमेर हद नतोकी प्रतिस्पर्धामा भाग लिने व्यवस्था छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP