एमाले-माओवादीको हविगत !

महाभारतको कथासँग मिल्दो, अन्ततः जरासन्धको झैं हविगत डनेकपाले भोग्दै


  • नारायण निरौला
  • २०७८ पुष ३०

नेकपाबारे चर्चा तथा टिप्पणी गर्नु बासी सन्दर्भ भयो भन्ने जो कोहीलाई पनि लाग्न सक्छ तर नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा त्यो एउटा महत्वपूर्ण कालखण्डको महत्वपूर्ण घटना एवम् सन्दर्भ अवश्य बनिरहनेछ । दुई स्कुलिङबाट हुर्केका दुई महत्वपूर्ण कम्युनिष्ट घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७५ जेठ ३ गते एकीकरण भई नेकपा (नेकपा) बने (अर्थात् डबल नेकपा छोटकरीमा डनेकपा) । कालान्तरमा यी दुवै छुट्टिए । हुन त कम्युनिष्ट आन्दोलनमा मिल्नु र छुट्टिनु कुनै नौलो र अनौठो घटना मानिँदैन तर नेपाली राजनीतिमा तिनले पारेको दुरगामी प्रभाव तथा असरहरू भने रही नै रहनेछ । यसो हुनुको कारण र कारकको पनि खोजी गर्नु अत्यावश्यक छ । आज मैले यस सन्दर्भलाई महाभारतको एउटा कथासँग जोडेर डनेकपाको एकीकरण र विभाजनबारे समीक्षा गर्ने अनुमति चाहन्छु ।
महाभारत कथामा निक्कै चर्चामा रहेका पात्रहरूमध्ये एउटा पात्रको नाम हो जरासन्ध । जरासन्धका पिता बृहद्रथ मगध देशका राजा थिए । उनका दुई रानी थिए तर उनीहरूबाट धेरै वर्षसम्म सन्तान भएनन् । राजा दुवै रानीलाई बराबरी माया गर्थे तर उनी निःसन्तान भई मरिएला कि भन्ने पीरमा रहन्थे । सन्तान प्राप्तिका निम्ति धेरै तीर्थब्रत, धामीझाँक्री, वैद्य आदि गरेतापनि कुनै उपाय काम लागेन ।
एकपटक उनको राज्यमा ऋषि चण्डकौशिक आएर एउटा आँपको रुखमुनी ध्यानगरी बस्न थाले । ऋषि आएको खबर राजाको कानमा पुग्यो । सन्तानको लिप्साले सताइएका राजा बृहद्रथ सन्तान प्राप्तिको आशा लिएर ऋषिका शरणमा पुगे । राजाको निःसन्तान हुनुको पीडालाई बुझेर ऋषिले एउटा पाकेको आँप दिँदै भने, ‘यो लगेर रानीलाई खुवाउनु ।’
दुवैलाई बराबरी माया गर्ने राजाले त्यो आँप पनि दुवैलाई बराबरी बाँडेर खान दिए । नभन्दै दुवै रानी गर्भवती भए । अब राजा बृहद्रथको खुसीको सीमा रहेन । १० महिनामा दुवैले छोरा जन्माए तर छोरा शिरदेखि पिँधसम्म आधा–आधा मात्र शरीर भएका छोरा जन्मिए । यस्तो देखेपछि राजा भयभित भए र ती दुवै अर्धपुत्रलाई जङ्गलमा लगेर मिल्काउन लगाए । ती मिल्काइएका अध्पुत्रको नजिकबाट जरा नाम गरेकी एक दैत्य महिला जाँदैथिन् । उनले यस्ता बालक देखेपछि दुवैलाई दाहिने र देब्रेहातमा राखी जोडिन् । ती दुई टुक्रा बालक पनि जोडिएर एक सुन्दर बालक बन्यो । जराले त्यो बालक दरबारमा लगेर राजालाई जिम्मा लगाइन् । जरा नामकी महिलाले जोडेकी हुनाले उक्त बालकको नाम जरासंध राखियो ।
अब जरासंध राजदरबारमा रानीहरूको स्तनपान गर्दै हुर्कियो । त्यो बालक बिस्तारै शक्तिशाली राजकुमार हुँदै एकदिन राजा बन्यो । जरासंध युद्ध कौशलमा निपूूर्ण थियो । उसलाई कसैलेपनि हराउन सक्दैनथे । उसले आफ्नो साम्राज्य विस्तार गरी ८६ वटा देशका राजालाई बन्दी बनायो । अब १४ देशका राजालाई जितेर १०० जनालाई बन्दी बनाई तिनको एकैसाथ बध गरेपछि ऊ चक्रवर्ती राजा हुने निश्चित थियो । यहाँसम्म कि कृष्णको राज्यको राजधानी मथुुुरामा जरासन्धले सत्र पटकसम्म आक्रमण गरयो । जरासन्धकै डरले गर्दा कृष्णले आफ्नोे राज्यको राजधानी मथुराबाट द्वारिका सार्नुपरेको थियो। यसरी राजधानी छोडेर भागेका कारण कृष्णलाई रणछोड (भगौडा) पनि भनिन्छ ।
उता हस्तिनापुरमा पाण्डवहरुलाई धृतराष्ट्रले दिएको अंश इन्द्रप्रस्थलाई शक्तिशाली राज्य बनाउन नारदले सल्लाह दिन्छन् । त्यसरी शक्तिशाली राजा बन्नको निम्ति युधिष्ठिरले राज सुयोग यज्ञ गर्नुपर्छ भन्ने पनि नारदले नै सल्लाह दिए । तर राजसुयोग यज्ञ गर्न चक्रवर्ती राजा बन्नु पर्दथ्यो । पाण्डवहरु पराक्रमी र शक्तिशाली हुँदाहुँदै पनि युधिष्ठिरलाई चक्रवर्ती राजा बन्न जरासन्ध बाधक थियो । त्यसैगरी कृष्णलाई पनि जरासन्धको तेजोबध गर्नु अत्यावश्यक थियोे किनकि कृष्ण त जरासन्धदेखि पहिला नै भयभित थिए । त्यसैले उनले पाण्डवहरुलाई जरासन्धको विरुद्ध लड्न उक्साए ।
जरासन्धको दरबारमा भीम र अर्जुन ब्राह्मण भेषमा पुगे तर यो कुरा जरासन्धले आफ्ना सुराकी मार्फत थाहा पायो । कृष्णले तुच्छ बचनहरु बोल्दै उसलाई क्रोधित बनाई युद्ध गर्न उक्साए । जरासन्ध मल्लयुद्ध गर्ने तर त्यो पनि भीमसँग मात्रै गर्ने भनी तयार भयो । भीम र जरासन्धको २८ दिनसम्म भीषण युद्ध चल्यो तर भीमले जरासन्धलाई पराजित गर्न सकेनन् । जरासन्धको कमजोरी थाहा पाएका भीमले जरासन्धको खुट्टाबाट चिरेर जतिपटक मिल्काए पनि जोडिएर झन शक्तिशाली बन्थ्यो । जरासन्धको मरणको रहस्य थाहा पाउने कृष्णले भीमलाई चिरेर विपरीत दिशामा फ्याक्ने हातले इसारा गर्दा पनि भीमले कुरो बुझेनन् । पछि एउटा घाँसलाई चिरेर विपरीत दिशामा फ्याँकिदिएपछि बल्ल भीमले इसारा बुझेर जरासन्धलाई दुई चिरा पारी विपरीत दिशातर्फ मिल्काएपछि उस्को अन्त्य भयो ।
सोहीपरी बुर्जुवा संसदमा झण्डै दुईतिहाई सिट जितेको डनेकपाभित्र अब चक्रबर्ती को बन्ने भन्ने होड चल्यो । साँच्चिकै डनेकपा चक्रवर्ती भयो भने हाम्रो के हविगत होला भन्ने अन्य दलहरुलाई पनि लागिरहेको थियो । त्यसैगरी शक्तिशाली जरासन्धरुपी डनेकपा अझै सशक्त (चक्रवर्ती) भयो भने हाम्रो मिसन पनि सफल नहोला भन्ने डर भारतीय गुप्तचर संस्था रअ, सिआइए र युरोपेली युनियनलाई परयो जो कृष्णजत्तिकै भयभित थिए । अर्कोतर्फ डनेकपाको नेतृत्व सम्हाल्ने खड्गओली साँच्चिकै चक्रवर्ती झैं मैमत्था थिए । उनले आफ्ना आशेपाशे, हुक्के बैठकेहरुका सम्पूर्ण अपराध आँखा चिम्लेर समर्थन गर्दथे । चाहे ह्वाइट बडी प्रकरण होस वा ललिता निवास प्रकरण, सांसद अपहरण काण्ड होस् वा गोकुल बाँस्कोटाको प्रेस मेसिन खरिद प्रकरण अथवा ईश्वर पोखरेलको अम्नी प्रकरण होस् वा पप्पु कन्सट्रक्सनका प्रकरणहरु यी सबै अपराधमा जरासन्ध रुपी डनेकपा बदनाम भइसकेको थियो । संसद विघटन प्रकरण त उनीहरुको नेतृत्वमा को हावी हुने कसरतको परिणति थियो ।
यसरी महत्वकाङ्क्षा, आडम्बर, दम्बले फुलेको साथै पापैपापको संसोधनवादी घडाले भरिएको डनेकपा नामको जरासन्ध अन्ततः अदालतरुपी भीमद्वारा दुई विपरीत दिशामा मिल्काइएपछि चक्रवर्ती (कथित कम्युनिष्ट) शासक बन्ने खड्गप्रसाद ओलीको लालसा पनि पनि सदाको निम्ति अन्त्य भयो । सबैमा चेतना भया ।
विराटनगर, मोरङ, हालः ललितपुर (लेखकः लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् ।)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप