धरानमा यसपटक तरुल सस्तियो

माघ संक्रान्ति मनाउनेलाई फाइदा, तरुल, तिल र भुजाको लडडु किन्नेको भीड (३६ तस्वीर)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष ३०

धरानः धरानमा यसपटक तरुल सस्तिएको छ । अघिल्लो वर्षको भन्दा यसवर्ष तरुल अलि सस्तो भएको व्यवसायीहरुले बताएका छन् ।
अघिल्लो वर्ष १४० रुपैयाँ पर्ने घर तरुल अहिले ८० देखि १०० रुपैयाँसम्म मात्रै रहेको धरान–९ स्थित सब्जीमण्डीका व्यवसायी अखलेश जैसवाल बताउँछन् ।
यसवर्षको माघे संक्रान्तिमा धरानमा तरुलको मूल्य सस्तिएपछि उपभोक्ता खुशी समेत भएका छन् । यसले गर्दा उपभोक्तालाई फाइदा समेत भएको छ । मागभन्दा बढी तरुल बजारमा भित्रिएपछि यसवर्ष गतवर्षको भन्दा प्रतिकेजी २० देखि ४० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघ संक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ ।
यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछियसको मूल्यमा कमी हुन गएको धरानस्थित कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । ‘गत वर्षभन्दा यसवर्ष धेरै तरुल पहिला नै काठमाडौं, पोखरा, सिरहालगायतका जिल्लामा निर्यात भइसकेको छ’, उनले भने । करिब २ सय टन तरुल माघे संक्रान्तिका लागि भित्रिएको उनले बताए ।
धरान बजारमा भोलि माघे संक्रान्तिको लागि तरुललगायत अन्य सामग्री किन्ने भीड समेत बढेको छ । अहिले धरानस्थित चिनियाँचोकमा रहेको सब्जी बजार, धरान–९ स्थित सब्जीमण्ड, छाताचोकलगायतका स्थानमा तरुल व्यापारको चटारो छ । त्यहाँ विभिन्न थरीका तरुल किन्नेको भीड लागेको छ । पूर्वी पहाडी जिल्लाबाट धरान भित्रिएका तरुलसँगै बजारमा वन तरुल, घर तरुल, सखरखण्ड, स्कुसको जरा, सिमल तरुल, पिँडालु बेच्न व्यापारीलाई भ्याइनभ्याइ छ । धरानमा मुख्य गरी पहाडी क्षेत्रका तरुल भित्रिने गरेको छ । धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर लगायतबाट पनि तरुल भित्रिने गरेको छ ।
बजारमा तिलको लडडु, भुजाको लडडु, सख्खर, भुजा, चिउराजस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको र तरुलको भाउ सस्तिएको व्यवसायी सदानन्द चौधरीले जानकारी दिए । स्थानीय भाषामा (तिला सकराईत) अर्थात् माघ संक्रान्ति पर्वमा यी परिकारका बिक्री–वितरण अत्याधिक हुने गरेकाले बजारमा भीड लागेको उनको भनाइ छ ।
माघे संक्रान्तिमै किन खाइन्छ तरुल ?
शिशिरयामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ । थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन् । मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ । यस अवसरमा घर घरमा तिलको लडडु, चाकू, घ्यू, खिर, उसिनेको तरुल, सख्खरखण्ड, पिँडालु र फर्सीलगायत खाने गरिन्छ ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै तथा रात छोट्टिँदै जाने भन्दै ब्राहमण समुदायले ‘मकर संक्रान्ति’को रुपमा मनाउने चलन रहिआएको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यसदिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्वद्ध विज्ञहरुको राय छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्यवद्र्धक र बहुपयोगी कन्दमूल हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP