धरानमा जाडो बदलिँदै

सन्तुलित मौसम रहने धरानको पर्यावरण द्रुतगतिले बिग्रिँदै, किन भइरहेको छ जाडो, किन लागिरहेको छ हुस्से र कुहिरो ?


  • हर्ष सुब्बा
  • २०७८ पुष २९

धरानमा बिहीबार देखिएको हुस्सु र जाडो भएपछि गोजीमा हात हालेर हिँड्दै गरेका सर्वसाधारण ।

धरानः पुस अन्तिमतिर आउँदा बिहीबार धरानको तापक्रम ११ डिग्री सेन्सियससम्म झरेको देखिएको छ । १० वर्ष अघिसम्म पुष महिनामा धरानको तापक्रम न्यूनतम ५ डिग्री सेल्सियससम्म झर्ने गरेको थियो । सर्वसाधारणलाई चिसो महसुस भएतापनि धरानको तापक्रम भने बढ्ने क्रममा रहेको यसबाट बुझिन्छ ।
९ वर्षअघि सन् २०१३ जनवरी १३ का दिन धरानबासीले पहिलोपटक अत्याधिक चिसो र बाक्लो कुहिरोबीच शितवर्षा भएको अनुभव गरे । देशभरी अत्याधिक चिसो अनुभव गरिएको बेला सामान्य स्थितिमा रहने धरानमा कुहिरो नलाग्ने र शितवर्षा हुने गरेको थिएन । त्यस दिन न्युनतम तापक्रम ७ दशमलब शुन्य थियो ।
त्यसको अघिल्लो वर्ष तापक्रम ५ डिग्री सेल्सियससम्म झरेको थियो । २०५० यता धरानमा न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलब ६३ सम्म रेकर्ड गरिएको थियो । पछिल्लो समय यसमा परिवर्तन हुुँदै २०६८ मा न्यूनतम ५ डिग्री सेल्सियस तथा अधिकतम ३७ डिग्री सेन्सियससम्म रेकर्ड गरिएको तथ्याङ्क पाइन्छ ।
यो तथ्याङ्कले यहाँको पर्यावरण तथा मौसम दशकयता द्रुतगतिले बिग्रिँदो अवस्थामा जाँदैछ भन्ने देखाउँछ । धरान न पहाड न तराई दुवै भौगोलिक अवस्थाको बीचमा रहेको अत्यन्तै राम्रो पर्यावरण भएको बजार हो । यहाँ तराईको जस्तो शीतवर्षा नहुने भएकाले शितलहरको खतरा हुँदैन ।
चार दशक अघितिरको कुरा हो । दार्जिलिङका साहित्यकार तुलसीबहादुर अपतन पहिलोपटक धरान आउँदा यहाँको प्राकृतिक सौन्दर्यतामा यहाँको मौसमले सुनमा सुगन्ध थपेको अनुभव स्थानीय साहित्यकारहरुलाई बताएका थिए । मौसमको विशेषताकै कारण यहाँ काग नदेखिएको उनले आफ्नो छोटो बसाईको अनुसन्धानबाट पत्ता लगाएको छुट्टै रोचक अनुभव सुनाएका थिए ।
प्रकृति संरक्षणको कुरा चार दशक त्यति धेरै लामो समय भने होइन । प्रकृतिलाई नष्ट गर्ने हो भने यति धेरै समय चाहिँदैन । दुईचार वर्षमै वन–जंगल मानव बस्तीमा परिणत हुनसक्छ । यसबाट प्रकृतिको मात्र विनाश हुँदैन त्यहाँको पर्यावरण पनि नष्ट भएर जान्छ । मौसम भनेकै पर्यायवरणले सिर्जना गर्ने अनुकुल र प्रतिकुल हावापानी हो । शहरीकरणको चकाचौंधले अहिले शहरी विकास होइन कंक्रिटको जङ्गल बनाउने अभियान बढेको छ । राम्रो पर्यावरणका लागि चाहिने बोटविरुवा लगाएर हरियाली बनाउने भन्दा भएको बोटविरुवा पनि विनाश गरिदैछ ।
कुनैबेला धरान गर्मीमा उग्रगर्मी, जाडोमा अत्याधिक जाडो हुने ठाउँ थिएन । सन्तुलित मौसम रहने धरानको पर्यावरण बिग्रिएको अनुभव हुनु चिन्ताको विषय हो । पछिल्लो समय धरानमा तापक्रम बढेपनि तराईको मौसम भित्रिएको अनुभव गर्न थालिएको छ । नगरको दक्षिण स्थित चारकोशे जङ्गल नष्ट हुँदै गएकोले यस्तो स्थिति उत्पन्न भएको पनि हुनसक्छ । धरानलाई तराईसँग चारकोश टाढा नै छुट्याउने जङ्गलले तराईको तराईको शितलहरलाई अहिलेसम्म छेक्दै आएको थियो ।
यहाँको पर्यावरणमा देखिएको बदलाव धरानबासीका लागि चिन्ताको विषय बन्नुपर्दछ । चारकोशे जङ्गल अहिले विभिन्न सामुदायिक वनको रुपमा विभाजित भएको छ । सामुदायिक बनहरुले बनको संररक्षण गर्दै आएपनि उत्तर–दक्षिण र पूर्व–पश्चिम यो वन पातलिँदै आएको सबैले दख्दै आएको हो । तर त्यसबारे चासो राख्ने कार्य कतैबाट भएको देखिन्नँ ।
यो जङ्गलको समुचित संरक्षण नगरिने हो भने धरानको पर्यावरण आउँदा दशकमा अरु बिग्रिएर जाने निश्चित छ । साथै यहाँ भएको घर–जग्गा प्लटिङको धन्धाले भएका बोटविरुवाहरु सबै समाप्त गर्ने काम गर्दै आएको छ । बनेका नयाँ घरहरुमा फूलबारी बगैंचा देखिन्छ तर, पर्यावरणलाई संरक्षण गर्ने एउटै पनि रुख रोपिएको देखिन्नँ ।
याद राखौं २०४९ मा पहिलोपटक नगरपालिकाको प्रमुखमा निर्वाचित ध्यानबहादुर राईले पद बहाल गरेपछि धरानको पर्यावरण जोगाउन नगरपालिकाबाट नक्सापास गर्दा घरको कम्पाउण्डमा एउटा रुख रोप्ने पर्ने नीति बनाएको थियो । उनी रहेसम्म त्यो नीति अवलम्बन भएपनि पछिबाट त्यसको अनुगमन गरिएन ।
पर्यावरणमैत्री राम्रो नीति त्यतिकै उपेक्षाको शिकार भएकोले पनि यहाँको मौसम मानव प्रतिकुल बन्दै जाने अवस्थामा पुगेको हो । राम्रा कुराको अनुसरण गरिनुपर्छ र धरानको पर्यावरण संरक्षणका लागि नगरपालिका, नागरीक समाजले ठोस पहल गर्नु आवश्यक भइसकेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप