धरानको विष्णु स्कुलको लेखा शाखामा ताला

स्कुल प्रशासनद्वारा पत्रकार सम्मेलन, चार वर्षपछि शुल्क बढाएका हौं, अनावश्यक विवादमा तान्ने कोसिस गरियोः प्रिन्सिपल


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष २७

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलको लेखा शाखामा ताला लागेको छ ।
धरान उपमहानगरपालिकाको निर्णयविपरीत ४० प्रतिशत शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले गत आइतबार लेखा शाखामा ताला लगाएका हुन् । नेविसङ्घ, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका प्रतिनिधिहरूले त्यहाँ पुगेर ताला लगाएका हुन् ।
ताला लागेपछि स्कुल प्रशासनले पत्रकार सम्मेलन नै आयोजना गरेको छ । पत्रकार सम्मेलनमा प्रिन्सिपल वेनिन्द्र कट्वालले ताला लगाउने विषयमा समेत राजनीति घुसेको बताए । ‘हामीले चार वर्षपछि ४० प्रतिशत शुल्क वृद्धि गरेका हौं’, उनले पत्रकार सम्मेलनमै भने, ‘केही अभिभावक विष्णु स्कुलविरुद्ध लागे, विद्यार्थी सङ्गठनले यो स्कुलले मात्रै शुल्क बढाएको देख्नु आश्चार्यको कुरा हो, विद्यालय प्रशासनले यसमा राजनीति घुसेको ठहर गरेको छ ।’
प्रिन्सिपल कट्वालले सामुदायिक स्कुलमा सरकारले तलब वृद्धि गर्दा आफ्नो स्कुलमा पनि तलब बढाएर दिनको लागि मात्रै चार वर्षपछि शुल्क बढाएको दावी गरे । ‘२०७४ देखि हामीले शुल्क नै बढाएका छैनौं’, उनले भने, ‘चार वर्षपछि बढाउँदा एकैचोटी धेरै बढेको जस्तो लागेको मात्रै हो, सरकारले सामुदायिकमा तलब बढाएपछि हामीले पनि सरकारी तलब नै दिँदै आएको हुनाले शुल्क बढेको हो ।’
यसअघि चर्को शुल्कवृद्धि गरेको भन्दै १ सय ३ जना अभिभावकले धरान उपमहानगरपालिकामा उजुरी समेत दिएका थिए । त्यसपछि धरानमा रहेका पाँच विद्यार्थी सङ्गठनले सामूहिकरूपमा स्कुलको लेखा शाखामा ताला लगाएका थिए ।
प्रेस विज्ञप्तिमा विभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक, तथ्यहीन र अनर्गल प्रचारबाजी हुँदै आएको समेत जनाइएको छ । ‘स्कुलले कोभिड–१९ को असहज परिस्थितिमा धरान उपमहानगरपालिकाले गरेको शैक्षिक शुल्कसम्बन्धी मापदण्ड र विद्यालयले लिएको शुल्क सम्बन्धी विषयलाई लिएर विवाद सिर्जना गरी विद्यालयको शैक्षिक वातावरण खलल पुरयाउने अनावश्यक हस्तक्षेप गर्ने र तथ्यहीन कुरा प्रचार गरी विद्यालयलाई बदनाम गराउने प्रयत्न भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनर्गल प्रचारप्रति विद्यालय प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्कुल राज्यको ऐन कानुनअनुसार चलेको शैक्षिक संस्था भएकोले उपमहानगरपालिकाले निर्देशन दिएबमोजिम अभिभावकसँग बसेर शुल्क निर्धारण गरेको प्रिन्सिपल कट्वालको दावी गरे ।
‘केही अभिभावक विष्णु स्कुलविरुद्ध लागे’
उनले केही अभिभावक विष्णु स्कुलविरुद्ध लागेको पनि बताए । उनका अनुसार अभिभावक संघमा आवद्ध व्यक्तिका छोराछोरी समेत स्कुलमा अध्ययनरत् छन् । ‘संघमा आवद्ध कतिपयको आफ्नै स्वार्थ समेत देखियो’, उनले भने, ‘आफ्नो स्वार्थ जोडेर स्कुलविरुद्ध लाग्नु भएन ।’
उनले कोरोनाले साँच्चै अभिभावक पीडित नै भएको बताउँदै पीडित अभिभावक आए स्कुलले निःशुल्क पढाउने दावी गरे । ‘फि बढ्यो भनेर १ सय ३ जनाले उजुरी नै दिएछन्’, उनले थपे, ‘हामीले साँच्चै पीडित हो भने हामी १ सय ३ जनालाई नै निःशुल्क पढाउँछौं तर वार्तामा पनि आउँदैनन् र भन्न पनि आउँदैनन्, यही हामीले आशङ्का गर्दै आएका छौं, यही शङ्का गर्ने ठाउँ छ ।’
‘विद्यार्थी सङ्गठनले विष्णु मात्रै देखे’
उनले धरानभरीका विद्यालयमध्ये शुल्क बढाउनेमा विष्णुलाई मात्रै देख्नु आश्चार्यजनक भएको बताए । ‘अन्य विद्यालयले समेत शुल्क बढाएका छन्, विद्यार्थी सङ्गठनले त्यतातिर चासो नदिई यतिमात्रै खनिएको हाम्रो ठम्याइ छ ।’ उनले भने । उनले अरु विद्यालयले १०–२० प्रतिशत वृद्धि गर्दा पुगे पनि आफ्नोमा भने त्यतिले नपुग्ने बताए । ‘अरुको स्कुल र आफ्नो स्कुलको तुलना नगर्नुहोस्’, उनले भने, ‘हामी अन्य विद्यालयभन्दा गुणस्तर, पठनपाठन, शिक्षकलाई तलब वितरण र भौतिक पूर्वाधारका हिसाबले अघि नै छौं ।’
११ सय ३५ जना विद्यार्थीहरुमध्ये ९० प्रतिशत बढीले शुल्क बुझाएर सहयोग गरेको र केही अभिभावकले अनावश्यक बखेडा सिर्जना गरेर राजनीतिकरण गरी विद्यालयलाई बदनाम गराउन खोजिएको उनको आरोप थियो । उनले चालु शैक्षिक सत्रमा सबै अभिभावकलाई प्रवेश शुल्कमा ५० प्रतिशत तथा कायम रहेको मासिक शुल्कमा १० प्रतिशत सहुलियत छुट दिने संस्थागत निर्णय भइसकेको समेत बताए । ‘यस निर्णयप्रति हाम्रा अभिभावक सहमत हुनुहुन्छ तर विद्यालयसँग असम्बिन्धत केही व्यक्ति र विद्यार्थी सङ्गठनहरुले अनावश्यक प्रचार गरी विद्यालयलाई विवादमा तान्ने र दैनिक गतिविधिमा असर पुरयाउन खोजिरहेको हाम्रो ठम्याइ रहेको छ ।’ विज्ञप्तिमा समेत भनिएको छ । उनले वार्ताको माध्यमबाट समाधान खोज्न सकिने जनाउँदै विद्यार्थी सङ्गठनका पदाधिकारीहरु वार्तामा बस्नै नचाहेको समेत आरोप लगाए ।
यसअघि धरान उपमहानगरपालिकाको निर्णय विपरीत विद्यालयले शुल्क वृद्धि गरेको भन्दै १ सय बढी अभिभावकहरुले उपमहानगरपालिकाको शिक्षा महाशाखामा उजुरी दिएका थिए । विद्यार्थी संगठनहरुले पनि स्कुल प्रशासनलाई शुल्क समायोजन गर्न पटक पटक आग्रह गरेका थिए । उपमहानगरपालिकाले गत भदौ अन्तिम साता धरानका निजी विद्यालयहरुको शुल्क निर्धारण गरेको थियो । सो निर्णयविपरीत स्कुलले वार्षिक र मासिक शुल्क अत्याधिक वृद्धि गरेको कारण उजुरी दिनुपरेको अभिभावकले जनाएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP