धरानमा कन्सर्टको लहर

चलेका गायकगायिका एकदेव लिम्बू, अस्मिता अधिकारी र रचना रिमालको कन्सर्टमा थामिनसक्नु भीड, राजेशपायल राई, मेलिना राई र सविन राईले दर्शक झुमाउन बाँकी (१९ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष २५

धरानः धरानमा धमाधम कन्सर्ट हुन थालेका छन् । कोरोना कहरपछि यसअघि धरानमा कुनैप्रकारका साङ्गीतिक कार्यक्रम हुन सकेन । तर यस वर्ष भने धेरै कन्सर्ट, साङ्गीतिक कार्यक्रममा धराने दर्शक दिल खोलेर झुमे ।
यसअघि रविन एण्ड द न्यू रेभुलुसनले धरान तताइसकेको छ छ भने अहिले पनि धमाधम कन्सर्ट भइरहेका छन् ।
यसैबीच शनिबार राति युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारीले धरानका दर्शक झुमाएका छन् ।
शनिबार धरानस्थित पब्लिक हाइस्कुलमा आयोजित कन्सर्टमा अधिकांश युवापुस्ताहरुको उपस्थिति थियो । निकै ठूलो जमातका साथ उपस्थित दर्शक देखेर यी तीन कलाकार पनि मन्त्रमुग्ध बने । २ सय रुपैयाँ गेट पास राखिएको कार्यक्रममा रचनाको गीत शुरु हुन थालेको थियो, दर्शकको ठेलमठेल आयोजकले गेट खोल्न बाध्य बनेको थियो, त्यतिबेला भएभरका दर्शक गेटबाट ओइरिएका थिए । दर्शकले पब्लिक स्कुलको खेल मैदान टम्म भरिएको थियो ।
‘हैट दर्शक त आए’, आयोजक संस्था सिल्भर इन्टरटेन्टमेण्टका सौरभ श्रेष्ठले भने, ‘कोरोना कहरपछिको यतिको दर्शक पहिलोपल्ट हो ।’ उनका अनुसार यसअघि पनि सिल्भरले नै कन्सर्ट आयोजना गरेको थियो ।
‘नेपाल आइस मनोरन्जन धमाका २०२२’ नाम दिइएको कन्सर्टमा तीन कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिए । साँझ साढे पाँच बजेदेखि हुने भनिएको कार्यक्रम करिब साढे ७ बजे मात्रै शुरु भएको थियो । तीनैजना कलाकारहरु पहिलोपल्ट धरान आएका थिए र दर्शकको भरपुर साथ लिएर फर्के ।
आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूलजस्ता थुप्रै लोकप्रिय गीतहरु गाएर चर्चामा आएका एकदेव लिम्बूले दर्शकलाई झुमाएनन् मात्रै पब्लिकको ग्राउण्डको धूलो नै उडाए ।
यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता अस्मिता अधिकारीले पनि आधुनिक, पप तथा फिल्मी गीत गाएर दर्शक झुमाइन् । उनको तिम्रो मायाले बाँधेर राख, साली मन परयो, लज्जावती झारझैंलगायत हिट गीतहरु गाइन् । उनले भर्खर रिलिज भएको काफल खाने कुइँया बोलको गीत पनि थोरै गाइन् ।
नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी रचना रिमालले फोटो फिरिममा, उनको प्रित लगायतका गीत गाइन् । एक समय चटपटे वाली गायिकाको रुपमा समेत भाइरल बनेकी गायिका रचनाका प्रत्येक गीतमा धराने दर्शकले पूर्ण साथ दिँदै मनोरञ्जन लिए ।
कार्यक्रममा विभिन्न आकर्षक नृत्य समेत प्रस्तुत भयो । नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाइन टिभी, बराह ग्रप, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको थियो । भब्य साउण्ड र लाइटसहितको कन्सर्टमा सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो ।
राजेश पायल राईको कन्सर्ट
यस्तै, चर्चित गायक राजेशपायल राईको कन्सर्ट र फेसन शो आयोजना हुने भएको छ ।
माघे संक्रान्तिको अवसरमा यही माघ १ गते धरानमा उनको कन्सर्ट हुन लागेको हो । ‘बागिना फेसन शो एण्ड म्युजिकल नाइट २०७८’ नाम दिइएको कार्यक्रममा ‘मेघा स्टार राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन शो पनि आयोजना हुने आयोजक बागिना कला केन्द्र धरानले जनाएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
उनको प्रस्तुतिसँगै गायक राकेश किराती, परेश राई, उल्टो साइकलयात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शोको मज्जा पनि लिन सकिने आयोजक बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक गायक भक्तिराज राईले जानकारी दिए । उनका अनुसार साथमा नृत्य प्रस्तुति र चित्रकुमारको दिउँसो २ बजे धरानस्थित दुर्गाचौकदेखि भानुचोकसम्म उल्टो मोटरसाइकल प्रदर्शनी समेत रहनेछ । नेपाल आइस नेचुराको प्रस्तुति रहेको कार्यक्रममा पूर्वाञ्चल सिङ्गीङ स्टारका बिजेताहरुको पनि प्रस्तुति रहनेछ ।
अफिसियल हस्पिटालिटी पार्टनर होटल नवयुग धरान, अफिसियल मेकअप द ब्युटी हब धरान, साउण्ड लाइफ पार्टनरमा सुन्दर साउण्ड धरान, अफिसियल मिडियामा हाम्रो कोशी आवाज डटकम रहेको छ । कार्यक्रममा मिस नेपाल २०१८ की आइडल तथा आरजे, भिजे मेरिना तुम्सा लिम्बूले कार्यक्रम सञ्चालन गर्नेछिन् ।
शिवानीले बगरकोट तताइन्
यसैबीच गायिका शिवानी मोक्तानले शुक्रबार साँझ बगरकोट तताएकी छिन् ।
एमएच लाउन्ज एण्ड बारको स्टेजमा उत्रिएकी मोक्तानले साढे दश बजेसम्म धराने दर्शकलाइ नचाएकी थिइन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्जले बगरकोट ल्याएको हो ।
गायिका शिवानीलाई प्रस्तुति अघि एमएच लाउन्जका सञ्चालक एवं बगरकोट होटल व्यवसायी मञ्चका अध्यक्ष जीवन मेन्याङ्बोले खदा लगाएर स्वागत गर्दै मायाको चिनोसमेत प्रदान गरेका थिए । नाइट लाइफको बजारमा पुर्वमा नै चर्चित बन्दै गइरहेको बगरकोटमा राष्ट्रिय कलाकारको उपस्थितिले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मेन्याङ्बोले बताए ।
दर्शकहरुको लामो पर्खाइपछि स्टेजमा उपस्थित भएकी गायिका शिवानीले डेढ घण्टा प्रस्तुति दिएकी थिईन । उनले आधा दर्जन भन्दा बढी नयाँ पुराना गीत प्रस्तुत गरेकी थिइन् । पछिल्लो समय माया हो बोलको गीत मार्फत चर्चाको शिखर चुमेकी गायिका शिवानीले आफ्नो गीत तिमी बिनाको बोलको गीत गाउँदै माहोल तताएकी थिइन् । उनले माहोल तातिएपछि भने आफ्नो आमा कुन्ति मोक्तानको गीत समेत प्रस्तुत गरेकी थिइन् । उनले दर्शकहरुको अनुरोधमा अन्य गीतको कभर समेत गाउँदै दर्शकलाई नचाएकी थिइन । मोक्तानलाई उनिसङ्गै आएका अन्तरा ब्याण्डले साथ दिएका थिए । धरान हुँदै अब काठमाडौ र पोखरामा कार्यक्रम रहेको आर्बिटरी इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर अविरल शाक्यले जानकारी गराए । कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट आर्विटरीले गरेका थिए ।
सविन राईको कन्सर्ट
यस्तै, धरान-१६ मा अन्नपूर्ण साँझ हुने भएको छ । पुस २७ गते मङ्गलबार एकदिने उत्सवसहितको अन्नपूर्ण साँझ आयोजना हुने पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित राष्ट्रिय गायक सविन राईलगायतका कलाकारले त्यहाँ दर्शकलाई मनोरञ्जन दिने आयोजक संस्थाका कार्यक्रम संयोजक गौतम खालिङले जानकारी दिए ।
अन्नपूर्ण लाइनमा रहेको बिजुली अफिसदेखि पूर्वपट्टिको खाली जग्गामा स्टलसहितको कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए । स्टलमा व्यवसायिक खानेकुराहरु साथै अन्य पसलहरु समेत राखिनेछ ।
मेलिना राई आउने
किरातीहरुको नयाँ वर्ष यलम्वर सम्वत ५०८२ (यलेदोङ) को अवसरमा साँझ धरानस्थित भानुचोकमा नेपालकी चर्चित गायिका मेलिना राईको उपस्थिति हुने भएको छ । हाँस्य कलाकार विल्सन विक्रम तक्मेबुढाले पनि त्यहाँ मनोरञ्जन दिनेछन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप