
धरानः धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याइने खानेपानीको मुख्य टङ्क लाइन (पाइप) मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि बिहीबारदेखि मर्मत कार्य सुरु गरेको छ ।
बोर्डका अनुसार खानेपानीका टङ्क लाइन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख्य टङ्क लाइनमा स्लुइस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण टङ्क लाइनमा नयाँ स्लुइस भल्भ राख्नका लागि बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।
चारकोशे जंगलबाट ल्याइने मुख्य लाइनको पाँच स्थानमा लिकेज भएको छ भने यता धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । सो स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोखरेलले बताए । उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिनेछ । फुटेको लाइनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्ने उनले बताए ।
खानेपानी लिकेज भएको मख्य लाइनको मेयर तिलक राईले स्थलगत रुपमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन दिए ।
यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए । उनले जंगल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरु सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाइसकिएको बताए । बाँकी २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भइरहेको उनले बताए ।