धरानको मुख्य सडकः तीनकुनेबाट बाइपास !

धरानबाट सडक विस्तार गर्दा क्षति हुने भन्दै प्रधानमन्त्री देउवालाई कांग्रेसले बुझायो ज्ञापनपत्र (तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष २०

धरानः धरान-इटहरी सडक विस्तार मुख्य बजारबाट नगर्न नेपाली कांग्रेसले माग गरेको छ ।
नेपाली कांग्रेस धरान नगर समिति र क्षेत्र नं. १ सुनसरीले सो माग गरेको हो । नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटनपछि कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएको छ ।
ज्ञापनपत्रमा निर्माणाधीन जोगवनी–किमाथाङ्का ६ लेनको रामार्गलाई धरान बजारबाट लैजाँदा जनताको ठूलो क्षति हुने भएकोले तीनकुनेबाट बाइपास गर्नुपर्ने जनाइएको छ । ज्ञापनपत्रमा बजार क्षेत्रको सडकको उपयुक्त स्तरोन्नतिमात्रै गर्न माग गरिएको छ ।
विशेषतः धरानको तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडक बनाउने विषयमा अहिले अन्यौलता छ । चीन र भारत जोडिने सोझो ‘लिङ्क रोड’ का रुपमा लिइएको सो सडक धरानसम्म आइपुगेर अन्यौल बनेको हो । धरान–इटहरी सडक खण्डअन्तर्गत धरानको तीनकुनेसम्म हालपनि धमाधम काम भइरहेको छ तर तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडक के हुने हो भन्नेबारेमा अहिलेसम्म अन्यौल नै रहेको हो ।
ज्ञानपनपत्रमा बीपी प्रतिपष्ठानको लामो समयदेखि भइरहेको गतिरोध अन्त्यका लागि ठोस कदम चाल्न ढिलो भइसकेको र सरकारबाट गठित विभिन्न समितिहरुको प्रतिवेदनउपर यथाशीघ्र निर्णायक कदम चाल्न अनुरोध गरिएको छ ।
यस्तै, सेउती, सर्दु, खहरे खोलाको कटान रोग्न तथा करिडोर निर्माणको योजनालाई मूर्तरुप दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ । यस्तै, सुकुम्बासी समस्या, धरान–४ र १४ जोड्ने बेलडाँडामा पक्की पुल निर्माण, धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान, धरान–लेउती सुरुङमार्ग निर्माणका लागि आवश्यक कार्य प्रारम्भ गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
पार्टी कार्यालय उद्घाटन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले धरान-२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले धरानमा कांग्रेसले जितेर इतिहास रचेको बताए । उनले भने, ‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो । अब पार्टी एकताको शुरुवात पनि धरानबाट हुनेछ ।’ उनले पार्टी एकता धरानले नै सुरुवात गर्नुपर्ने उनले बताए । कार्यक्रममा मारवाडी समुदायका केही व्यक्तिहरु पार्टीमा प्रवेश गरेका थिए ।
तस्वीरहरुः  लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP