धरानमा सडक विस्तारः बजारमा अन्यौल

तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडकमा ठेक्का नै लाग्न सकेन


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष १९

धरानः धरान–इटहरी सडक विस्तारको काम धरान बजार क्षेत्रमा भने अन्यौल नै रहेको छ ।
चीन र भारत जोडिने ६ लेन सडकअन्तर्गत धरानमा आइपुगेर अन्यौलकै बीचमा काम हुन नसकेको जनाइएको छ । धरान–इटहरी सडक खण्डअन्तर्गत धरानको तीनकुनेसम्म हालपनि धमाधम काम भइरहेको छ तर तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडक के हुने हो भन्नेबारेमा अहिलेसम्म अन्यौल नै रहेको हो ।
अहिले इटहरीको तरहरादेखि तीनकुनेसम्म ठेक्का लागेर सडक विस्तार भइरहेपनि तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडक के गर्ने भन्नेबारेमा अझै अन्यौल नै रहेको ६ लेन सडक विस्तार आयोजना इटहरीका इन्जिनियर उपेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार तीनकुनेबाट सडक विस्तार गर्दा चार लेन अर्थात ७५ देखि ८० फुटसम्म सडक खाली गराउनुपर्ने हुन्छ । ‘तीनकुनेदेखि जीरोप्वाइन्टसम्म चार लेनकै भएपनि बनाइदिने भनेर हामी लागिपरेका छौं’, उनले भने, ‘तर उपमहानगरपालिकाबाट ठोस निर्णय नआउँदा अहिले सो सडकबारे अन्यौल नै छ ।’ धरान उपमहानगरपालिकाले खाली गराउँछौ भनेर भन्दै आएको तर केही औपचारिक जानकारी नगराउँदा आफूहरुबीचमै पनि अन्यौलता छाएको उनले बताए ।
अहिले सो सडकखण्डमा ठेक्का समेत लाग्न सकेको छैन । ‘कुरा क्लियर नभएसम्म ठेक्का लाग्दैन’, उनले भने, ‘केही समयअघि हामी छलफलमा पनि बसेका थियौं त्यतिबेला खाली गराउने भनेर मेयर सा’बले पहल गर्छौं भनेको तर खाली भयो, कुरा क्लियर भयो भनिसकेपनि अहिलेसम्म केही काम भएको पाइएको छैन’, उनले थपे ।
उनका अनुसार सडक विस्तारका क्रममा करिब ११ सय घर पर्छन् । उनका अनुसार सडक विभागले मुआब्जा दिन नसक्ने तर घर भत्काए क्षतिपुर्ति दिनेछ । ‘खासमा सडक विभागले मुआब्जा दिन सक्दैन तर घर भत्काइएको क्षतिपुर्ति भने दिन्छ तर पनि जग्गा खाली गर्न पहल भएपनि अहिलेसम्म कुनै टुङ्गो नलागेरै अन्यौल भएको हो’ उनले भने ।
धरान उपमहानगरपालिकामा महिनदिनअघि मात्रै आइपुगेका प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद पौडेलले आफूले यस विषयमा बुझ्ने काम भइरहेको बताए । ‘अहिले धरान डे मनाउनमै व्यस्त छौं’, उनले भने, ‘यसपछि यसबारेमा निक्यौल हुनेछ ।’
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सडक विस्तारको काम चाँडै हुने बताए । अहिले सडक विभागलगायतसँग समन्वय भइरहेको र टुङ्गो लगाउन बाँकी रहेको उनले बताए ।
धरान उपमहानगरपालिकाले आव ०७७–७८ नगर सभाले नै ४ लेनको नीतिगत निर्णय नै गरेको थियो । कोशी लोकमार्गको धरानको मुख्य बजार क्षेत्रमा ८० फुटको बनाउने प्रस्ताव पारित गरेको थियो । कोशी राजमार्गलाई मापदण्डअनुसार विस्तार गर्दा धरानको भानुचोकदेखि छाताचोकबीचको मुख्य बजारको अस्तित्व नै नरहने भएपछि धरान उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।
६ लेन सडकका लागि २०८० सम्म समय अवधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने सडक आयोजनाले जनाएको छ । सो सडकलाई चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा लिइएको छ । कोशी राजमार्ग ६ लेन अर्थात् मापदण्डअनुसार ६२ मिटरै विस्तार गर्नुपर्दा धरानको प्रमुख व्यापारिक बजार क्षेत्रमा ठूलो भौतिक नोक्सानी व्यहोर्नुपर्छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP