धरानमा क्रिसमसको चर्चा र रौनक

न्यू लाइफ चर्चद्वारा शुभकामना आदानप्रदान, स्कुले बालबालिकामा रौनक (१५ तस्वीरसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ पुष १०

धरानः धरान अहिले क्रिसमसमय भएको छ । केहीदिन भयो, धरानमा सपिङ महल, गिफ्ट हाउस, रेस्टुराँ अनि होटलहरू क्रिसमसमय भएका छन् । गिफ्ट पसल, सपिङ महललगायतमा क्रिसमसका सामग्रीले सजिएका छन् ।
डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसलाई सेलिब्रेसन गर्न अघिल्लो दिनको साँझ ‘क्रिसमस इभ’ मनाउने चलन छ । त्यसका लागि हप्ता दिनअघिदेखि सहरका बिजनेस सेन्टर, पसलहरूमा क्रिसमस ट्री सजाएर राख्ने गरिन्छ । धरानमा पनि त्यस्तै देखियो ।
क्रिसमसमा त्यहाँ नाचगान हुन्छ, उपहार आदानप्रदान गरिन्छ अनि नयाँ आगन्तुकहरूलाई स्वागत गरिन्छ भने येशुका बारेमा जानकारी समेत दिइने धरानस्थित सियोन मेथोडिष्ट चर्चका पाष्टर खड्गबहादुर थापा मगर बताउँछन् ।
बराह ज्वेलरी इप्रालि, भाटभटेनीदेखि धरानका गिफ्ट हाउसमा अहिले क्रिसमसका सामग्री सजाएर राखिएको छ । प्रवेशद्वार होस् वा पसलमा ठूला–ठूला क्रिसमस ट्री, सान्ता क्लज ठड्याइएका छन् । सपिङ सेन्टरमा कार्यरत कर्मचारीहरूसमेत क्रिसमसमा लगाइने शान्ता क्लज टोपीमा भेटिन्छन् । होटलदेखि सामान्य लजहरू तथा सपिङ सेन्टर एवं मलहरू क्रिसमस ट्रि र शान्ता क्लजले झकिझकाउ छ ।
जब डिसेम्बर महिना प्रारम्भ हुन्छ, तब क्रिसमसको चर्चा भै नै हाल्छ । क्रिसमस भन्नेबित्तिकै धेरैको मनमा ‘क्रिसमस ट्री’, ‘शान्ता क्लज’, विभिन्न उपहार, चर्च तथा येशुको नाममा गरिने प्रार्थनाको सम्झना आउँछ । सपिङ मल, होटल, रेस्टुराँदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनहरूको चहलपहल पनि बाक्लिन थालेको छ, कार्यक्रम हुन थालेको छ । सपिङ महल, गिफ्ट हाउसमारहेको ट्रीको वरपर झुम्मिएर तस्वीर खिच्ने वा सेल्फी लिने युवायुवती तथा बालबालिकाहरू पनि निकै बढेका छन् । क्रिसमसको रातोटोपी लगाएर हिँड्ने युवायुवतीको लर्को यतिबेला धरानको चोकचोकमा देखिन्छ । नेपालमा झन्डै ४ सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको इतिहास छ ।
इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्ट जन्मिएको दिनलाई भव्यताका साथ मनाउँछन् । डिसेम्बर २५ तारिखको साँझ ‘क्रिसमस इभ’ को रमझममा हुन्छ । रमाइलो गर्न तम्सने अन्य धर्मावलम्वीका युवायुवती, वृद्धवृद्धाहरूका लागि क्रिसमस इभ एउटा रमाइलो बहाना बन्ने गरेको छ । भनौं क्रिसमसमा क्रिस्चियन धर्मावलम्वीहरू मात्र नभएर गैर क्रिस्चियनहरू पनि रम्न थालेका छन् ।
केहीवर्ष भयो, नेपालमा पनि क्रिसमस इभ मनाउने चलन बढेको छ । धरानलगायत नेपालका प्रमुख शहरहरूमा क्रिसमसका विभिन्न कार्यक्रम आयोजित भइरहेका हुन्छन् ।
धरानमा स्कुल बालबालिकाहरुमा रौनक
धरानका अधिकांश स्कुलले पनि क्रिसमस मनाएर तस्वीरहरु सामाजिक सञ्जालभरी पोष्ट्याएको पाइएको छ । भनौं, स्कुले विद्यार्थीलाई पनि क्रिसमसले छोएको छ । अहिले स्कुलका विद्यार्थी क्रिसमस मनाउन साथै यसबारे जान्न खोजिरहेको पाइन्छ । अहिले स्कुलले पनि क्रिसमसबारे जानकारी दिने गरेको छ । धरानस्थित मन्टेश्वरी चिल्ड्रेन्स हाउस, धरान मन्टेश्वरी, मन्टेश्वरी किन्डर गार्टेनलगायतका मन्टेश्वरी स्कुल र अन्य स्कुलहरुले पनि क्रिसमस मनाएका छन् ।

न्यू लाइफमा शुभकामना आदानप्रदान
धरान–१२ स्थित न्यू लाइफ चर्चले पनि ख्रिष्टमसको शुभकामना आदानप्रदान कार्यक्रम २०७८ आयोजना गरेको छ । शुक्रबार साँझ ७ बजेदेखि यस्तो कार्यक्रम राखेको हो । कार्यक्रममा विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना भएको चर्चका पाष्टर मेहरमान ह्युज गिरीले जानकारी दिए ।
त्यहाँ धरानका पत्रकारहरुसँग शुभकामना आदानप्रदान कार्यक्रमसहितको कार्यक्रम आयोजना गरिएको थियो । हार्ट एफएमको आयोजनामा भएको कार्यक्रममा इसाई समाज प्रदेश नम्बर १ का अध्यक्ष एवम् प्रवचन वक्ता विक्रम एक्तेङ लिम्बू प्रमुख अतिथि रहेका थिए ।
हार्ट एफएमका अध्यक्ष एवम् चर्चका पाष्टर ह्युजले पत्रकार लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई शुभकामना दिनुका साथै मायाको चिनो प्रदान गरे । त्यस्तै, हार्ट एफएमका स्टेशन म्यानेजर रमेश राईले कार्यक्रममा उपस्थित पत्रकारलगायत अतिथिहरुलाई स्वागत गरे ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राईलगायत अन्य सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । अग्रज पत्रकार सुब्बा, महासङ्घका अध्यक्ष राई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । क्रिसमस इभमा कलाकारहरुले आकर्षक गीत र नृत्य समेत प्रस्तुत गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप

SKIP