धरानको बीपी प्रतिष्ठानका डाक्टर भन्छन्- क्षयरोगी लजाउँछन्

धरानमा एमडिआर क्षयरोगी बढे, ज्यान लिने यो रोग १०० प्रतिशत निको हुन्छ तर लुकेर बस्छन् (भिडियो सन्देशसहित)


  • डा. दीपक यादव
  • २०७८ मंसिर १३

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसिएट प्रोफेसर डा. दीपक यादवले धरानमा अझै पनि क्षयरोगी लजाउने गरेको बताएका छन् ।
नेपाल क्षयरोग निवारण जिल्ला शाखा सुनसरीको आयोजनामा भएको धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनका विद्यार्थीलाई सचेतना कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग १०० प्रतिशत निको हुने रोग भएपनि समाजमा लुकेर बस्ने गर्दा क्षयरोगी बढ्ने उनको धारणा थियो ।
उनले औषधि नखाइकन यो रोग निको नहुने पनि बताए । ‘यो रोग १०० प्रतिशत निको हुने रोग हो तर औषधि खानैपर्छ’, उनले थपे, ‘औषधि नखाइ यो रोग निको नै हुँदैन ।’ रोगबाट लड्ने क्षमता कमजोर भएका, कुपोषणको शिकार भएका, पोषणयुक्त खानेकुरा कम खाने आदिमा यो रोग लाग्ने उनले बताए ।
एउटा बिरामीले वर्षमा १० देखि १५ जनालाई क्षयरोग सार्न सक्ने उनले जानकारी दिए । ‘क्षयरोग लागेमा औषधि, उपचार नगरे ज्यान जान सक्छ’, उनले भने । ६ महिनासम्म नियमित क्षयरोगको औषधि नखाएमा रोग बल्झिने र ज्यान जान सक्ने उनले बताए । बल्झिएको क्षयरोगलाई एमडिआर क्षयरोग भनिन्छ । धरानमा एमडिआर क्षयरोगी बढेको र वर्षमा १० जनासम्म उपचारका लागि आउने गरेको उनले बताए ।
उनले बालबालिकामा ग्ल्याण्ड टिवी लाग्ने गरेको बताउँदै उनले यस्ता बालबालिका पनि उपचारका लागि आउने गरेको बताए । ‘यस्तो टिवी बालबालिकामा बढी लाग्ने गरेको छ, समयमै उपचार गरे निको हुन्छ ।’ उनले भने ।
उनले नेपालमा करिब ६० प्रतिशत वयष्क जनशक्ति क्षयरोगबाट संक्रमित छन् । त्यसमध्ये करिब ८० हजारदेखि ९० हजार मानिस क्षयरोगबाट पीडित छन् र करिब ५ हजारदेखि ७ हजार व्यक्ति प्रति वर्ष क्षयरोगबाट मर्ने गर्छन् ।

यो रोग कस्तो हो ?
क्षयरोग माइकोव्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ,खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन । र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन ।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ । जस्तैः कुपोषण, एचआईभी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन् ।
मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ –फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) ।
फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।
फोक्सोको क्षयरोगका लक्षणहरू – दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,शरीरको तौल घट्नु , खासगरी बेलुकापख ज्वरो आउनु ,छाति दुख्नु ,खाना अरुची हुनु ,खकारमा रगत देखिनु आदि ।

त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ । जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ। हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ । पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पनेर्, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ ।
त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ ।
फोक्सोको क्षयरोग निदान गर्ने सरल ,भरपर्दो उपाय भनेको खकार परीक्षण गर्नु नै हो । दुइ हप्ता भन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ। त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन्। केही गरी निदान गर्न गाह्रो भएमा न्भलभ ह्उभचत प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि बायोस्पी आदि परीक्षण उपयोगी हुन्छन् । क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ । यस अवधिमा सबै बिरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ, जसमा विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्छ तर यो सामान्य हो, डराउनु पर्दैन ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप