धरानमा भित्रियो युवापुस्ताले मन पराएको बाइक

आयो एड्भेन्चर बाइक, मोडिफाइ गर्न नपर्ने, जोङसन बाइक र स्कुटीको कति छ मूल्य ? (१३ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ११

धरानः नेपाली बजारमा जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटी भित्रिएसँगै धरानमा पनि यसको बजार विस्तारको तयारी थालिएको छ ।
धरानका लागि आधिकारिक बिक्रेता लोक–जगत मोटर्सले बिक्री–वितरणका शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ । धरान–८ मा शोरुम सञ्चालनमा ल्याउन लागेको हो । केही हप्तापछि धरानमा यस्तो मोटरसाइकल र स्कुटी लञ्च हुने सञ्चालकमध्येका जगत राना मगरले जानकारी दिए ।
यसैबीच शनिबार ‘टेष्ट ड्राइभ’ गरिएको छ । धरानमा पनि यसको ‘टेष्ट ड्राइभ क्याम्पियन’ आयोजना गरिएको छ । यो क्याम्पियन भोलि अर्थात् आइतबारसम्म रहने उनले जानकारी दिए ।
सञ्चालक लोकेन्द्रराज थेबेले आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर यहाँ भित्रिएको जानकारी दिए । नेपालका लागि आधिकारिक वितरक कम्पनी रिजोन मोटर्स बिजनेश प्रालिका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले देशका विभिन्न भाग साथै पूर्वका दमक र बिर्तामोड बिर्तामोडमा यसको शोरुम खुल्ने जानकारी दिए । आगामी दिनमा अन्य विभिन्न मोडल र पार्टस, इलेक्ट्रिक सेगमेन्ट समेत ल्याइने उनले जानकारी दिए । पहिलोपटक ७ वर्षसम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत उनले जानकारी दिए ।
‘चाइनिज सामान कस्तो हो, के हो भन्ने अधिकांश ग्राहकको सोधाइ हुन्छ’, उनले भने, ‘७ वर्षको इन्जिन वारेन्टी दिन्छौं र सामान बिग्रिए सामान उपलब्ध गराउने वारेन्टी पनि दिन्छौं ।’ उनले हाल ३ वटा सेगमेन्टमा सवारी साधन भित्रयाएको र नयाँ वर्षसम्ममा १० वटासम्म सेगमेन्ट भित्रयाइने जानकारी दिए ।
यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिङ्गल सिलिन्डर फोर भल्व वाटरकुल्ड इञ्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्याङ्की छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिब १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ ।
यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पाङ्ग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् ।
जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्ष्यित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।
जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्वील, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् ।
दुई पाङ्ग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।
जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् ।
मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिने बताइएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप