धरानमा लकडाउनले सिकाएको व्यवसाय

धरानका दुईजना युवाः जसले ४० लाख लगानी गरेर सस्तो दाममा खुवाउँदैछन् रैथानेदेखि अर्गानिक खानेकुरा, आफ्नै उत्पादन पनि शुरुवात (२१ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ९

धरानः धरानका दुईजना युवा मिलेर व्यवसाय शुरु गरेका छन् । शुरुवाती चरणमा ४० लाख रुपैयाँ लगानी गरेर रैथानेदेखि अर्गानिक खानेकुरा खुवाउने उनीहरुको लक्ष्य छ । यति मात्रै होइन उनीहरुले आफ्नै उत्पादन पनि बिक्री–वितरण गर्न थालेका छन् । धरानका दुई युवा नवराज (कपिल) सुनुवार र वसन्त राई मिलेर यस्तो व्यवसायको थालनी गरेका हुन् ।
धरान–१० पुतलीलाइन (खहरे छेऊ) मा रहेको मास्के कम्प्लेक्सको ग्राउण्ड फ्लोर भाडामा लिएर उनीहरुले यस्तो व्यवसाय थालेका हुन् ।
स्वस्थ, सरल, सस्तो तीनवटा कुरालाई सिद्धान्त बनाएर हरेक अर्गानिक प्रोडक्ट बिक्री–वितरण थालिएकोे सञ्चालकमध्येका सुनुवारले जानकारी दिए । उनले सब्जीपसलभन्दा पनि सस्तो दरमा सागसब्जीलगायत अन्य सबै सामग्री उपलब्ध गराउने ठोकुवा गरे । ‘खासमा अर्गानिक महङ्गो हुन्छ भन्ने आम बुझाइ छ तर हाम्रोमा सस्तो दरमा उपलब्ध गराउँछौं, जतिमा उपलब्ध गराउँछौं, त्यसमा १० प्रतिशत छुट समेत दिँदै आएका छौं ’, उनले थपे, ‘हाम्रो स्वस्थ, सरल र सस्तो सिद्धान्तलाई भुल्दैनौं ।’
उनले रैनाथे अन्न, हिमाल, पहाड साथै तराईका गेडागुडीदेखि ताजा फलफूल तथा सब्जी बिक्री थालिएको बताए । उनले मसला, अचारका परिकारहरु, औषधीय गुण भएका जडिबुटीहरु, सुख्खा फल तथा विविध पोषणयुक्र बियाँहरु, विभिन्न फलफूल तथा फूलहरुका विरुवा पनि बिक्रीका लागि राखिएको बताए । ‘खासमा हामीले रैथाने, औषधीय गुण भएका जडिबुटी, पोषणयुक्त खाना र अर्गानिक परिकारलाई जोड दिएका छौं ।’ उनले भने ।


कसरी आयो ‘कन्सेप्ट’ ?
सञ्चालक सुनुवारका अनुसार यस्तो व्यवसाय गर्ने कन्सेप्ट लकडाउनले सिकाएको हो । ‘लकडाउनले धेरैजनालाई उठीबास नै लगायो, त्यतिबेला खाद्यान्न नै पनि अभाव धेरै भयो, आफ्नै लागिपनि सहज बनाउने र अन्यलाई पनि सहज हुने खालको व्यवसाय यसलाई छान्यौं र यसलाई एउटा चौतारी बनाऔं भनेर दुईजना मिलेर लाग्यौं ।’ उनले भने ।
उनले फेरि पनि लकडाउन नहुने भन्ने कुनै पनि आधार नभएको हुनाले पनि लकडाउनकै बेला पनि सबैलाई सेवा दिने र स्वस्थ खानेकुरा खुवाउने उद्देश्यले यस्तो व्यवसायमा हात हालेको बताए । ‘स्वस्थबद्र्धक तरिकाले कसरी म्यानेज गर्ने भनेर सोच्यौं, लकडाउनपछि यसरी गर्नुपर्छ भनेर योजना बनायौं ।’ उनले थपे ।
अर्का सञ्चालक राईले सब्जीपसल कहीँपनि सिष्टमेटिक नदेखेको बताए । ‘सिष्टमेटिक किसिमले तरकारी बिक्री–वितरण नहुँदा आफूहरुले नै धुलो मिसिएको तरकारी वा अन्य फलफूलहरु खाइरहेका छौं, त्यसैले त्यसैलाई नयाँ तरिकाले, सिष्टमेटिक तरिकाले काम गर्न खोजेका हौं ।’ उनी भन्छन् ।
उनी आफै गाईपालन, कुखुरापालन, टर्कीपालन, तरकारी उत्पादनमा पनि लागेका किसान भएकोले उनले तरकारी दुई कुराले महङ्गो हुने देखेको बताउँछन् । बिचौलिया प्रविधि र खेर जाने सामग्री (वेष्टेज) को पनि मूल्य राखेर बेच्दा तरकारीलगायत फलफूल महङ्गिने उनले बताए । ‘बिचौलिया हट्दा र वेष्टेजलाई पनि म्यानेज गरे (जस्तैः सागबाट गुन्द्रुक बनाउने आदि गरे) पछि सागसब्जी, फलफूल सस्तो हुन्छ,’ उनी भन्छन्, ‘हामी त्यसै गरेर नै सस्तो दरमा सामग्री उपलब्ध गराउनेछौं ।’
आफ्नै उत्पादन पनि
उनीहरुले प्रदेश १ का विभिन्न जिल्लाबाट कलेक्सन गरेर ल्याउने सागसब्जी, फलफूल, खाद्यान्नमात्रै होइन आफ्नै उत्पादन पनि बिक्री–वितरण गर्न थालेका छन् । धरानमै आफ्नै उत्पादन गर्दै आएको र ती प्रोडक्ट पनि पसलमा बिक्री–वितरण थालिएको सुनुवार बताउँछन् । उनीहरुले धरानमा उत्पादन गर्ने खाद्य परिकारमा खाप्से, लाखमरी अर्थात् औठा (नेवारी फुड), काठमाडौं रसिलगुडीतिर ब्यापक प्रचलन र उत्पादन हुँदै आएको पापड आदि छन् । उनीहरुले धरानमा रोजगार प्रदान गर्न यस्तो उत्पादनको थालनी गरेको जानकारी दिए ।
उनीहरुले यी सामग्रीसहित दूधजन्य पदार्थहरु जस्तै, दूध, दही, नौनी घिउ, पनिर, चीजको पनि बिक्रीवितरण गर्ने जनाए । उनीहरुका अनुसार पसलमा लोकल कुखुरा, ब्रोइलर कुखुरा, हाँस, खसी, बङ्गुरका मासिहरु र विभिन्न पन्छीहरुका अन्डाहरुको पनि बिक्री–वितरण थालिनेछ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप