उफ ! महिला हिंसा


  • कृष्ण शर्मा
  • २०७८ मंसिर ९

कलम त्यही विषयमा चल्छ जुन कुराको समाजमा अलि बढी चर्चा हुन्छ । जुन विषयले वा समस्याले मन अलि बढी बिझाउँछ/ छुन्छ । विशेषतः छोरीको सन्दर्भमा नेपाली समाज झन् झन् विकराल बन्दै गएको पाइन्छ । हिंसा, हत्या, बलात्कार, सामूहिक बलात्कारका घटनाहरू न्यूनीकरण हुनुको साटो अझ बढी नयाँ शैली, प्रकृति र स्वरूपमा बढ्दै गएको अवस्था छ ।

एकातर्फ सूचना तथा सञ्चार प्रविधिको चरम विकाससँगै विश्व जगत् एउटा स्वचालित जस्तै बन्दै गएको छ भने अर्कोतर्फ मानव सभ्यता र प्रणालीमा तीव्र गतिमा परिमार्जन र परिवर्तन भइरहेको छ । तर ढुङ्गे युगबाट फड्को मार्दै यन्त्र युगमा परिणत भइसक्दा पनि हाम्रो शोच र प्रवृत्ति भने कतै अलमलिएको छ । हाम्रो समाजका पुरुष जातिको सोचाइ किन यति सारो हिंस्रक र आपराधिक बन्दै गएको हो । यो अत्यन्त गम्भीर चिन्ताको विषय हो । यस आलेखमा खास गरी एक्काइसौँ शताब्दीको समाजमा छोरीप्रतिको बदलिन नसकेको धारणा र मानसिकताको सवालमा केन्द्रित हुन खोजिएको छ ।

हाम्रो समाज धेरै आयामबाट विकसित भएको छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक लगायत सबै क्षेत्रमा व्यापक उथलपुथल र परिवर्तन आएको कुरालाई नकार्न सकिँदैन । कुनै काल खण्डमा पति परलोक हुँदा जिउँदै सती जानु पर्ने कहाली लाग्दा परम्पराहरू समयको गतिसँगै नामेट भएका छन् । छोरीलाई शिक्षामा जोड दिन थालिएको छ। महिलाहरू मुलुकको उच्च पद तथा ओहदामा रही महत्त्वपूर्ण जिम्मेवारी निभाइरहेका छन् । तर दु:खका साथ भन्नु पर्छ महिलालाई हेर्ने दृष्टिकोणमा भने अपेक्षित परिवर्तन हुन सकेन । छोरीलाई यो समाजले सधैँ कमजोर देख्यो । अबला देख्यो र परनिर्भर बनाउन खोजिरह्यो । आधा आकाश मात्र होइन सिङ्गो आकाश महिलाको हो भन्दै ठुलो ठुलो स्वरमा भाषण गर्ने तर पखेटा नियन्त्रणमा लिई आकाशमा उड्न स्वतन्त्र छाडेको बहाना गर्न पछि नपर्ने पुरुषवादी साेच र व्यवहारमा भने आज पर्यन्त पनि परिवर्तन आउन सकेको छैन । तितो यथार्थ यही हो ।

चार वर्षका बालिकादेखि हजुरआमाको उमेरका महिला बलात्कारमा परेका घटनाहरू दिनहुँ जसो अखबारमा पढ्नुपर्ने हाम्रो नियति नै बनिसकेको छ । केही समय अगाडि चौरानब्बे वर्षको लट्ठीको सहारामा हिँड्नु पर्ने एक वृद्ध पुरुषले चार वर्षको नानीलाई बलात्कार गरेको घटना पढ्दै गर्दा मानव सभ्यता, मानवीय संवेदनशीलता तथा मानवीयता कता तिर जाँदै छ भन्ने एउटा गम्भीर प्रश्न पैदा हुन्छ । यस्ता घटनाहरू पढिरहँदा लाग्छ अहिले मानव सभ्यता कतै उल्टो दिशातर्फ जाँदै त छैन ? मानवीय संवेदना हराउँदै र कठोर बन्दैछ आजकल । र, त यस्ता सोच्न पनि नसकिने निकृष्ट अमानवीय र कल्पना भन्दा पनि परका घटनाहरू हरेक दिन जसो घटित भइरहेका छन् । छोरीहरू जन्मनु भन्दा अगाडि देखि नै सुरक्षित छैनन् । जन्मिसके पछि पनि पाइलै पिच्छे त्रास, डर, भयबाट मुक्त भई स्वच्छन्द बाँच्न सक्ने स्थिति छैन ।

हामीले विगतदेखि गरेका सङ्घर्षहरू कुन विषयमा केन्द्रित थिए त ? इतिहासदेखि गरिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्रान्ति र आन्दोलनले ल्याउन खोजेको कस्तो परिवर्तन हो ? केवल कुर्सी र पदको लागि या अरू पनि केही थियो । के यो समाजमा विभिन्न काल खण्डमा भएका बलिदानी र उथलपुथलहरू समाजको कुसंस्कारहरूलाई पाखा लगाउनको लागि भएका होइनन् र ? अर्थात् कुकर्मलाई निरुत्साहित गर्न र सभ्य समाजको परिकल्पना गर्नको लागि होइन र ? अनि फेरी किन त आजसम्म पनि मानवीय शोच र व्यवहार महिलामैत्री हुन सकेनन् । किन यस्ता पाशविक, बलात्कारजन्य असभ्य घटनाहरू पटक पटक दोहोरिएका दोहोरिएकै छन् ।

समाज परिवर्तन गर्नु छ, राष्ट्रलाई समृद्ध बनाउनुछ भने एक हदसम्मको निरङ्कुशता वा नियन्त्रणात्मक क्षमता शासनमा हुनै पर्छ । अधिक स्वतन्त्रताले अराजकता निम्त्याउँछ । त्यसलाई रोकेर समाजलाई अनुशासित बनाउन उचित कानुनी तथा नीतिगत संयन्त्र निर्माण गरी सोको व्यवहारिक कार्यान्वयनद्वारा समाजलाई सही दिशा दिनुपर्दछ । दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण तथा सोको उपर रहेको समाजको मौन स्वीकृतिले यस प्रवृत्तिलाई थप मलजल पुगेको यथार्थ हो । बलात्कार, यौनजन्य हिंसा र यस प्रकृतिका घटनाका पिडकहरूमाथि राज्यको निगरानी जबरजस्त हुनै पर्छ । महिलाप्रतिका दृष्टिकोणहरूलाई सकारात्मक बनाउनै पर्छ ।

मुलुकमा शक्ति सम्पन्न सरकार छ जसले आम नागरिकको अभिभावकको जिम्मेवारी लिन्छ । समाजमा बुद्धिजीवी वर्गको जमात छ, नागरिक समाज छ, समाज बदल्न लागि परेका अगुवाहरू छन्, प्रशासन संयन्त्र छ । फेरी पनि ती सबै पक्ष महिलाका यावत सवालहरूमा किन अपेक्षित गम्भीर हुन सकेनन् । यस्ता भयङ्कर बलात्कार तथा यौन जन्य हिंसाका घटनाहरू किन रोकिएका छैनन् । सुन्दा र पढ्दा नै आङ जिरिङ्ङ गराउने घटनाहरू किन दोहोरिइरहन्छन् त । किन नियन्त्रण हुन सकेनन् । गम्भीर भएर समीक्षा गर्ने बेला भएको होइन र ?

समाज भित्रको अत्यन्तै घृणित अपराध बलात्कार, यौनजन्य हिंसा र त्यसमाथि सामूहिक बलात्कार र बलात्कार पछि हत्या । यस प्रकृतिका घटना पश्चात् पनि पीडकहरू लामो समय सम्म कानुनको दायरामा आउन नसक्नु झनै लज्जास्पद विषय हो । यसो हुनुका पछाडि राज्यको निरीहता हो वा छोरीप्रतिको बेवास्ता हो भन्ने गम्भीर सवाल पैदा हुन्छ । यौनजन्य हिंसाका पीडकहरू जब बर्षौ फेला पर्दैनन् यस्ता खालका प्रश्नहरू उठ्नु स्वाभाविक नै हो ।

दिनहुँ जसो जब पत्रपत्रिकामा किशोरी /महिला बलात्कार र यौनजन्य हिंसा सम्बन्धी समाचार पढ्नुपर्दा मानसिक आघात एवं चोट परेको महशुस हुन्छ । त्यस्ता घटनाहरूले मानसपटलको गहिराइसम्म पुर्याउछ ‍र समाजका पुरुष प्रवृत्तिप्रति घृणा जाग्छ । यो सब के का लागि हुन्छ । के बलात्कार कुनै पुरुषको नियन्त्रण गर्न नसक्ने रोग हो । या कुनै कुरा सोच्नै नसक्ने भावशुन्यताका कारण मानिस बलात्कार गर्न पुग्छ ? या अरू केही हो । छोटो पहिरन र नारीको सुन्दरतालाई नै बलात्कारको कारक मानिनु के युक्तिसंगत होला त ? विश्लेषण गरौँ र यदि त्यसो भन्दै गर्दा एउटी हजुरआमाको उमेरकी महिला अनि दुधे वालिका किन बलात्कारमा पर्छे विचारणीय छ ।

यस्ता घटना घट्नुको पछाडिको मनोविज्ञान र मनोदशा के हो त्यसतर्फ पनि गहन अनुसन्धान गर्नुपर्ने हो कि ? अनेक प्रश्नहरू उब्जिन्छन्, मन भारी हुन्छ । विशेष गरी आफ्नो छोरी सन्तान हुने बाबुआमालाई यस्ता दृश्य र घटनाहरूले थप चिन्ता जन्माइरहन्छ ।

किन राज्य संयन्त्र यस्ता विषय प्रति गम्भीर नभएको होला । किन घरेलु हिंसा, बलात्कार र यौनजन्य हिंसाका घटनाका कारण र र त्यसका पछाडिका रहस्यहरूको बारेमा पर्याप्त खोजी गरिँदैन । र त्यसको निराकरण गर्नका लागि थप कठोर कदम चालिँदैन । ताकि फेरी पनि पटक पटक यस्ता घटनाहरू दोहोरिन नसकुन् ।

छोरीहरू कहिलेसम्म कमजोर भइरहने ? हामीले यदि चासो राख्ने हो भने हरेक पाइला पाइलामा महिलालाई होच्याउने, हर्यास्मेन्ट गर्ने र पछाडिबाट उछितो काढ्ने प्रवृत्ति पुरानै हो र आजसम्म पनि त्यो हट्न सकेन । एउटा अब्बल अनि राष्ट्र र समाजको लागि जिम्मेवारी बोकेर योगदान गरिरहेको सशक्त महिला किन नहोस् उसको जिम्मेवारीको खुलेर प्रशंसा गरी थप उत्प्रेरित गर्न यो समाज तत्पर देखिँदैन बरु सकेसम्म उसका कमजोरीहरू खोज्न लागि परिरहन्छ यहाँ जकडिएर रहेको कथित पितृसत्ता । जुन संस्कार हाम्रो पुर्खादेखि नै विरासतमा प्राप्त पुरुषवादी सत्ताको उपहार नै होला शायद ।

पछिल्लो समयमा देशमा वढिहरेको महिला हिंसा, बलात्कार, जबरजस्ती करणी लगायतका घटनाहरूको रोकथाम गर्न देशको राज्य संयन्त्र, नेपाल प्रहरी तथा अन्य केही सङ्घ संस्थाहरूद्वारा मुलुकका कतिपय ठाउँमा किशोरीहरूलाई आत्मबल बढाई त्यस्ता घटनाहरू न्यूनीकरणको लागि आत्मरक्षा सम्बन्धी तालीम दिन थालिएको छ । महिलामाथि हुने हिंसाको प्रतिकार गर्न स्वयं महिलाहरू नै सक्षम र सशक्त हुनु पर्ने मान्यता राख्दै महिलाहरूको निमित्त आत्मरक्षा एवं प्रतिरोध तालिम दिई महिलामाथि हुने गरेका यस्ता अमानवीय क्रियाकलापहरूको प्रतिरोध गर्न महिलाहरूलाई नै सक्षम बनाउनु जरुरी छ । यो एउटा विकल्प त होला तर अन्तिम अस्त्र हुन सक्दैन ।

त्यसको लागि राज्यको समग्र संयन्त्र संवेदनशील हुनुपर्छ । छोरीलाई हेर्ने दृष्टिकोणमा पूर्ण परिवर्तन हुन जरुरी छ । महिलालाई वस्तु सरह व्यवहार गर्ने प्रवृत्तिको अन्त्य गर्दै दिगो समानता र समतायुक्त समाजको निर्माणमा जोड दिनुपर्दछ । पुरुषवादी सोच, शैली संस्कार, व्यवहार, प्रवृत्ति, मनोवृत्तिमा रहेको हिंस्रक मनोविज्ञानमा सुधार हुनुपर्छ । अनि जब समाज र पुरुष सत्ताले छोरीमा दरिलो भविष्य देख्न सक्छ, भरोसा र विश्वास गर्न सक्छ यस प्रकृतिका हिंसाजन्य घटनाहरूको स्वतः न्यूनीकरण हुँदै जानेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप