धरानमा कांग्रेसका उम्मेद्वारद्वारा मनोनयन

दहीको सगुन खाएपछि मनोनयन, स्वतः जित्ने भएँः सुजेन्द्र, निष्ठाको राजनीति गर्ने हुनाले म जित्छुः खतिवडा, हार्छु भनेर म नउठेको होइनः मेयर राई (१० तस्वीरसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ६

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ का लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।
उम्मेद्वारी मनोनयन दर्ता मतदान केन्द्रकोरुपमा रहेको धरान–८ थित सभागृहमा भएको हो । सो मतदान केन्द्रमा मङ्गलबार बिहान ८ बजे ३ देखि मतदान हुने मतदान जनाइएको छ ।
क्षेत्र नं. १ को सभापतिका लागि सुजेन्द्र तामाङ प्यानलका उम्मेद्वारहरुले मनोनयनअघि प्रदेश १ का प्रदेशसभा सांसद चन्द्रप्रसाद श्रेष्ठको हातबाट सयपत्री माला पहिरिँदै दहीको सगुन खाएर मनोनयन दर्ता गरेका थिए । उनलाई सांसद श्रेष्ठको साथ छ ।
यस्तै, सभापतिमा पहिलोपटक उम्मेद्वार बनेकी लक्ष्मी खतिवडाले पनि मनोनयन दर्ता गरेकी छिन् । मनोनयन दर्तापछि बोल्दै सुजेन्द्रले आफ्नो प्यानलको जीत सुनिश्चित भएको दावी गरे । ‘प्रदेश क र ख मा भएको निर्वाचनबाट नतिजा आइसकेको छ’, उनले भने, ‘त्यसै आधारमा पनि जित्ने निश्चित देखियो ।’ उनले क र ख बाट अनिल श्रेष्ठ र मुरारी भट्टराईले जितिसकेको बताउँदै थपे, ‘यी दुवैले जितेपछि नै विजय निश्चित थियो, त्यस्तै, पछिल्लो घटनाक्रमअनुसार मेयरतिलक राईले उम्मेद्वारी नदिने भइसकेपछि हामी अझै एक भएर दर्बिलो भइसक्यौं, त्यसैले स्वतः जित्छु ।’ उनले तिलकले उम्मेद्वारी नदिएपछि कांग्रेसजनमा रहेको भ्रम पनि टुटेको बताए । ‘अहिले कार्यकर्तामाझ एकखालको भ्रम थियो, त्यो भ्रम पनि टुट्यो, हाम्रो एकता देखियो, त्यसैले चुनाव जित्छु नै ।’ उनी भन्छन् । उनी कोइराला–पौडेल निकट हुन् ।
यस्तै, उम्मेद्वार खतिवडाले नेतृ खतिवडाले आफू सधै सत्य र निष्ठाको राजनीति गर्दै आएकोले आफ्नो जीत सुनिश्चित भएको प्रतिक्रिया दिइन् । ‘म निष्ठाको राजनीति गर्दै आएकी मान्छे हुँ’, उनले भनिन्, ‘त्यही भएर मप्रति जनताको विश्वास अझ बढी छ, त्यही भएर अन्तिममा आएर उम्मेद्वारी दिएकी छु, जनताको विश्वासले नै जित्ने हो ।’
लामो समय नेविसंघ, तरुण दल हुँदै पार्टीको मूल नेतृत्वमा रहेर काम गरिसकेकी उनी प्रभावशाली नेतृ मानिन्छिन् । उनी देउवानिकट हुन् ।
हार्छु भनेर नउठेको होइनः मेयर तिलक राई
उता सुनसरी क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदमा उम्मेद्वार बन्न लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने हार्छु भनेर आफू नउठेको प्रतिक्रिया दिएका छन् ।
देउवा समूहका उम्मेदवार भनी प्रचार गरिएपनि सो समूहभित्रै विश्वासको वातावरण नभएका कारण आफू उम्मेद्वार हुनबाट पछि हटेको उनको प्रतिक्रिया छ । उनले आफू हार्छु भनेर नउठेको दावी गर्दै भने, ‘हार्छु भनेर नउठेको होइन, यसको अन्य विविध कारण छन् ।’
देउवा समूहका धरानका कमाण्डर पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द्र तुम्बाहाङले मंगलबार विहान पत्रकार सम्मेलन गरी तिलक राईले समूहलाई धोका दिएको आरोप लगाउँदै महिला नेतृ लक्ष्मी खतिवडा क्षेत्रीय सभापतिको उम्मेदवार भएको घोषणा गरिएको थियो । राईले भने देउवा समूहले आफ्नो नाम उम्मेदवारको रुपमा प्रचार गरेपनि औपचारिक रुपमा घोषणा नभएको दाबी गरे । उनले भने, ‘औपचारिक रुपमा देउवा समूहबाट मेरो उम्मेदवारी घोषणा भएको थिएन ।’
कांग्रेस धरान नगर समितिका सभापति हुँदा आफूलाई स्थानिय संस्थापन पक्ष भन्दै आएका तिलक राईले भने, ‘मलाई सहयोग गर्दै आएका साथीहरुले सुजेन्द्रलाई उम्मेदवार बनाउने भएपछि देउवा समूहका नेताहरुले उहाँहरुको समर्थनमा उम्मेदवार बन्न आग्रह गरेको हो ।’ हतारहतारमा आएको यस्तो आग्रहअनुसार समूहभित्र छलफल भइरहेको थियो । ढिलो तयारी गरिएकाले होला पर्याप्त छलफल हुन नसक्दा समूहभित्रै विश्वासको वातावरण बनेन । समूहभित्रैबाट कोही अन्तरघात गर्न सक्रिय भए ।’
राईका अनुसार समूहभित्रै अगुवाको भनाई नमान्ने अविश्वासको वातावरणमा केन्द्रीय नेताहरुले स्थलगतरुपमै सहमतिको भूमिका खेल्नुपर्ने थियो त्यस्तो नभएको र एकअर्काबीच टकराव गराउने उद्देश्य मात्र राखिएको जस्तो देखियो । यस्तो अवस्थामा धरान नगरबासीको विश्वास हासिल गरेको मेयरले पार्टीका साथीहरुसँग जीत–हारका लागि टकराव गर्न मुनासिव नदेखेकाले उम्मेदवार बन्न चाहिनँ ।
आफै धोका खानबाट बचेको तर कसैलाई धोका नदिएको बताउँदै मेयर राईले भने, ‘अहिलेसम्मको तयारी तथा स्थिति स्पष्ट गर्दै मैले उहाँहरुलाई पार्टीको आन्तरीक प्रतिस्पर्धा हो हिजो म तपाईहरुको समूहमा थिइन्, अब मैले उम्मेदवारी नदिँदा तपाईहरुलाई केही फरक पर्दैन भनी बताएको सम्म हो ।’ क्षेत्रीय सभापतिमा नउठेपनि धरान र क्षेत्रका कुरा पार्टीमा उठाउन महाधिवेशन प्रतिनिधिमा पूर्व सभापति सुरेशमान श्रेष्ठसहित केही साथीहरु उम्मेदवार हुने उनले बताए । तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप