स्थानको नाम कति फेरिरहन्छौ ?

जुन स्थानका नामहरु फेरिए, विशेषतः आदिवासी जनजातिहरुले मातृभाषामा पुकार्ने नाम नै यताउता


  • निनाम कुलुङ ‘मंगले’
  • २०७८ मंसिर ६

निनाम कुलुङ ‘मंगले’
एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वमा तीब्ररुपले चलिरहेको छ भने स्थान नामहरुमा पनि यो कुरा लागू भएको पाइन्छ । नेपालका अधिकांश स्थानहरुको स्थानीय नामहरु द्रुत गतिमा बाह्य नामहरुले अतिक्रमण गरेको देखिन्छ । विषेशतः हिन्दू देवी–देवताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरुको नामलगायत अन्य विदेशी भाषाले तीब्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरु भने, आफ्नो मौलिक नामबाट अपभ्रषित हुँदै गइरहेको पनि देखिन्छ ।
जस्तो उदाहरणका लागि भन्नुपर्दा पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा र सन्दकफुलाइ नै लिऔं । ती स्थानका असली नाम पूरै परिवर्तन गरेर क्रमशः दीपेन्द्र (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर र सन्दकपुर बनाइएको छ । यी नामहरु लाप्चा आदिवासीको मातृभाषामा रहेको स्थानीय स्थान नामहरु हुन् । त्यस्तै, तेहृथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभ्रंषित भएर ‘म्याङलुङ’ भएको छ । तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिङ्गुवा खोला भनिन्छ), झरनाको नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र होइन मेयङ लुङ बजारभित्रै पर्ने ‘तुम्भुङला’ तम्फुला भएको छ । र, तेहृथुमकै ‘सुम्दोवा’ गाउँ ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘सङ्गपु’ भएको छ । त्यस्तै, संखुवासभा जिल्लाको ‘तुमलुङटार’ पनि अपभ्रंषित भएर हाल ‘तुम्लिङटार’ भएको छ । जुन विश्वकै होंचो उपत्यका पनि हो ।
तर, स्मरणीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको त्यस्तै अवस्थामा हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरुमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरु भने, क्रमशः सोताङ र शिवटार, कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि विदेशी (बेलायती युवराज चाल्र्स) को नाममा ‘चाल्र्स भ्यू प्याइन्ट’ भएको छ, थियो । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरु, खासगरी आदिवासी जनजातिका मातृभाषामा राखिएका, रहिआएका स्थानीय नामहरु नेपालीकरण(खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । अन्य धेरै उदाहरणहरु रहे तापनि पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ हाल ‘डेवि’ज फल्स’ भएको छ । भनिन्छ, डेवी नामक स्वीस तरुनी (विदेशी महिला) सो छागाँबाट खसेर बेपत्ता भएपछि, मरेपछि, ‘पाताले छाँँगो’ ‘डेवि’ज फल्स’ भएकी हुन् ।
अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुका सम्बन्धमा भन्नुपर्दा नेपालका हिमालहरु पनि अछूतो रहन सकेको छैन । नेपाली हिमालहरुको नाम पनि खुबै अतिक्रमणमा परेका छन् । त्यस्ता केही हिमालहरुको नाम तल उल्लेख गरिएको छ । १, सेवालुङ (कञ्चनजङ्घा) । २, फक्ताङलुङ (जान्नु, कुम्भकर्ण) । ३, सेसेलुङ (मकालु) । ४, चोमोलुङमा (सगरमाथा खस) नेपाली भाषाको नाम र एभरेष्ट अंग्रेज (अंग्रेजी भाषाको नाम) । ५, आम्पा मारे (गौरीशंकर) । ६, ख्वाप्स्लाङ कार्पो (गणेश हिमाल) । ७, उर्कीमा (बाडेन पावेल (स्काउटका जन्मदाताको नाममा) । ८, जाक्सम्बा (पासाङल्हामु चुली प्रथम सगरमाथा आरोही नेपाली महिलाको नाममा) । ९, धाम्पुस (थापा पिक) । १०, झोङ (री (पिसाङ पिक) । ११, प्याङगेन पुथाङ (मनास्लु) । १२, ङादी चुली (डाक्टर हर्क चुली) आदि ।
यसरी जर्बजस्त ढङ्गले स्थान नामहरु अतिक्रमित र अपभ्रंषित हँुदै गएका छन् भने नयाँ नाम राख्ने क्रममा विवाद र होर्डिङ बोर्ड फालाफालसमेत भएको उदारणहरु प्रशस्तै छन् । जस्तो तत्कालीन ललितपुर उ.म.न.पा.१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरुमा ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरुले ‘शिवचोक’ बनाएरै छाडे । यसरी राज्य र राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति भनी चिनाउने र, लगभग ८–१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत सहजै स्वीकार गर्न सकेको देखिँदैन ।
त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीयस्तरका स्थानको नाम मात्रै नभएर देशकै नाम समेत मौलिक नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ भन्ने त बर्मा भन्ने देश ‘म्यामाँ म्यानमार’ भइसकेकोले पनि देखाउँछ ।
यसरी विदेशीहरुले आफ्नो भाषामा राखेको केही सहरहरुको नामहरु यहाँ उल्लेख गरिएको छ । जस्तो कि, भारतको बम्बई सहर हाल मुम्बई भएको छ । त्यस्तै, मद्रास सहर चेन्नाई भएको छ । कलकत्ता सहर कोलकाता भएको छ । उता बर्मा भनी चिनिने देश पनि हाल ‘म्यामाँ म्यानमार’ भैसकेको छ भने बर्माको राजधानी रंगुन पनि ‘याँगु–याङ्गुन’ भएको छ ।
त्यसैले नेपालमा पनि चर्कोरुपमा जातजाति र भाषाभाषीको कुरा गर्नेेहरुले यसबारेमा पनि पहल कदमी लिने हो कि ? खासमा सङ्घीयताको मर्मअनुरुप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुमलुङटार, कœचनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि पुनः नामाकरण नगर्ने ? त्यतिमात्रै होइन, नेपालभरिका आदिवासी जनजातिका मातृभाषामा रहेकाm रहिआएका स्थान नामहरु पुनः स्थापित गराउन किन पहल नगर्ने ? उसो त ‘काठमाण्डौ उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरु ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् ।’ भनी स्व. धनबज्र बज्राचार्यद्धारा लिखित लिच्छवीकालीन अभिलेख नामक किताबमा लेखिएको छ ।
त्यसैले नेपालमा संघीयता लागू भए, आएसँगै ती अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुको नाम पनि पुनःस्थापित होओस् भन्ने कामना गरौं । माथि उल्लेखितबाहेक नेपालभरि नै नेपालका आदिवासी जनजातिहरुका मातृभाषामा रहेका जति पनि अपभ्रंषित भएका र अपहरित भएका स्थान नामहरु छन्, ती सबै स्थान नामहरुको स्थानीय जनता विशेषतः आदिवासी जनजातिहरुले पुकार्ने नामहरु नै पुनः स्थापित गरिनु, लेखिनmु उच्चारण गरिनुपर्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनैतहको सरकारहरुले नै समन्वय गरेर र, संघीयता लागू भएसँंगै विगतमा एकल जातीय सोचका कारण होस् वा बोलाउन सजिलोका कारण त्यो बेला खसकरण–खसकरण र हिन्दूकरणमा परेर विस्थापित वा अपभ्रंष भएका आदिवासी जनजातिका मातृभाषामा रहेका सम्पूर्ण स्थान नामहरुको नाम पुनः उनीहरुकै भाषामा नामाकरण गरिएको छ भनी सार्वजनिक रुपमै घोषणा गरिनपर्ने देखिन्छ ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप