दाम्लो लगाएर टाइको फूइँ !


  • डा. नवराज सुब्बा
  • २०७८ मंसिर ६

सबैलाई थाहा छ, दास भनेको नोकर हो । दासत्व स्वीकार्नु भन्नाले नोकरजस्तो बन्नु हो । पढेलेखेका मानिस कसरी जमिन्दारको नोकर बन्लान् र भन्ने प्रश्न उठ्छ । आज जमिन्दार र नोकर दुवैको स्वरुप बदलिएको छ । मानिस सबै कुनै न कुनै स्तरको नोकर बनेकै हुन्छन् । जस्तो, सरकारी जागिर पाउन वा सरकारको नोकर बन्नलाई आज तछाडमछाड गरिरहेछन् । देशमा जागिर नपाउने विदेशी भूमिमा त्यहाँका सरकार, सेना, कम्पनीको नोकर बन्नेका लर्को लागिरहेछ । विदेशका कम्पनीमा पर्दापछाडि बस्ने ढनाढ्यको नोकर बन्नलाई मानिस परराष्ट्र मन्त्रालयमा पासपोर्ट लिन लाइन लागेका छन् । यसकारण दासत्वको दायरा आज ज्यादै फराकिलो बन्दै गएको छ ।
श्रम बेचेर जीवनयापन गर्नु, आफ्नो परिवार पाल्नु, स्वदेशमा रेमिटेन्स पठाउनु अब सामान्य बन्दै गएको छ । मेहनत गरेर खानु वा काम गरिखानु भनेको एक प्रकारले कर्मको पूजा नै हो । कसैको चोरेर, कसैलाई डाका गरेर पो खानु हुँदैन । श्रमलाई जीवनको अङ्ग बनाउँदा हामीले कदाचित अफसोच मान्नुपर्दैन । यसमा यत्ति चाहिँ भन्न सकिन्छ, विदेशी भूमिको लागि पोखाउने पसिना स्वदेशकै माटोमा बगाएमा देशको विकास र दिगो आर्थिक उन्नति हुन्छ । यसले नेपालीको स्वाभिमानको शिर पनि उच्च बनाउँछ ।
यहाँ म यस्तो दासत्वको कुरा उठाउँदैछु, जो पहिरनसँग सम्बन्धित छ । हामी विदेशी जस्तै सभ्य देखिन टाई जसलाई नेपाली भाषामा भन्नुपर्दा घाँटीमा लगाउने सुर्कने जस्तो देख्दछौं । त्यसैको बढ्दो मोहमा झल्कने दासत्वबोधको चर्चा गर्दैछु । विदेशीको नक्कल गरेर टाई लगाउँदा हेर्दा फेशन होला, सुहाएको देखिएला । तर कुनै नेपालीले त्यत्ति फूर्तिसाथ लगाएको टाईले ऊ नेपालीको हैन विदेशीकै दौंतरी देखिन्छ । अर्को कोणबाट हेर्दा, ऊ पश्चिमाका अरौटे, भरौटे, वा पछौटे जस्तो देखिन्छ भन्दा नरिसाउनुहोला ।
दासत्वको शब्दार्थका साथमा त्यसको भावार्थ, लक्षाणार्थ बुझाइदिने नेपाली भाषाका गुरु तथा साहित्यकार स्व. भानुभक्त पोखरेलसित एक चेलोको रुपमा घटेको एक प्रसङ्गलाई म कहिल्यै बिर्सन सक्दिन । परिघटनालाई लिपीबद्ध गरिन भने गुरुले दिएको शिक्षा ममा सीमित रहन्छ । यसलाई म साझा गर्न चाहन्छु ।
वि.स. २०५१ सालमा म विराटनगर पुरानो हवाई फिल्डस्थित त्रिविवि स्नातकोत्तर क्याम्पसमा एमए नेपाली विषयमा भर्ना भएँ । हुन त त्यहाँ भर्ना हुन भनेर पहाडबाट झरेको भने पक्कै होइन । मेरो व्यवसायिक अध्ययन चिकित्सा विज्ञान थियो । यसैले म व्यवसायिक पढाइपछि प्राविधिक जागिरे भएर विभिन्न जिल्लामा काम गर्न खटिएँ । म एक जनस्वास्थकर्मी त भएँ तर विद्यालयदेखिकै मेरो साहित्यिक लगावलाई प्राज्ञिक साधनाले धारिलो बनाउन पनि चाहन्थें । त्यसैले जागिरसँगै साहित्य र संस्कृतिको प्राइभेट विद्यार्थीको रुपमा म अध्ययनमा लागिरहें । सो आकांक्षालाई पूरा गर्न एक प्राइभेट परीक्षार्थीको रुपमा त्रिविवि धनकुटा परीक्षा केन्द्रबाट परीक्षा दिएर आइए, बिए उत्तीर्ण गरें । कालान्तरमा, म अधिकृत भएपछि मेरो सरुवा मोरङ जिल्लास्थित क्षेत्रीय मेडिकल स्टोरमा भयो । त्यसलाई अवसर मानेर बिहानको समयमा म एक विद्यार्थी बनेको थिएँ ।
बिहान सबेरै कक्षा आरम्भ हुन्थ्यो । मलाई १० बजेको जागिर गर्न बाधा त परेन तर कार्यालय प्रमुख भएकाले कार्यबोझले मैले चाहेझैं नियमितरुपमा कक्षामा जान भने सकिनँ । म त्यसबेला पढ्ने साथीमध्ये असम भारतबाट पढ्न आएका केही साथीहरुका अनुहार अहिले सम्झिन्छु । सहयोगी मित्र प्रेम सञ्जेललाई सम्झन्छु । क्याम्पसमा कक्षा बिहानै ६ बजे बुरु हुन्थ्यो । पुस–माघको बेला कक्षा कोठा अँधेरै हुन्थ्यो । यस्तै जाडो महिनामा एक विहान गुरु भानुभक्त पोखरेलसित कक्षामा पहिलो भेट भयो ।
यसअघि उनको नाम सुनेको, पुस्तक, लेख आदि पढिसकेकाले उनलाई चिन्न गाह्रो परेन । फोटोमा देखेकाको भौतिक शरीर देखेर खुशी थिएँ । कक्षा कोठामा बत्तीको मधूरो प्रकाशमा गुरुले मतिर आँखा तेस्र्याएर अलि नियालेर हेरे र मलाई प्रश्न सोधे– अनि तिमी नयाँ देख्छु नि, परिचय? नामले मात्र भएन, सोध्दै जाँदा उनलाई मेरो जन्मस्थान, जागिर आदिवारे बताएँ । मेरो आठराईको परिचय पाएर उनी रोमाञ्चित देखिए । मेरो जन्मस्थान आठराई हाङपाङ थाहा पाएपछि उनले मलाई मदन मेला, संक्रान्ति बजार, चुहानडाँडा कलेजबारे सोधे । त्यहाँका शिक्षक, समाजसेवीका नाम लिएर पनि प्रश्नोत्तर भयो । एक प्रकारले हामी गाउँले भेट भएजस्ता हार्दिकतापूर्ण वातावरणमा पुगेको मैले महसुस गरें ।
एकदिन गुरुले मतिर हेरेर अर्थात् मलाई नै लक्षित गरेर केही भने जस्तो लाग्यो । किनभने त्यहाँ कक्षामा पढ्ने विद्यार्थीमध्ये सरकारी अधिकृत म मात्र थिएँ । उनले सरकारी अधिकृतको पहिरन सन्दर्भमा टाईबारे निकै लामो ब्याख्या दिए । हुन त मैले कक्षामा जाँदा टाई लगाएको थिइनँ तापनि उनले के सम्झेर हो मलाई सरकारी अधिकृत टाईवाला नै ठानेर होला, टिप्पणी गर्न थाले ।
नेपाली विषयका गुरु न परे नेपाली भाषा, संस्कृति र पहिरनको ब्याख्या गर्नु स्वभाविकै हो । नेपाल र नेपालीपन अरुलाई सिकाउनुपर्दछ । सिकाउने क्रममा अरुका पहिरनको पनि परिचय दिनुपर्दछ । यसलाई मैले कुनै नौलो विषय मानिन । यस्तै ब्याख्या मैले अरुबाट पनि अघि सुनेको, पढेको थिएँ । यो कुनै नौलो कुरा नभएतापनि त्यसदिन भानुभक्त गुरुले दिएको वचन भने मनमा भित्रैसम्म गढ्न पुग्यो ।
आजकल हाम्रो शिक्षा प्रणाली हेर्दा अचम्म लाग्छ । नेपालका बोर्डिङ स्कुल हेरौं त, विदेशी शैलीमा कुनै पाँच तारे होटलझैं ठड्याइएका छन् । ती विद्यालयभन्दा पनि नेपालीका छोराछोरीलाई भविश्यमा विदेश पठाउनकै लागि तालिम दिने कारखाना हुन् । विभिन्न बोर्डिङ स्कुलका नाम हेरौं अंग्रेजी मोह छ । उनको काम हेरयौं भने कुनै विदेशी स्कुल बन्ने होडबाजी छ । अंग्रेजी बोल्नु, टाई, सुट लगाउनु उनीहरुका अनिवार्य संस्कार हुन् । यसैले उनीहरुलाई यो मेरो बाल्यकालका कुरा सुनाउँदा अलि नपच्ला । यो त कस्तो पाखे मान्छे पो रहेछ, भन्लान् । हुनपनि म त्यही पाखाभित्ताको धुलोमाटो खेलेर हुर्केको एक विद्यार्थी हुँ । कसैले मलाई त्यो गाउँले, पाखे भन्यो भने मलाई रिस उठ्दैन, बरु माया गरे जस्तो पो लाग्दछ । त्यसैले यहाँ त्यही प्यारो मेरो बाल्यकालका कुरा, तिनै विद्यालयका कुरा र त्यसबेलाका बालबालिकाका मनोभावना कस्ता थिए, त्यो कुरा उप्काउँदै छु ।
विद्यालयमा हामीले हाम्रो हेडसरले टाई लगाएको देखेका थियौं । हामी बाल्यकालमा यदाकदा विदेशी लाहुरे छुट्टीमा आउँदा हाटबजार वा अन्य स्थानमा टाईसुट लगाएको देख्दथ्यौं । उनीहरुको टाईलाई हामी कस्तो गाईवस्तुलाई लगाइदिने दाम्लोजस्तो घाँटीमा बाँधेको, कसैले त्यहीँ समातेर घिसार्यो भने ? भनेर तर्क गर्दै हामी बालसखा खुब मजा मान्दथ्यौं । विदेशी सरकार प्रमुख, राष्ट्रप्रमुखले टाई लगाएका फोटा पत्रपत्रिकामा देख्दा कुनै अनौठो नलाग्ने तर त्यही टाई नेपालीले लगाएको देख्दा हामी केटाकेटी मुख छलेर मज्जाले हाँस्दथ्यौं । हेर न साथी, आज त फलानाले दाम्लो पो भिरेर आएछ त ! भनेर हामी केटाकेटी खुब रमाइलो ठट्ठा गर्दथ्यौं । कसैले त्यसमा समातेर तान्यो भने अभर पार्ला है, स्वास थुनिएला भन्ने भविश्यवाणी गर्दथ्यौं । यस्ता खतरनाक पहिरन लगाउने विदेशी वुद्धिको धज्जी उडाउँथ्यौं । त्यस्तो अभर पार्नसक्ने चीज महिलाले चाहिँ नलाउने केवल पुरुषको पहिरन रहेछ भन्ने कुरा हामीलाई बाल्यकालदेखि थाहा थियो ।
बाल्यकालको उही पुरानो छापले गर्दा आफन्तले दिएको उपहार टाईलाई मैले बाकसमा पट्याएर कपूरसहित थन्काएर राखें । जब म अधिकृत पदमा नियुक्त भएँ, टाई लगाउन बाध्य भएँ । अघि थन्काएर राखेका टाई निकालेर बेलाबेला धक मान्दै लगाउन थालें । आजकल शहरबजारमा आयोजित कार्यक्रम, भोजभतेर, विवाहमेला आदिमा यो कलम बेलाबेला लाजै नमानिकन टाई लगाएर छिर्ने गरेको छ । तर मनमा भने उही भानुभक्त गुरुको वाणीले लखेटिरहन्छ । बाहिर ठाँटिएझैं लागे पनि भित्र नूर गिरेझैं लाग्छ मलाई ।
लाहुरे साथीभाइले दिएका उपहारका टाइका मूठा छन् । फाल्नु पनि माया लाग्छ । अब पैण्ट लगाउनु सामान्य भयो । जाडोमा कोट लगाउनै परयो । त्यसैमा मफलरको सट्टा स्वीटरले छेलेर अलिकति मात्र देखाएर लगाउँदा पढेलेखेको फेसन पनि हुने, घाँटीमा न्यानो पनि हुने, मेरो जिकिर मनमनै पलायो । त्यसै बहानामा आफ्नो लज्जित मनलाई थम्थम्याउँदै टाई लगाउने गरें ।
भानुभक्त गुरुले कक्षाकोठामा टाईबारे करिब १५–२० मिनेट दिएको भाषणले म भित्र आँधीबेहरी ल्याइदियो । म भित्र अलिअलि टुसाएको टाइमोहलाई लछारपछार गरेर सोत्तर बनाइदियो । उनले दिएको उद्गारमा टाइबारे विभिन्न नकारात्मक विम्व, प्रतीक थिए । पश्चिमा र पूर्वीय दर्शन र सिद्धान्तसहित उनले दिएको ब्याख्याले मेरा आँखा खोलिदिए । त्यसबेला गुरुले दिएका बचन मेरा कानबाट पसेर सिधै मनभित्र गढिए । जेहोस् टाई र दासबीचको सम्बन्धबारे दिएका वाणीले कायल भएँ । अब जवाफ फर्काउनै नसक्ने गरी थला परें । म जवाफविहिन भएँ । मलाई त्यसपछि टाई लगाउँदा भित्रैदेखि आत्मग्लानी पोल्न थाल्यो । म कतै बन्धनमा परेको जागिरे नै रहेछु भन्ने मात्र ठानें मैले घाँटीमा टाइ भिरुञ्जेल ।
हामीलाई उहिले गाउँमा कम्युनिष्ट विचारधारा फैलाउनेले शिक्षक, विद्यार्थी नेताले भाषण गर्दा अब महिलाको पोतेको माला, हातका चुरा फुकाल्नुपर्दछ, ती सबै बन्धन हुन् भनेको सुन्दा अलमल्ल पर्दथ्यौं । आज सोही शैलीमा गुरुले पश्चिमाका दासत्व झल्काउने टाइलाई नफुकालेसम्म हामी उनीहरुको शारीरिक, मानसिक तथा आर्थिक कब्जाबाट कहिल्यै मुक्त हुनसक्दैनौं भनेर बुझाइदिए । हामीले अरुको पहिरन लगाएर उनीहरु जस्तै बनेर वा उनीहरुको नक्कल गरेर नेपाल र नेपालीपन कहिल्यै जोगाउन सक्दैनौं । नेपालीको स्वाभिमान टाइले होइन टोपीले ठडाउँछ । भन्दाभन्दै उनले यत्तिसम्म भने– मलाई टाइवाला मानिस विदेशी दलालजस्ता लाग्छन् ।
मैले गुरुका भनाइ १०० मा ९९ मनमनै सझिएँहोला जस्तो लाग्छ । धेरैदिन मनमा कुरो खेलाएँ । कुरो काट्ने कुनै आधार भेटिन । बरु गुरुको भनाइले मेरो मनभित्र सुषुप्त रहेको देशभक्ति भावनालाई जागृत गराइदियो । आज पनि राष्ट्रिय भेषभूषाको कुरो जब आउँछ म भानुभक्त गुरुलाई झल्झली सम्झन्छु । गुरुले दिएको ज्ञान तत्काल तीतो लागे पनि समयकाल आएपछि कुरो छर्लङ्ग हुँदै आयो । हो रै’छ, अर्ती र ओखती खाँदा तीतो तर गुण निको हुन्छ । उखान बनाउने हाम्रा पुर्खा साँच्चै ज्ञानी रहेछन् ।
(प्रकाशोन्मुख ‘बहुवचन’ लेख–निबन्ध सङ्ग्रहबाट)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप