कांग्रेसको सभापतिमा धरानका मेयर तिलक राई नउठ्ने

सुनसरी क्षेत्र नं. १ को सभापतिका लागि पहिलोपटक प्रभावशाली महिलालाई उठाइयो, देउवा पक्षबाट लक्ष्मी खतिवडा उठिन्


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर ६

धरानः नेपाली कांग्रेस सुनसरीमा प्रदेश निर्वाचन क्षेत्रको मतपरिणामले तरङ्ग ल्याएको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन इतर प्यानल विजयी भएपछि देउवा पक्ष झस्किएको छ ।
हालसालै देउवापक्षको समर्थनमा क्षेत्रीय सभापतिको उम्मेदवार भएका तिलक राई निर्वाचनको सम्भावित पराजयबाट भागेकोजस्तो देखिएको छ । देउवा टिममा प्रवेश नगरेपनि संस्थापन पक्षले क्षेत्रीय सभापतिमा आफूलाई समर्थन गरेको बताउँदै आएका उनलाई पछिल्लो निर्वाचन परिणामले पराजयको शिकार बनाउने देखेपछि उनी पछि हटेका हुन् ।
धरान नगर प्रमुख समेत रहेका राई अधिवेशनबाट भागेपछि उनको स्थानमा देउवा पक्षधरले लक्ष्मी खतिवडालाई उठाएको छ । धरानको होटल स्टार पूर्वीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले सभापतिमा खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
इतर पक्ष (कोइराला, पौडेल) का सुजेन्द्र तामाङ उम्मेदवार हुने भएपछि राई संस्थापन पक्षबाट उम्मेदवार बनेका थिए । सोही बमोजिम संस्थापन पक्षले पनि टिम बलियो बनाउन राईलाई समर्थन गरेको थियो । तर पछिल्लो चुनावी नतिजाले संस्थापन पक्ष निक्कै कमजोर अवस्थामा पुगेको छ ।
क्षेत्रीय निर्वाचनको लागि भोलि मतदान हुनेमा आज मनोनयन दर्ता हुँदैछ । पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाम्फेले सभापतिका उम्मेदवार राईले नउठ्ने भनेपछि लक्ष्मी खतिवडालाई क्षेत्रीय सभापतिको उम्मेद्वार बनाइएको जानकारी गराए ।
क्षेत्रीय सभापतिमा खतिवडाका पक्षमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मिना सुब्बा, विनोदकुमार राई, गोविन्द तुम्बाहाम्फे, अजय राईलगायत देखिएका छन् । नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र १ (२) को निर्वाचन मतपरिणामले संस्थापन देउवा पक्षमा हलचल ल्याएको छ । यसअघि नै क्षेत्र नं. १ को क र ख मा संस्थापनइतरका नेताहरुले विजय हासिल गरिसकेका छन् । क बाट अनिल श्रेष्ठ र ख बाट मुरारी भट्टराईले विजय बनेर देखाइसकेका छन् । महासमिति सदस्य तथा महिला विभागकी सचिव समेत रहेकी खतिवडा धरान काङ्ग्रेसकी प्रभावशाली नेतृ हुन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप