धरानमा देउसी खेलेको पैसाले सहयोग गर्ने प्रचलन बढ्दो

युवाले देउसी खेलेर ६७ जना विद्यार्थीलाई जाडोका स्वेटर बाँडे, प्रतिष्ठानले आश्रममा बाँड्यो खाद्यान्न (१८ तस्वीरसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ मंसिर १

धरानः धरानमा देउसी खेलेर मोजमस्ती गर्ने प्रचलन हट्दो छ । देउसी खेलेर रमाइलो गर्दै संस्कृति जोगाउन उद्यत युवापुस्ता साथै संस्थाले देउसीको रकमले अनाथ, गरिब, विद्यार्थीलगायतलाई सहयोगको भावना देखाउन थालेका छन् ।
यसैबीच धरानका विभिन्न वडाका १४ जना युवाले देउसी खेलेर कमाएको रकमले धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) का विद्यार्थीलाई जाडोका कपडा वितरण गरेका छन् ।
गायक डिल्ली फोम्बोसहितको युवाहरुको टोलीले धरानमा देउसी खेलेको रकमले जाडोका ६७ थान स्वेटर वितरण गरेका थिए । धरान–१६ का मनिष लिम्बूको अगुवाईमा कार्यक्रम सम्पन्न भएको छ । मनिषसहित धरान–१६ का उमेश जिमी, धरान–१५ का विवेकजंग लिम्बू, धरान–१३ का कपिल लिम्बू, धरान–१६ का वीरहाङ लिम्बू, धरान–१२ का नवीन लिम्बू, धरान–११ का डम्वर लिम्बू, धरान–१६ का लक्ष्मी याक्खा, शंकर लिम्बू, धरान–१७ का राजु लिम्बू, धरान–१३ का सन्तोष लिम्बू, धरान–८ का धनराज लिम्बू र धरान–१३ का विजय राईको समूहले तिहारमा देउसी खेलेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्मा, जेष्ठ नागरिक तथा कार्यक्रमका प्रमुख अतिथि अम्बरबहादुर आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य गंगा भण्डारी, प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईलगायत उपस्थित युवाहरुले विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेका थिए । स्वेटर पाएपछि विद्यार्थी खुशी भएर घर फर्किएका थिए ।
‘देउसीको रकमले प्रायः पिकनिक जाने, भोजभतेर आयोजना गर्ने चलन छँदैछ तरपनि हामीले अभावमा बाँचेकाहरुलाई केही सहयोग गरौं भनेर लागिपरेका हौं, तिहारमा सङ्कलित रकम साथीभाइ मिल्यो, खाएरै सक्नुभन्दा जाडोमा बालबालिकालाई जाडोका कपडा दिऔं भन्ने उद्देश्यले सहयोग गरेका हौं ।’ युवा मनिष लिम्बूले थपे, ‘यसबाट अन्यले पनि प्रेरणा पाउन् भन्ने पनि हाम्रो उद्देश्य हो ।’
यस्तै, कार्यक्रममा विद्यालयमा अध्ययरत विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही ४ सयका दरले दलित र छात्रा छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
देउसीको रकमले आश्रमलाई खाद्यान्न
धरान–१३ अमरहाटस्थित गुरुकुल प्रतिष्ठान, धरानले देउसी खेलेर उठेको रकमले धरान–३ मा रहेको सरस्वती बाल आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् ।
प्रतिष्ठानले आश्रममा नै पुगेर २० हजार रुपैयाँ बराबरको खाद्यान्न आश्रमका महासचिव मनिष खड्गीलाई हस्तान्तरणको गरेका थिए । प्रतिष्ठानद्वारा दुईसय केजी चामल, एक कार्टुन तेल, २० केजी दाल, २० केजी चिनी, २० केजी आलु, १० केजी प्याज र नुन प्रदान गरिएको प्रतिष्ठानका सचिव सुमन राईले जानकारी दिए ।
गुरुकुल प्रतिष्ठान दुव्र्यसनी सुधार तथा उपचार केन्द्र हो । हाल केन्द्रमा २५ जना उपचार तथा सुधारका लागि रहेको सचिव राईले जनाए । चाडबाडको बेला केन्द्रका सदस्यहरुलाई सामाजिक कार्यमा सहभागिता गराउनको लागि अभियानको साथ देउसी खेलिएको राईले बताए । प्रतिष्ठानले केन्द्रका सदस्यहरुलाई यसरी नै विभिन्न सामाजिक कार्यमा सहभागिता गराइ युवा तथा नागरिकको सामाजिक उत्तरदायित्वको विषयमा व्यवहारिक रुपमा वुझाउने कार्य गर्दै आइरहेको प्रतिष्ठानले जनाए ।
खाद्यान्न हस्तान्तरणको क्रममा आश्रमका महासचिव खड्गीले प्रतिष्ठान परिवारलाई सहयोगका लागि धन्यवाद दिएका थिए । धन्यवाद दिने क्रममा आश्रमको कुनैपनि विदेशी सहयोग दाता वा संस्था नरहेको र यसरी नै धरानका सहयोगी मनभएकाहरुले व्यक्तिगत तथा संस्थागत रुपमा गरेको सहयोगले आश्रम चलिरहेको बताए । हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मौसम राई, सदस्य सविन राई, आश्रमका बालबालिका लगायतको उपस्थिति रहेको थियो । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप