अब कोरोना सर्दैन हो ?

अधिकांश निष्फिक्री, मापदण्डको धज्जी, मुखमा मास्क हराउँदै, विद्यार्थी, अभिभावक बढी सचेत हुनु आवश्यक


  • अनुषा थापा
  • २०७८ कार्तिक ३०

कोरोना महामारीको दोस्रो लहर कायमै छ । सबैथोक खुल्न थालेका छन् । कोरोना शुरु हुनेबित्तिकै बन्द भएका विद्यालयहरु पनि चलायमन हुँदैछन् । अभिभावकहरुले पनि आफ्नो मनमा डर राखेर छोराछोरी विद्यालय पठाएका छन ्। तर, कोरोना लाग्दैन भनेर निस्फिकी बस्न सक्ने अवस्थामा अभिभावकको छैनन् । सरकारी, निजी विद्यालयले पनि कोरोनाको जोखिमलाई ध्यानमा राखेका छैनन् । यता, विद्यार्थीहरु पनि हेलचेक्रयाइँ गरिरहेका छन् । विद्यालयहरुले विद्यार्थीको स्वास्थ्यलाई खासै ध्यान दिएका छैनन् ।
नेपाल सरकारले कोरोना हटिसक्यो भनेर विश्वास दिलाउन सकेको छैन । सबै नागरिक र बालबालिकाले खोपसमेत पाउन सकेका छैनन् । शिक्षा मन्त्रालयले विद्यालय खोल्ने, बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । विद्यालयहरुले बालबालिकाको स्वास्थ्यमाथि खेलबाड त गरिरहेको छैनन् भनेर हेर्ने काम स्थानीय तहको हो तर पनि खासै यतातर्फ ध्यान गएको जस्तो देखेको छैन ।
खासमा कोभिडको परीक्षण गराउनेको संख्या कम भएका कारणले पनि कोरोना संक्रमितको दर घटिरहेको हो जस्तो लाग्छ मलाई । तर, मृत्यु हुनेको संख्या घट्न सकेको छैन । बालबालिकालाई विद्यालय त गएका छन् तर उनीहरुलाई स्वास्थ्य मापदण्डको विषयमा धेरै ज्ञान छैन । ज्ञान भएका माथिल्लो कक्षाका विद्यार्थी पनि स्वतन्त्ररुपमा जथाभावी हिँड्ने, मास्क नलगाउने गरिरहेका छन् । एउटै बेञ्चमा पाँच जनासम्म विद्यार्थी बसेका छन् । अधिकांश स्कुलमा भौतिक दुरीको पालना छैन । अरुको त कुरा छोडौं, शिक्षकहरुले समेत कोरोनालाई बेवास्ता गरिरहेका छन्, यसकारण पनि विद्यार्थीले हेलचेक्रयाइँ गरेका हुनसक्छन् ।
विद्यार्थीहरुको मुखमा मास्क हट्दै गएको छ । न विद्यालयको ढोका स्यानिटाइजर । विद्यालयभित्र रहेको खाजाघरमा पनि निकै चर्को भीड देखिन्छ । कतिपय विद्यार्थीका अभिभावकहरु अझै पनि चिन्तामा बसेका छन् । विद्यार्थीका बुबाआमालाई विद्यालयको गतिविधिको बारेमा केही पनि पत्तो हुँदैन । थाहा भएकाहरुलाई पनि छोराछोरी स्कुल पठाउदिनँ भन्न सकेका छैनन् । पढ्ने नाममा बालबालिकाले आफ्नो ज्यान नै नगुमाउलान् भन्न सकिन्नँ । अहिले पनि स्वास्थ्य मन्त्रालयले दिनहुँ कोरोना सङ्क्रमितको विवरण सार्वजनिक गरिरहेको छ । तर, कति सङ्क्रमितको निधन भएको हो भन्नेबारेमा यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन ।
स्वास्थ्यमन्त्री विरोध खतिवडालाई डाक्टरको सरुवा र बढुवा गर्दै ठीक्क छ । स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नतर्फ मन्त्रीको ध्यान गएको छैन् । सरकारले बनाएको मापदण्ड पालना गर्ने सहमतिसँगै सबै व्यापारिक क्षेत्रहरु सञ्चालनमा आए । गृह मन्त्रालयले पनि जनतासँग अनुगमन गर्ने बाचा गर्दै व्यापार–व्यवसाय चलाउन दियो । सम्पूर्ण व्यवसायीले कुनैपनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । तर अहिलेसम्म अनुगमन भएको कहिँकतै सुनिएको, देखिएको छैन । मन्त्री भएर आए गलाभरि माला लगाए । कार्यकर्ता बनाउने, कर्मचारीलाई सरुवा गर्ने कमिसन खाने, आफ्नो नातेदारलाई जागिर लगाउने उनले गर्ने भनेको यति नै हो । वित्तीय संस्था, रात्रिकालीन व्यवसाय, किराना पसल, यातायात क्षेत्र चलाउनको लागि सरकारले मापदण्ड त बनायो । तर, यी व्यवसायीले सरकारलाई नै हेरेको हेरयै बनाइदिए । अहिले रात्रीकालीन व्यवसायहरु रातभरि सञ्चालन हुन्छन् । भेडाबाख्राझैं मानिसहरु त्यहाँ पुगेका हुन्छन् । तिनीहरुले पनि स्वास्थ्य मापदण्डको धज्जी उडाइदिएका छन् । खान र नाच्न जानेलाई सरकारलाई बेरोकतोक छाडा छोडिदिएको छ ।
सार्वजनिक यातायातको स्थिति पनि त्यस्तै छ । दाउरा मिलाए जसरी कोचेका यात्रुहरुलाई सास फेर्न पनि हम्मेहम्मे पर्छ । सहचालक र चालकलाई त पैसा भए भइहाल्यो । मास्क पनि नचाहिने, स्यानिटाइजर त सार्वजनिक सवारीको ढोकामा देख्नसमेत पाइँदैन । फुटपाथमा व्यापार गर्ने मानिसहरुले पनि हेलचेक्याइ गरिरहेका छन् । फुटपाथमा त मेला लागेजस्तो देखिन्छ । मान्छेको अत्याधिक चाप त्यही माथिको अव्यवस्थित फुटपाथ व्यवसाय । किराना पसलेहरुले पनि स्वास्थ्य मापदण्डको पालना नगरीकन व्यापार गरिरहेको छन् ।
बाटो हिँड्ने सर्वसाधारण पनि यसभित्रै पर्छन् । बाटो हिँड्ने त झन् पुरै निडरताका साथ हिँडेका छन् । हात समाएर, कोरोना फैलाउँदै हिड्ने काम सबैबाट भइरहेको छ । माइतीघरमा दैनिक जसो आन्दोलन, विरोध र धर्ना देख्न सकिन्छ । देशका पढेलेखेका, बुद्धिजीवीहरु कामकाज छोडेर जतिखेर नि आन्दोलनको पछि दौडिरहेको हुन्छन् । अहिले फेरि सर्वोच्च अदालतभित्र नयाँ रमिता देख्न पाइएको छ । सर्वोच्च अदालतमा आजकल दिनकै आन्दोलन हुने गरेको छ । न्याय दिन भनेर वकिल बनेकाहरुलाई राजनीति गर्दै ठीक छ । वकिल भनेको छ, कोरोना फैलाउँदै हिँडेका छन् । के वकिलहरुलाई चाहि कोरोनाले नछुने हो ? भेडाको बथानजस्तै एक ठाउँमा थुप्रिएका छन् । न्याय दिने नाममा कालो कोट लगाउने र आन्दोलनमा सहभागी हुने काम मात्र गरेका छन् ।
कोरोनाले देश नै अस्तव्यस्त बनाइदिएको छ । कोरोनाको कारण सरकारले धेरैपटक लकडाउन गरिसक्यो । अस्ति नै मास्क नलगाउनेलाई सरकारले जरिवानासहित कारबाही गरेको थियो । तर, यी वकिलहरुलाई चाहिँ किन कारबाही गरिएन ? यो त जनतालाई गरिएको भेदभाव हो । सर्वसाधारणलाई कोरोना लाग्ने वकिलहरुलाई चाहिँ नलाग्ने हो ? कि यिनीहरुले कोरोना नलाग्ने औषधी खाएका छन् ?
हालः भक्तपुर, अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप