जनगणना र कुलुङ जातिको सवाल

'राईको फुर्को' नझुन्ड्याऔं


  • निनाम कुलुङ ‘मंगले’
  • २०७८ कार्तिक २९

सूचना, सञ्चार, विज्ञान, प्रविधि आदिले फड्को मारेको आधुनिक जमानामा पनि नेपालका कतिपय जात, समूह, वर्ग र धार्मिक समूह एवम् जाति र समुदायको वास्तविक पहिचान के हो ? प्रस्टसँग खुल्न सकेको छैन । त्यसो त यो लेखमा अरु जाति वा समुदायबारे म केही भन्दिन, लेख्दिनँ । तर, म  आफू स्वयम् पनि आफ्नो नामको पछाडि ‘राई’ लेख्दा, भन्दा ठूलो मान्छे होइन्छ भनेर राई लेख्दै, भन्दै आएका किरातीकै सन्तान भएकोले गर्दा केही लेख्नेछु ।
जस्तो धेरै जसो किरातीका सन्तानहरुले आफ्नो नामको पछाडि राई लेखे, लेखाउँदै आए, यो साँचो हो । उनीहरुले किन आफ्नो नामको पछाडि राई लेखे त ? मूल प्रश्न यो हो । किनभने, उनीहरुलाई (त्यो बेला रैती वा ढाक्रे भनिन्थ्यो ) असली राई अथवा तालुकदार, जिम्मावाल राई जस्तै ठूलो हुने रहर जाग्यो । यसरी ठूलो हुने रहर जाग्दा, गर्दा जानी नजानी किरातीका सन्तानहरु राईकरणको मारमा आफै परेका हुन् । हो, त्यसरी जानी नजानी राईकरणको मारमा परेर आफ्नो जातीय स्वपचिान र अस्तित्व नै गुमाउन आँटेका किरातीमध्ये ‘कुलुङ’ जाति पनि एक हो । त्यसैले ‘राई’ के हो भन्ने बारेमा थप प्रस्ट्याउने पक्षमा छु ।
जस्तो हालसम्म कुलुङ जातिलाई नेपालका अन्य जात, समूह, वर्ग, जाति र समुदायले ‘राई’ भनी जान्ने, बुझ्ने गरेको पाइन्छ । तर, असलीयतमा ‘राई’ नेपालको जात वा जाति नभएर पद, पदवी वा पगरी मात्रै थियो, हो ।
साथै ‘राई’ शब्दको व्युत्पत्ति ‘राया’, ‘राय’ हो भने धेरैजसो विद्धान तथा लेखकहरुको भनाइअनुसार नेपालमा सुरुमा यो ‘राया’, ‘राय’ शब्दको प्रयोग कर्णाली प्रदेशमा ‘राजा’ जनाउने अर्थमा प्रयोग भएको हो । पछि सेनकालमा नेपालको पूर्वी भेगमा पनि स्थानीय किराती (जो त्यति बेलासम्म थामी, लिम्बू, खम्बु, सुनुवार, याक्खा, कुलुङ, बाहिङ, बान्तावा, मेवाहाङ, धिमाल, हायु, सुरेल, जिरेल आदि भनी बाहिरिया अथवा अरु जातजातिबीच व्यापक रुपमा चिनिएका थिएनन्) हरुमध्येका प्रभावशाली व्यक्तिहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको पदको रुपमा दिएको देखिन्छ । जस्तो कि विजयपुरका बुद्धिकर्ण ‘राय’, विजयनारायण ‘राय’, चतमे ‘राय’ आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । स्मरणीय छ, बुद्धिकर्ण ‘राय’ त हाल आएर तेह्रथुम जिल्लाको ‘छथर भेग’को खेवा थरका लिम्बूका पुर्खा भएको प्रमाणित भएको छ ।
यसरी कुलुङ समुदायले विस्तारै राई भन्नाले जात, जाति वा समुदाय होइन भन्ने जानेपछि, बुझेपछि हाम्रो (कुलुङको) टाउकामा झुन्डिएको ‘राईको फुर्को’ हटाउनेतर्पm पहल गर्न शुरु गरेका हौं । त्यसका लागि विसं २०५७, ०५८ देखि नै कुलुङ समुदायका अगुवाहरुले जनवकालत र आन्दोलन गर्ने, स्थानीय विकासमन्त्री नियुक्त हुने बित्तिकै उनी कहाँ गएर आफ्नो मागबारे सम्झाउने, बुझाउने, प्रतिष्ठान, महासंघ (आदिवासी जनजाति महासंघ), सरकार राजनैतिक दलहरु कहाँ गएर आफ्नो मागहरु पेस गर्ने, धर्ना दिने, पत्रकार सम्मेलन गर्ने लगायतका कामहरु गर्दै आएको ।
फलतः विसं २०६८ को ११ औं जनगणनामा कुलुङलगायत अन्य ११ वटा किराती जातिहरुको अलग्गै जातिगत तथ्यांक पनि आएको छ । तर, हालसम्म हाम्रो मुख्य वाधकको रुपमा राई जातिको नाममा संस्था दर्ता ऐन २०३४ अन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता भएको र, बान्तावा जातिको नाममा आफ्नो संस्थाको नाम ‘किरात … राई यायोक्खा राखेका’ राखेका संस्थाका प्रमुखहरु रहनुभएको छ । उहाँहरुले कुलुङलगायत अन्य किरातीहरुको वास्तविक पहिचानलाई रोकेर जबरजस्ती ‘राई !’ शब्दले नै चिनिनुपर्ने जिरह गर्दै आउनुभएको छ, सोहीअनुसार लबिङ गर्दै आउनुभएको छ । त्यसो त किरातीले मात्रै नभएर मुसलमान र मधेसीले पनि ‘राया’, ‘राय’, ‘राई’ लेख्छन् । जस्तै नेपालमा दुईदुई पटक केन्द्र सरकारका मन्त्री भएका ‘मोहमद इस्तियाक राई’ ले पनि ‘राई’ लेख्नुहुन्छ । उहाँ नाम सुन्दै मुसलमान समुदायका हुनुहुन्छ, होइन ? त्यस्तै राईको अर्को उदाहरण भनेको भारतीय सिने उद्योगकी कलाकार ‘ऐश्वर्य राई’ पनि हुनुहुन्छ, उहाँ पनि राई नै लेख्नुहुन्छ । सुरुमा ‘राया’, ‘राय’ शब्दबाट अपभ्रंश भएर आएको ‘राई’ शब्दबारे अहिलेलाई यतिमात्रै लेखौं !
विश्वका प्रायँ सबै देशले १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना गर्ने गर्छ । आफ्नो देशको जनंख्यामा देखिएको जातजाति, भाषाभाषी, लैङगिकता, अल्पसंख्यक, भिन्न क्षमता भएका समूह, वर्ग, मजदुर आदिको तथ्यांक केलाएर हेर्छ, त्यही तथ्यांकको आधारमा जातजाति, भाषाभाषी, लैङगिकता, अल्पसंख्यक, भिन्न क्षमता भएका आदिलाई सरकारले बजेटिङ गर्ने र नीति निर्माण गर्ने गर्छ । त्यसैले यही कात्तिक २५ देखि मंसिर ८ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनामा अरु राई भन्नेहरुले जेसुकै लेखाए तापनि हामी कुलुङहरुले ‘राई वा कुलुङ राई नलेखाएर ‘कुलुङ’ मात्रै लेखौं, लेखाऊँ ।
स्मरणरहोस्, यसपालिको जनगणनामा कुलुङ जातिले पाएको जातिगत कोड ६२ र भाषागत कोड २९ रहेको छ । त्यसैले कुलुङ जातिको वास्तविक जनसंख्या, भाषिक वक्ता संख्या, अरु जातिसरह अलग्गै जातीय स्वपहिचान र अस्तित्व देखाउनका लागि पनि कुलुङका बुद्धिजीवी, शिक्षक, शिक्षिका, विद्यार्थी, जेठोपाको, जान्नेसुन्ने र अगुवाहरुले एकपटक दिलो ज्यानले आ-आफ्नो क्षेत्र, ठाउँबाट खटौं, लागि परौं ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप