सन्दर्भः विश्व मधुमेह दिवस/डा. मिमी गिरी

मधुमेहः बेइमान रोग


  • कोशी अवाज
  • २०७८ कार्तिक २८

मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै विभिन्न रोगले जरो गाड्दै गइरहेको छ । मानिस र समाज जति आधुनिक बन्दै गयो, उतिनै विभिन्न खालका रोगहरुले गाँज्ने खतरा पनि बढ्दै गइरहेको छ ।
हाल विश्वमै, अझ भन्नुपर्दा दक्षिण एशियामा सबैभन्दा धेरै फैलिएको रोग मध्यको एक हो, मधुमेह । मधुमेहलाई अंग्रेजीमा डायबिजिट भनिन्छ । यसलाई बोलीचालीमा चिनीरोग अथवा सुगर रोग भनेर पनि चिनिन्छ ।
तीव्र शहरीकरण, आधुनिक जीवनशैली, असन्तुलित खानपान, रहनसहन, अझ भन्नुपर्दा ‘फास्टफूड’ खाद्यान्नहरु दीर्घरोगका मुख्य समस्या हुन् । त्यसैगरी, शारीरिक श्रम कम गर्ने वा गर्दै नगर्ने बानीको कारण पनि मधुमेह बढ्दै गइरहेको छ ।
मधुमेहका किसिम
डायबिटिज अथवा मधुमेह मुख्यतः टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् । त्यसबाहेक, गर्भावस्थामा देखापर्ने जेस्टेशनल मधुमेह, वंशानुगत रुपमा देखिने मधुमेह, औषधिबाट हुने मधुमेह आदि पनि हुन्छन् । हाम्रो देश नेपालमा सवैभन्दा धेरै हुने भनेको टाइप टु मधुमेह हो ।
टाइप वान मधुमेह
हामीले खाएका खानेकुराहरु पचेपछि चीन वा सुगर (ग्लुकोज)को रुपमा परिणत हुन्छ । त्यो चिनी रगतको माध्यमबाट शरीरका विभिन्न भागका कोषकोषहरुमा पुग्ने गर्छ । कोषमा पुगेका तिनै चिनीहरु ऊर्जामा परिणत भएर हाम्रो शारीरिक प्रक्रियालाई सञ्चालन गरिरहेको हुन्छ । यसरी कोषसम्म पुगेका चिनीलाई कोषभित्र पसेर उर्जामा परिणत गर्नको लागि इन्सुलिन नाम गरेको हर्मोनले मुख्य भूमिका खेलेको हुन्छ ।
इन्सुलिन हर्मोनको उत्पादन प्याक्रियाज नाम गरेको अंगमा हुने गर्छ । यो अंग हाम्रो पेटको पछाडि तल्लो भागमा अवस्थित हुन्छ । प्यान्क्रियाजले उत्पादन गरेको इन्सुलिन रगतमा मिसिन्छ । रगतमा भएको इन्सुलिनले नै माथि उल्लेख गरेझै कोषहरुमा चिनीलाई ऊर्जामा परिणत गर्न भूमिका खेलेको हुन्छ । यही कारण हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहेको हुन्छ । रगतमा चिनीको मात्रा कति छ, त्यस आधारमा प्यान्क्रियाजले इन्सुलिन उत्पादन गरिरहेको हुन्छ । रगतमा चिनीको मात्रा कम हुँदा इन्सुलिनको उत्पादन कम हुने गर्छ भने चिनीको मात्रा बढ्दा त्यसको उत्पादन पनि बढ्ने गर्छ ।
जब प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन वा कम उत्पादन गर्न थाल्छ, त्यो अवस्थामा हाम्रा शरीरका कोषहरुले रगतमार्फत् प्राप्त चिनीलाई ग्रहण गरेर ऊर्जामा परिणत गर्न सक्दैन । फलतः रगतमा चिनीको मात्रा बढ्न थाल्छ । एकातिर इन्सुलिनको अभावका कारण कोषहरुले रगतमा भएको चिनीलाई उर्जामा परिणत गर्न सक्दैन भने अर्कोतिर रगतमा चिनीको मात्रा बढेर जान्छ । यो अवस्था भनेको रोगको अवस्था हो । सामान्यतः यो अवस्थालाई टाइप वान मधुमेह भन्ने गरिन्छ । यसलाई जुभेनाइल डाइबिटिज (juvenile diabetes) वा इन्सुलिन डिपेन्डेन्ट डाइबिटिज (Insulin-dependent diabetes) पनि भन्ने गरिन्छ ।
अहिलेसम्म खासै उपचार पत्ता नलागिसकेको यो रोग धेरैजसो सानै उमेरमा (बच्चा बेलामा), किशोरावस्थामा र युवावस्थामा यो रोग देखिन्छ । यो रोगको उपचार भनेको नै औषधीको रुपमा इन्सुलिन दिएर तथा खाना एवं जीवनशैलीहरुलाई व्यवस्थित गरेर रगतमा चिनीको मात्रा नियन्त्रित रुपमा राख्ने नै हो ।
जब मानिसको शरीरमा चिनीको मात्रा बढ्छ, शरीरले उक्त बढी चिनीलाई फाल्ने कोशिस गर्छ । चिनी फाल्ने मुख्य माध्यम भनेको मृगौलाले छानेर पिसावबाट निकाल्ने हो । चिनी (सुगर) च्याप च्याप लाग्ने तत्त्व भएकाले त्यो फाल्नको लागि हाम्रो शरीरले धेरै पानी खर्च गर्नुपर्ने हुन्छ ।
बारम्बार पानी फाल्दा मानिसको शरीरमा ६ देखि ९ लिटरसम्मको पानीको कमी हुन्छ । फलतः मानिसलाई धेरै पानी प्यास लाग्छ तर चिनीका कारणले खाएको पानी शरीर भित्र पसेर रहिरहन (शरीरले सोस्न) नै सक्दैन र सिधा पिसावको माध्यम निस्किन्छ ।
टाइप वान मधुमेह हुनुको वास्तविक कारण के हो ? त्यो अझैसम्म थाहा लाग्न सकेको छैन । तर सामान्यतः यो रोग हाम्रो शरीरको प्रतिरक्षा प्रणालीसँग जोडिएको छ । खासगरी, भाइरस, व्याक्टेरिया जस्ता हानिकारक बाह्य किटाणुहरुसँग लडेर हामीलाई निरोगी राखिराख्न मद्दत गर्ने हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले हाम्रो आफ्नै शरीरको प्यान्क्रियाजमा रहेको इन्सुलिन उत्पादन गर्ने कोषहरुलाई आक्रमण गरेर क्षति पुर्याएपछि वा नष्ट गरिदिएपछि यो रोग देखापर्छ । त्यसैले यस किसिमको टाइप वान मधुमेहलाई अटो इम्यून डिजिज पनि भनिन्छ । त्यसबाहेक, यो रोग लाग्नका अन्य कारणहरुमा वंशानुगत तथा भाइरस तथा अन्य वातावरणीय पक्षहरुको कारण पनि हुन सक्छ ।
सामान्य रुपमा बुझ्दा हाम्रो शरीर मोटर हो र यसलाई चलाउन पेट्रोल (इन्धन) चाहिन्छ । र त्यो इन्धन हो चिनी (सुगर) । हामीले जे खाएपनि त्यो चिनी बन्छ ।
अब चिनी (इन्धन) मात्र भएर त भएन त्यो इन्जिनमा पुग्न पर्यो । इन्जिन हाम्रो शरीरको सेलभित्र हुन्छ । त्यो सेलभित्र पुग्नको लागि ढोका छ तर त्यो ढोका खोल्नको लागि साँचो त चाहियो र साँचो हो इन्सुलिन ।
हाम्रो शरीरलाई आवश्यक पर्ने चिनी (इन्धन) उक्त ढोका मार्फत् जान्छ र नचाहिने बढी भएको चिनी ट्याङकीमा जम्मा गर्छ । त्यो ट्याङकी हो बोसो । चिनी बोसो बन्छ तर बोसो कहिल्यैपनि चिनी बन्दैन किन कि हाम्रो शरीर एकतर्फी सडक जस्तै हो । यो हाम्रो शरीरको मेटाबोलिज्मको विशिष्ट प्रक्रिया हो ।
टाइप वान मधुमेहमा इन्सुलिन उत्पादन कम भएर जान्छ वा उत्पादन नै ठप्प हुन्छ । यसको अर्थ हो इन्धन जाने ढोकाको साँचो नै छैन । इन्सुलिनको दुईवटा काम हुन्छ या त कोषभित्र पसाईदिने या त बोसो बनाइदिने । इन्सुलिन नै उत्पादन नभएपछि शरीरमा चिनी जान पाएन र यो जम्मा भएर बस्ने भयो । इन्सुलिन उत्पादन नै बन्द भएपछि पानी प्यास लाग्ने र जति पानी खाए पनि सिधा पिसावमा जाने गर्छ र मानिस दुब्लाउँदै जान्छ ।
शरीरले चाहिने भन्दा बढी चिनी हुने वित्तिकै त्यसलाई जम्मा गर्न सुरु गरिहाल्छ । यसरी जम्मा भएको बोसोले शरीरलाई संचालन गर्न खोज्छ । जस्तोः पेट्रोलबाट चल्ने गाडी मट्टितेलबाट चल्न थाल्यो भने के हुन्छ ? हो त्यस्तै बोसोले शरीर संचालन गर्न थाल्यो भने हाम्रो शरीरको इन्जिन विग्रन थाल्छ ।
टाइप वानको सुरुवाती लक्ष्यण नै यही हो कि पेन्क्रियाजले इन्सुलिन नबनाउने र शरीर विना इन्सुलिन चल्न नसक्ने भएकाले समस्या आउँछ ।

टाइप टु मधुमेह
टाइप टु मधुमेह चिनी रोग होइन । यो शरीरलाई चाहिने भन्दा धेरै खायो भने हुने रोग हो ।
टाईप वान मधुमेह इन्सुलिन उत्पादन नहुँदा हुने भयो भने टाइप टू मधुमेह इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन नै सक्दैनन् । रोग बढ्दै जाँदा इन्सुलिनको अभाव देखिन्छ । पहिले पहिले यसलाई ‘इन्सुलिनमा आधारित नहुने मधुमेह मिलाइटस’ वा ‘परिपक्व हुन लागेको मधुमेह’ भनिन्थ्यो ।
पेन्क्रियाजको दुईवटा काम हुन्छ, एउटा इन्सुलिन बनाउने अर्को पचाउने । पेन्क्रियाजले थुप्रै इन्सुलिन बनाउँछ । ढोका खोल्नलाई बाटो खोज्छ । इन्सुलिनको एउटा बाटो हो ढोका खोल्नु अर्को बाटो हो बोसो बनाउनु । ढोका खोल्न नसके पछि त सवै इन्सुलिन बोसोमा गएर अड्किने भयो । जति इन्सुलिन बने पनि त्यसले काम गर्न सक्दैन ।
यस्तोमा पेन्क्रियाज रबर जस्तो तन्किदै काम गरेको गरै गर्छ । धेरै तन्किएपछि पेन्क्रियाज चुडिन्छ । अव पेन्क्रियाज नै चुडिएपछि इन्सुलिन हाम्रो शरीरका कोषहरुमा पुग्दैन र बोसोमा थुप्रिएर बस्दा चिनी बढ्छ यसलाई टाइप टु मधुमेह भनिन्छ ।
अव सजिलै बुझ्न सकिन्छ कि टाइप वान मधुमेह चिनीको रोग भयो भने टाइप टु मधुमेह बोसोको रोग हो ।
टाइप टु मधुमेह कुनै पनि उमेरमा हुन सक्छ । दक्षिण एशियामा ५० प्रतिशत बच्चै बेलामा देखिएको मधुमेह टाइप टु भनिएको छ । मोटोपन बढेसँगै टाइप टु मधुमेहको खतरा पनि बढेको हो ।
मोटोपनको समस्याका कारण
बुझ्नुपर्ने यो हो कि हाम्रो शरीर एक लाख वर्ष पुरानो हो । यो एक लाख वर्षको अवधिमा हाम्रो शरीर र यसको संचालन प्रकृयामा परिवर्तन आएको छैन ।
एक लाख वर्ष अगाडि खानलाई समस्या थियो बाँच्नको लागि मानिस दिनभरि सिकार गर्न जान्थ्यो । दिनभरि जंगलमा शिकार गर्ने, खाना पायो भने टन्न खाने अनि फेरि भोक लागेपछि खाना खोज्न हिँड्ने । तर एक लाख वर्षपछिको जीवनशैली ठिक उल्टो भएको छ । खाना टन्न छ तर खोज्न पर्दैन । अव आफै अनुमान लगाउँ कि हाम्रो शरीर केका लागि बनेको र के भइरहेको छ भनेर ।
मानिसको जीवनशैलीमा त परिवर्तन आयो तर खाने शैलीमा भने परिवर्तन आएन । जव खाना खोज्न हिँड्न नै परेन तव शरीर अल्छी भयो र त्यसले रोग निम्त्यायो ।
हाम्रो खाना खाने शैली यस्तो छ कि अर्कोपटक खाना पार्इँदैन कि जस्तो गरी एकैपटक धेरै खाने । धेरै खाएर शिकार गर्न हिँडेको भए पो त्यो खानाको सदुपयोग हुन्थ्यो । शिकार गर्न नहिँड्ने अर्थात् फिटिक्कै शारीरिक श्रम नगर्ने भएपछि खाएको खाना त जम्मा भएर बस्ने भयो । फेरि खायो फेरि खायो झन् झन् जम्मा हुँदा हुँदा हाम्रो शरीरमा चिनीको मात्रा बढ्दै गयो ।
टाइप टु मधुमेहमा इन्सुलिन प्रशस्त उत्पादन त भयो तर चाहिने भन्दा धेरै नै । शरीरले त आवश्यक चिनी लिन्छ र अनावश्यक चिनी बोसोमा जम्मा हुनेभयो । बोसोको मात्रा बढ्दै जाँदा यसले शरीरलाई अनावश्यक तरिकाले संचालन गरिदिन्छ । र चाहिने भन्दा धेरै संचालन हुँदा इन्जिनलाई असर गर्छ ।
मोटोपना नै मधुमेह होइन
अब प्रश्न उठ्छः के मोटोपना नै मधुमेह हो त ? यसको सोझो उत्तर होः होइन । यसको लागि विदेशीहरुको शरीरलाई हेर्न सकिन्छ । नेपालीको तुलनामा अन्य देशका नागरिक ज्यादा मोटो हुन्छन् । उनीहरुमा जम्मा २० प्रतिशतमा मात्रै मधुमेह छ तर दक्षिण एशियाका नागरिक ८० प्रतिशतमा मधुमेह छ । भन्न खोजिएको यो हो कि जसको पेट मात्र धेरै बढ्छ भने त्यो डायबिटिजको मुख्य कारक हो । हामी नेपालीहरुको शरीर लाग्ने भनेको पेट बढ्ने समस्या नै प्रमुख देखिन्छ । जसलाई हामी भाते पेट पनि भन्छौं । कतिले पुट्ट पेटलाई सानको रुपमा पनि लिने गर्छन् । तर त्यो ‘पुट्ट पेट वेलनेस होइन, इलनेस हो ।’
म हरेक विरामीलाई भन्ने गर्छु कि तपाईको यो पुट्ट पेट धनको या सानको पोको होइन कि यो रोगको पोको हो । पेट बढ्ने वित्तिकै हाम्रो शरीर अस्वभाविक रुपमा फेरिन्छ र इन्सुलिनलाई शरीरले चिन्न सक्दैन । जसलाई मेडिकल भाषामा ‘इन्सुलिन रेजिस्टेन्स’ भनिन्छ ।
‘इन्सुलिन रेजिस्टेन्स’ भनेको अघि भने जस्तै साँचो नअट्नु हो । साँचो नअटेपछि इन्सुलिन पठाउने ढोका खुल्न सकेन । शरीरलाई त इन्सुलिन चाहिन्छ । पठाउन त पर्यो अव कसरी पठाउने भनेर पेन्क्रियाजले खुव मिहिनेत गर्छ । धेरै मिहिनेतले पेन्क्रियाज चुडिन्छ । जसले गर्दा इन्सुलिन उत्पादन हुन पाउँदैन र खाएको खानाजति जम्मा भएर मात्रै बस्छ । यसले टाइप टु मधुमेह हुन्छ ।
गर्भावस्थामा हुने मधुमेह
गर्भावस्थामा चिनीको अवस्था एकदमै स्थिर र सन्तुलित हुनुपर्छ । त्यसैले गर्भ रहेको दोस्रो अवस्थाबाट नै मधुमेह जाँच गर्न थालिन्छ । बच्चा गर्भमा रहँदा मधुमेह भयो भने त्यसले गम्भिर असर गर्न सक्ने र बच्चा जन्मँदा पनि खतरा हुने भएकाले यो अवस्थामा मधुमेह सन्तुलित हुनु जरुरी हुन्छ ।
गर्भावस्थामा मधुमेह भयो भने जन्मेको बच्चा कि त सानो हुन्छ कि त धेरै ठूलो हुन्छ । र पछि जन्मिसकेपछि पनि बच्चामा चिनी हुने सम्भावना बढी हुन्छ ।
गर्भावस्थामा हुने मधुमेह बच्चा जन्मिएपछि आमामा भने सामान्य अवस्थामा आउँछ । तर आउने १० वर्षमा टाइप टु मधुमेह हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म बढी हुन्छ । र बच्चालाई पनि पछि गएर मधुमेह हुने सम्भावना बढ्छ ।
औषधिबाट हुने मधुमेह
औषधिबाट हुने मधुमेहलाई सेकेन्डरी मधुमेह पनि भनिन्छ । सेकेन्डरी मधुमेहमा औषधि र पेन्क्रियाजको रोग हुनसक्ने सम्भावना बढी हुन्छ । जस्तोः स्टेरोइड्सको प्रयोगले हुनसक्छ । त्यस्तै हेपाटाइटिसको औषधिको प्रयोगले पनि मधुमेह हुने सम्भावना हुन्छ । त्यसैगरी अन्य जथाभावि औषधीहरुको प्रयोगले पनि हुन सक्छ ।
कतिलाई मधुमेहको सम्भावना भएका व्यक्तिलाई अन्य औषधीको प्रयोगले बल मिलेर हुन्छ कि त मधुमेहको सम्भावना थिएन तर औषधीको सेवनकै कारण पनि हुन सक्छ ।
वंशानुगत मधुमेह
वंशानुगत मधुमेह परिवारका सदस्यामा भएमा त्यसको प्रभाव बच्चाहरुमा देखिनु हो । परिवारमा कसैलाई मधुमेह छ भने त्यो अन्य पुस्तामा पनि सर्दै सर्दै आउँछ ।
सामान्यतया, पाँच प्रकारका मधुमेहलाई अगाडी सारिए पनि अर्को एक खालको मधुमेह पनि छ त्यो हो ‘प्रि मधुमेह’ ।
प्रि मधुमेह भन्नाले सामान्य अवस्था र मधुमेह भएको अवस्थाको बीचको अवस्था भन्ने बुझिन्छ । यो मधुमेह अन्य भन्दा केही फरक छ र यो अवस्थालाई निकै महत्वपूर्ण मानिन्छ । किनकि मधुमेह भइहालेमा सामान्य अवस्थामा फर्कन सम्भव छैन नियन्त्रणमा राख्ने मात्र हो तर प्रि मधुमेहमा भने पूर्ण रुपमा निको पार्न सकिन्छ ।
प्रि मधुमेहमा पेन्क्रियाजमा समस्या आइसकेको हुँदैन त्यसैले पेन्क्रियाजलाई बचाउन सकिन्छ ।
यो रोग लागेको कसरी थापा पाउने ?
टाइप वान मधुमेहमा धेरै प्यास लाग्ने, धेरै पिसाव लाग्ने, मानिस धेरै दुब्लाउँदै जाने हुन्छ । यस्तोमा रगत जाँच गर्दा चिनीको स्तर बढेको देखिन्छ ।
टाइप टुले खासै लक्षण देखाउँदैन । तर, जस्तोः कुनै घाउ भएमा सजिलै निको भएन भने चाहिँ यसको लक्षण हुनसक्छ । त्यसैगरी पिसावमा इन्फेक्सन पनि हुनसक्छ ।
चिनी बेइमानी रोग हो, यसले चाल नपाइ हान्छ र चाल नपाइ मार्छ । चिनीको असर हाम्रो शरीरको हरेक भागमा हुन्छ । यसले बढेको चाल नै दिँदैन त्यसैले बेला बेला यसलाई नाप्नु पर्छ ।
चिनी हुनको पछाडिको जिम्मेवार व्यक्ति स्वयं हो । आफूलाई चिनी हुन दिने कि नदिने भन्ने जिम्मा व्यक्तिमै हुन्छ । यसको लक्षण कुरेर कहिल्यै बस्न हुँदैन, वेला वेला चिनी जाँच गरिरहनुपर्छ ।
बेला बेला चिनी जाँच गर्ने र चिनीको स्तर बढेमा वा बढ्न सक्ने अवस्था देखिएमा सावधानी अपनाईहाल्ने हो भने पछि हुने खतराबाट बच्न सकिन्छ ।
मधुमेह लागिसकेपछि अन्य रोगको खतरा कत्तिको हुन्छ ? कसरी नियन्त्रण गर्न सकिन्छ ?
यो रोग अलि बेइमानी छ । त्यसैले चिनी हुनुभन्दा पहिले रोक्नुपर्छ र भईहालेमा भने जटीलताहरु आउन दिनु हुँदैन । चिनी हाम्रो शरीरको सवै भागमा छ, त्यो बढ्यो भने यसको असर स्वतः हुने भयो । जस्तोः आँखा, मुटु, लिभर, किड्नी, नशामा सिधै असर गर्छ ।
चिनीका कारण फ्याटी लिभर हुने सम्भावना पनि उत्तिकै हुन्छ र यो बढ्दै गएमा सिरोसिस हुन्छ । सिरोसिस भयो भने क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ ।
सामान्य रुपमा बुझ्दा जहाँ जहाँ रगत पुग्छ त्यहाँ चिनीको असर हुन्छ । किन कि रगतमै चिनी हुन्छ र यसमा असन्तुलन हुने वित्तिकै असर त गर्ने नै भयो ।
टाइप टु मधुमेह भने क्यान्सरसँग पनि सम्वन्धित छ । जस्तोः महिलाहरुको स्तन क्यान्सर, पाठेघरको क्यान्सरसँग र पुरुषहरुको पोष्टेड, ब्लाडर, आन्द्रा, लिभर आदिसँग सम्वन्धित छ । त्यसैले वर्षमा एकपटक शरिरको जाँच (स्क्रिनीङ) गर्न अत्यन्त जरुरी छ । र खानपान रहनसहनमा परिवर्तन गर्नु बुद्धिमानी हुन्छ ।
चिनीले सिधै किड्नी हान्छ भनिन्छ के यो साँचो हो ?
किड्नीको काम राम्रो चिज भित्र राख्ने र नराम्रो चिजलाई टुक्रा टुक्रा पारी पिसावको माध्यम बाहिर पठाउने हो । यो एक प्रकारको फिल्टर मेसिन हो ।
जव चिनी बढ्छ तव शरीरले पिसावको माध्यम बाहिर फाल्न थाल्छ । चिनीको टुक्रा ठूलो ठूलो भएर निस्किने कोशिस गर्दा किड्नीले फिल्टरको प्वाललाई तन्काईदिन्छ । तर बारम्बार तन्किने खुम्चिने हुँदा यो लुज भइदिन्छ ।
किड्नीको फिल्टर लुज भएपछि हाम्रो शरीरलाई चाहिने प्रोटिन पनि सजिलै पिसावमा बाहिर निस्किन सक्छ । यसलाई माइक्रो आल्बुमिन यूरिया (सवैभन्दा सानो प्रोटिन पिसाव)मा भनिन्छ । यस्तो अवस्थालाई हामीले किड्नीलाई चिनीले छोयो भन्छौ । त्यसैले पनि हाम्रो शरीरमा चिनी सामान्य अवस्थामा हुनु अत्यन्त जरुरी छ ।
के यो रोग लागेपछि पूर्णरुपमा निको पार्न सकिन्छ ?
सकिँदैन । यदी प्रि मधुमेह हो भने यसलाई निको पार्न सकिन्छ । तर अन्य चिनी भएमा भने त्यसलाई औषधी र जीवनशैली खानपानमा संयममता अपनाएर नियन्त्रणमा राख्न भने सकिन्छ तर पूर्ण रुपमा निको पार्न सकिदैन ।
यो रोगलाई नियन्त्रणमा राख्नको लागि टिपिकल नेपाली स्वभावमा परिवर्तन ल्याउन सक्नु पर्छ । जस्तो कि खानपान शैली । एकैपटक धेरै खाने र धेरैवेरसम्म खाली बस्ने बानी चिनीको मुख्य कारणहरुमध्येको एक हो ।
चिनी जस्तो बेइमानी रोगलाई समात्ने कोसिस गर्नुभन्दा पनि प्रो एक्टिभ मानसिकताबाट अगाडी बढ्नुपर्छ । चिनी भन्दा आफू अगाडि हिँड्न सक्यो भने त्यसलाई रोक्न सकिन्छ ।
चिनीबाट हुने कम्प्लिकेशन्सलाई रोक्ने कोशिस गर्नु पर्छ । अझ सवैभन्दा महत्वपूर्ण त रोग लाग्नुभन्दा पहिला रोक्नु नै बुद्धिमानी हुन्छ ।
मधुमेह भईसकेको अवस्थामा के सँधै औषधीको सेवन गर्नुपर्ने हो ?
चिनी नियन्त्रणको महत्वपूर्ण पक्ष हो जीवनशैली । अध्ययनले के देखाएको छ भने प्रि मधुमेह भएको थाहा भएमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने ६० प्रतिशत मधुमेहको सम्भावना कम गर्छ ।
औषधीको प्रयोग पनि गर्न सकिन्छ । तर औषधीको भरमा मात्रै हुँदैन, सवैभन्दा महत्वपूर्ण त जीवनशैली नै हो ।
आम मानिसमा यो धारणा छ कि मधुमेह लागिसकेपछि पुर्णरुपमा खाना बार्नुपर्छ के यो साँचो हो ? मधुमेह लागिसके पछि के खानु हुन्छ र के खानु हुँदैन ?
हाम्रो शरिरले जे खाएपनि चिनी बनाउँछ । त्यसैले जम्मा गर्ने गरी खानु भएन । खाना बार्नुको मतलव हो खानेबानी फेर्नु । हामी नेपालीले विशेष गरेर खाना पकाउने तरिका र खाने तरिका फेर्ने हो भने चिनी रोगबाट बच्न सकिन्छ ।
सामान्य रुपमा नेपालीको खाने तरिका जुन छ दिनको तीन पटक धेरै धेरै खाने, हो यो शैलीमा परिवर्तन ल्याउनुपर्छ । थोरै खाने दिनको ६ पटक खाने बानी सवैभन्दा उत्तम मानिन्छ ।
थोरै पटक पटक खाएर शरीरलाई पुलपुल्याउनुपर्छ । थोरै थोरै दिईराख्दा शरीर खुसी हुन्छ र रोग लाग्न दिदैन । विहान वेलुका धेरै खाने हो भने त दिनभरी शिकार गर्न जानु पर्यो नि । अर्थात् त्यसलाई पचाउने गरी शारीरिक श्रम पनि गर्नु पर्यो नि ।
हामीले क्वाटर प्लेट सिस्टम अवलम्बन गर्नु पर्छ । जसमा माछा, मासु, अन्डा, खाना, दाल, तरकारी, साग लगायत सवै अट्नु पर्यो थोरै थोरै गरेर ।
हामीले खानालाई मारेर खानु भएन । जस्तोः कुनै पनि खानालाई गलाएर, सिठ्ठी लगाएर होइन सामान्य रुपमा पकाएर खानु पर्यो । अझ भन्नुपर्दा हल्का उसिनेर वा झ्वाई मात्र गरेर वा ग्रिल गरेर मात्रै खाने । खानामा सलादको मात्रा बढाउने । सागलाई गलाएर नपकाउने ।
फलफुल खादा आधामुठी फुल खानुपर्छ । जुनसुकै फलफुल खान मिल्छ तर एक पटकमा आधा मुठ्ठी फुल मात्र खाने गर्नुपर्छ । जति पटक खाइन्छ त्यो आधा मुठ्ठी मात्र हुनुपर्यो । र फलफुल खाँदा पनि धेरै गलेको नखाने । हल्का पाकेको मात्र खानुपर्छ । अझ टर्रो फलफुल सवैभन्दा राम्रो हो ।
प्लेट (८ इन्चको प्लेट) सिस्टमलाई जिम्बावियन जाईफाईभ पनि भनिन्छ । जस्तोः
कार्वोहाइड्रेट (आधा मुठ्ठि फुल)
साल्ट, मसलाहरु
तरकारी
प्रोटिन
फलफुल
यसरी जे खाएपनि हातमा अट्ने जति मात्रै खानु पर्यो । योसँगै खाना जहिले पनि चपाएर खाने बानी बसाल्नुपर्छ ।
खानामा नखाने भन्ने केही हुँदैन तर तारेको, गलाएर पकाएको अनि बोसो भने खानु भएन । सामान्य कोठाको तापक्रममा पनि जम्ने खानेकुरा खानु भएन ।
सामान्य रुपमा आलु खानै हुँदैन भन्ने छ, त्यो होइन । अलि काँचो, बोक्रासहित पोलेको आलु खाँदा हानी गर्दैन । जस्तोः पोलेको बोक्रा सहितको आलु खाँदा स्लो चिनी हुन्छ भने त्यसलाई उसिनेर खाईदिदा फास्ट चिनी हुन्छ ।
यदी उसिनेर खाने हो भने पनि कागती राखेर मात्र खाने । आलु खान हुन्न किन भनिएको भन्दा हामी कि तारेको आलु खान्छौ कि त मज्जाले पकाएको खान्छौं त्यसैले नखान भनिएको हो ।
र, नेपालीको अर्को खराव बानी हो मर्निङ वाक । मर्निङ वाक गर्नु राम्रो हो तर खाली पेट गर्नु निकै खराव ।
हाम्रो शरीर मोटर हो, रातभरीमा मोटर चलि रहेको हुन्छ । मोटरलाई इन्धन चाहियो र इन्धन विनै मोटर चलाईदिँदा मोटर खिइने वा अन्य समस्या आउन थाल्छ । त्यसैले, मर्निङ वाक गर्नेले थोरै केही खाएर मात्र हिड्ने बानी बसाल्नुपर्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप