धरानको बीपीका पदाधिकारीलाई कारवाही होला ?

स्वास्थ्यमन्त्री, धरानका मेयरलगायतले प्रधानमन्त्रीलाई भेटेर बुझाए प्रतिवेदन, पदाधिकारीले नियमविपरीत काम गरेकोले कारवाही गर्न सिफारिस


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ कार्तिक २६

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठित छानविन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ ।
शुक्रबार छानविन समितिको संयोजक सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । प्रतिवेदनमा प्रतिष्ठानका पदाधिकारीले नियमविपरित काम गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिइएको छ ।
बीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गठित छानविन समितिले प्रतिवेदन बुझाएको जानकारी दिए । प्रतिष्ठानका वहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको छ । मेयर राईले अब चाँडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
यस्तै, मेयर राईले प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रष्ठिानको रजिष्ट्रारबाट राजिनामा दिइसकेपनि उनको कार्यकालमा भएका खरिदलगायत कुराको थप आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिश गरिएको जानकारी दिए । उनका अनुसार राजीनामा दिएपनि प्रा. डा. रेग्मीको कार्यकालमा भएको आवश्यक छानबिन गरेर कारबाही गर्ने प्रतिवेदनमा उल्लेख छ ।

पदाधिकारीहरुले अनियमितता गरेको र प्रतिष्ठानमा देखिएका समस्याहरु समाधानका लागि भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकालवालाहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनमा उत्रिएका उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको बर्खास्तीको माग गर्दै आएका छन् । यसअघि सरकारका विभिन्न निकायहरुले गरेको छानबिनले प्रतिष्ठानमा समस्याहरु रहेको र पदाधिकारीहरुको कमीकमजोरी रहेको औंल्याएको थियो ।
स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका पदाधिकारीहरुलाई यसअघि नै मार्ग प्रशस्त गर्न सुझाव दिएको थियो । तर, स्वास्थ्य मन्त्रालयको सुझावलाई प्रतिष्ठानका पदाधिकारीले अटेर गर्दै आएका थिए ।
गत कात्तिक १ गते स्वास्थ्य मन्त्री खतिवडा संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । २१ दिनभित्र प्रतिबेदन बुझाउने समयसिमा पाएको सो समितिले शुक्रबार प्रतिवेदन बुझाएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप