धरानमा छठ पर्वमा छायो उल्लास

यसपटक देखियो रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, छठले एकता कायम गर्छः उपमेयर मञ्जु भण्डारी (५२ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ कार्तिक २४

धरानः विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको आज मुख्यदिन । धरानमा उल्लास र रौनकता छाएको छ । अघिल्लो वर्ष कोरोना कहरका कारण घरघरमै छठ मनाएका स्थानीयले यसपटक नदी, ताल तलाउ, पोखरीको किनारमै सार्वजनिकरुपमा छठ मनाउन पाएपछि उल्लास छाएको हो ।
आहा कति रमाइलो भन्दै पहाडे समुदायले समेत छठ पर्व साँच्चै रमाइलो मान्दै मनाए । वर्षेनी छठ मनाउन सर्दु र सेउती खोलामा भीड लाग्ने गर्दछ । यसपटक पनि त्यस्तै भीड लाग्यो । साँझपख अस्ताउँदो सूर्यको पूजाआजाका साथ छठ सम्पन्न भयो ।
तराईको साझा साँस्कृतिको पहिचानको रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । कोरोना कहरमा केही कमी आएका कारण र खोपको व्यवस्थाले यसपटक धरानेले दशैं, तिहार र छैठ धुमधाम र हर्षोल्लासपूर्वक मनाउन पाए ।
छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ । पूर्ण विधि नजानेकाहरुले पनि पूजा गर्नेको संख्या बढ्दै गएको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ । छठलाई शुद्धता, सद्भाव र आस्थाको पर्व मानिन्छ । धरानको सर्दुखोला किनारमा छठ मनाउन पुगेकी उपमेयर मञ्जु भण्डारी सुवेदीले छठ पर्व साझा बन्दै गएको र सद्भाव, एकता कायम गर्न सहयोग पुग्ने बताइन् । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले पूजा सम्पन्न गर्न १ सय ७० सदस्यीय स्वयंसेवक खटाइएको बताए ।
धरानको सर्दुखोलामा छठ मनाइँदैः तस्वीरः शेखरनाथ जोगी

धरानको सेउती खोलामा छठ मनाइँदैः तस्वीरः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप